खेत बेचेर चामल ल्याउँदै

युवराज शर्मा
किसानहरुले कसरी खेती गर्ने भन्ने प्रश्न, व्यक्ति–व्यक्तिमा चल्छ । यस्तो प्रश्नको उत्तर दिनसक्ने व्यक्ति देखिएन । जनता अलमल्याउने किसानहरुलाई झुलाउने काम भइरहेको अवस्था छ । जति थरिका दलहरुको शासन व्यवस्था आए पनि किसानहरुले प्रशन्न भएर खेतीपाती गरेको पाइन्छ ।

मौसमी अन्न उत्पादन गर्दा पनि बजार भाउ पाउँदैनन् । समयमा सरकारले विक्री मूल्य तोक्दैन । खेतीका समयमा मल पैसा तिर्दा पनि पाउन्नन् । चर्को र महँङ्गो मूल्य तिरेमा बिचौलियामार्फत् पाउँछन् । त्यस्ता बिचौलियाहरुको एउटै शर्त हुन्छ । उत्पादित वस्तुहरु बिचौलियाहरुको भनाइ अनुसारको दर÷भाउमा बेच्नुपर्छ । उनीहरुले आफै खरिद गर्छन् । यस्तो कृषि व्यवसाय नेपालमा छ तर सरकारले किसानको समस्यामा साथ दिएको पाइन्न ।

देशको आर्थिक विकासको मेरुदण्ड नै कृषि व्यवसाय हो । यसमा दुईमत छैन । नेपालमा भएका त्रिशंकु रुपमा सरकारमा कृषि व्यवसायको विकास गर्न चालेका योजनाहरु प्रभावकारी छैनन् । हात्तीका देखाउने दाँत भएको छ । स्थानीय तहको सरकारले खेतीपातीमा गर्नुपर्ने सहयोग किसानहरुलाई के गर्ने ? भन्ने अधिकार छैन भन्छन् स्थानीय सरकारहरु । प्रदेश सरकारको सम्बन्ध किसानहरुसँग पाइन्न । केन्द्र सरकारले पनि किसानका समस्या समयमा सुल्झाउने गरिन्न । यस्तै अवस्थाले गर्दा किसानहरुले खेत बेचेर बजारबाट चामल खरिद गरी ल्याउने अवस्था छ ।

स्थानीय तहको सरकारले खेतीयोग्य जमिन र बसोबासको जमिन अलग्याउन सरकारी निर्देशन पाइन्छ तर धमाधम खेतीयोग्य जमिन घरघडेरी प्लटिङ भइरहेका छन् । खेत बेच्नेहरु बढ्दै छन् । उनीहरुले पैसा लिएर बैड्ढमा व्याज पाउने आशामा जम्मा गर्छन् । व्याजको पैसाबाट बजारमा पाइने चामल खरिद गर्छन् । आफ्नो खेत पैसाको लोभमा बेच्छन् र सुविधामा रमाउन चाहन्छन् । विलाशी जीवनमा रमाउने परिवार समाजमा बढ्दै छ ।

घाँटी हेरी हाड निल्नुपर्छ र आफ्नो घरपरिवारको आम्दानी अनुसार खर्च गर्नुपर्छ भन्ने ज्ञान गर्न नसक्ने मानिसहरु बढ्दै छन् । औकातलाई बिर्सेका छन् । तड्किलो भड्किलो समाज बन्दैछ । शान्ति सुरक्षाको भावना आपसमा छैन, सहरबजार जस्तो वातावरण गाउँघरमा बस्नेको छैन । खानु र लगाउनुलाई मात्र रमाइलोे जीवनशैली ठान्छन् । ज्ञान र सीपभन्दा तडकभडक नै सभ्यताको निशानी मान्ने चलन समाजमा बढ्दो छ ।

यसले मानव समाजमा विकृति, विसङ्गति र अविश्वासको वातावरण बढेको छ । खेतमा प्लटिङ गराएर घडेरी बेच्ने र आम्दानीको स्रोत देखाउनु नै घरमा आगो लगाएर खरानी देखाएको नेपाली समाज बन्दै छ । खेत बेचेर चामल किन्ने सङ्ख्या बढेको छ । काठमाडौं उपत्यकालगायत नेपालका ठूला–साना सहर बजार र गाउँहरुका उर्वर खेतहरु धेरै मासिए । खाने अन्न उब्जने ठाउँमा सहर भए । टाठाबाठाहरु सहरबजार पसे सिधासादा नागरिकले गाउँमा बसेर अन्न उब्जाउँछन् । आफ्नै बल पौरखले उब्जाएको अन्न खान्छन् । स्वस्थ जीवनशैली अपनाउँछन् ।

