‘सुखका गीतहरू गाउने दिन नै आएन’
गोरक्ष समाचारदाता
दाङ, १० चैत । राष्ट्रका लागि संगीत अभियात्रामा निस्किएका जनवादी कलाकारहरू दाङको घोराही आएका छन् । चैतको ४ गते सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु भएको अभियान कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै दाङको घोराही आइपुगेका हुन् ।
बरिष्ठ जनवादी गायक तथा संगीतकार जीवन शर्मा, मणि थापा, महेश श्रेष्ठ, चिरण सीलगायतका १५ जना जनवादी कलाकारको टिम अभियानमा छन् । घोराही आएको टिमले विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर पछिल्लो समय विकृति, संस्कृतिलाई सुधारसँगै विभाजित कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउन विभिन्न पार्टीमा आबद्ध जनवादी कलाकारहरू एक भएर अभियानमा हिडेको बरिष्ठ जनवादी गायक तथा संगीतकार जीवन शर्माले बताए ।
‘हामीले जनताका दुःखका कथाहरू गाउँदैै आयाँै तर सुखका गीतहरू गाउने दिनै आएन’, शर्माले भने, ‘जसको मुख्य कारण जनताले परिवर्तनका लागि ज्यान दिए पनि राजनीतिले जनताको उपलब्धिलाई संस्थागत गर्न सकिन ।’ जनवादी गायक तथा नेता मणि थापाले विकृत राजनीतिलाई सुधारसँगै गीतसंगीतका माध्यमबाट राष्ट्रिय भावना जगराउन अभियात्रामा निस्किएको बताए ।
‘पश्चिममा संस्कृतिका कारण हामीले आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आयो’, उनले भने, ‘आन्दोलनलाई सफल बनाउन राजनीतिक दलहरूलाई सहयोग गर्ने कलाकार, कवि, लेखकहरू अहिले जनतामा सन्देश प्रवाह गर्न अभियात्रामा निस्किएका छौँ ।’ उनले देशमा बाह्य हस्तक्षेप बढेको भन्दै त्यसका विरूद्धमा सबै लाग्नुपर्ने समेत बताए । उनले कम्युनिस्टहरू टुटफुटका कारण कम्युस्ट आन्दोलन सफल नहुनुका साथै प्राप्त उपलब्धिहरू गुम्नसक्ने खतरा रहेको भन्दै गीतका माध्यमबाट एक ठाउँमा आउन अभियानले सन्देश दिने समेत बताए ।
संगीत अभियात्राअन्तर्गत कार्यक्रम शुक्रवार घोराहीको बहुउद्देश्यीय सभागृहमा हुने भएको छ । कार्यक्रममा जनवादी सांगीतिक प्रस्तुतीका लागि शर्मासहितका स्थानीय कलाकारहरूले समेत प्रस्तुती दिने भएका छन् । कार्यक्रममा जनवादी गायक शर्मा, मणि थापा, उदय श्रेष्ठ, कुस्मिता दर्लामी, मोहित श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, प्रगति महरा, उदय रिजाल, लक्ष्मण पाख्रीन, नारायण शर्मा, कविता पुन, अनु शर्मा र सन्ध्या मगरको सांगीतिक प्रस्तुती रहने भएको छ ।