खेतीपातीका लागि रासायनिक मल, उन्नत जातको बिउविजन, कृषि कार्यका लागि उपकरण, ओखतीजस्ता सामानहरुको सरकारी विक्री गर्ने बजार छैन । बिचौलियामा भर पर्नुपर्छ । यस्ता देशमध्ये नेपाल पनि अग्रपङ्क्तिमा छ । यस देशको उत्तर विकसित देश चीन छ । दक्षिणतर्फ खुला सीमानाका भएको छिमेकी देश भारत छ । भारतीय किसानहरु ६० प्रतिशत कृषि कर्ममा छन् । त्यहाँ सरकारी नीतिमा कृषि व्यवसाय चल्छ ।

खुला सीमा नाका भएको हुँदा उनीहरुले विक्री गर्ने कृषिजन्य उब्जनीका लागि नेपाली बजार खुल्ला छ । कुनै रोकतोक छैन, यहाँका ठूला व्यापारीहरु पनि भारतीय मूलका छन् । धेरै नेपाली बनेका छन् । नागरिकता प्राप्ति गर्नु उनीहरुका लागि व्यापार, जागिर, राजनीति, दलीय पदाधिकारी बन्ने आधार बन्छ । उनीहरुको पुस्तौँदेखिको माग र बहस नै नेपाली नागरिकता पाउनु हो । कतिपयसँग नेपाली र भारतीय दोहोरो नागरिकता छ ।

जब कि एक देशको नागरिकले भारतीय वा आफ्नो देशको नागरिकता नत्यागेसम्म अर्को देशको नागरिकता पाउँदैन तर नेपालमा दोहोरो नागरिकताको सङ्ख्या धेरै छ । छानविन गर्ने को ? यो प्रश्न गम्भीर मात्र होइन समस्यामा छ । त्यसैले होला नेपालीले खेत विक्री गरेर चामल खरिद गर्छन् भन्छन् चामल व्यापारी ।

नेपालमा खेतीयोग्य जमिन बाँझो हुँदैछ । यस्तो हुनुमा युवाशक्ति बाहिरिँदै छ भने खेती गर्ने किसानहरुका लागि मल बिउको महङ्गी छ । सरकारको किसानप्रति सकारात्मक भावना छैन । खेतीपाती गर्नेहरुका लागि सरकारी प्रोत्साहन हुन सकेन । खर्च बढ्दै गयो खाद्य समस्या हुँदै गयो । जनसङ्ख्याका आधारमा उत्पादन बढ्न सकेन । खाद्य आपूर्ति गर्न परनिर्भरता बढ्यो । खेत बेचेर आएको पैसाबाट चामल खरिद गर्ने नागरिक पलायन हुँदैछन् ।

गाउँबस्तीहरु सुनसान बन्दै गएपछि जमिन बेचेर चामल किन्ने जोहो गर्नुपर्ने किसानहरुको बाध्यता छ । खेतीको समय भयो, चैतेधानको खेती गर्ने समय भयो तर सरकारले समयको ख्याल गर्दैन । समयमा ध्यान नदिएपछि किसानलाई समस्या पर्छ भन्ने ज्ञान कृषिमन्त्रीले गर्नुपर्ने हो तर वर्षाैँदेखि ध्यान दिइएन । यसले के देखायो भने सत्तामा भएकाहरुसँग सीपको विकास भएन । नागरिकलाई दिनुपर्ने सुविधा दिनुपर्छ तर खेत बेचेर चामल ल्याउनु पर्ने नागरिकलाई बाध्यता छ ।

नेपाली विदेशिएका छन् । उनीहरुलाई विदेशिनु बाध्यता भयो । बाटो खर्च छैन घरमा खाने अनाज भएन । चामल खरिद गर्न पैसा छैन । आफूसँग बावुबाजेको पालामा जोडेको जग्गा मात्र छ । त्यो जमिन बेचेर पाएको पैसाले चामल ल्याउन नागरिक बाध्य भएका छन् । समयमा सरकारले ध्यान दिनुपर्छ । खाद्य समस्या, बेरोजगारको समस्या, खेत नबेचेर खेती गर्न किसानहरुलाई प्रोत्साहित गर्न सरकारले ध्यान दिनुपर्छ । जबसम्म जिम्मेवारी, जवाफदेही र पारदर्शी सरकारले पनि अपनाउनु पर्छ । खेतीपातीमा विकास गर्नुपर्छ ।