आशााको दीयो वल्दछ अव यहाँ
ब्रह्माकुमार माधव तिमिल्सेना
नयाँ साल आवस् उमंग बटुली राखी शुभभावना
कोर्छु शव्द र छन्दमा यो कविता दिन्छु शुभकामना
यौटै सूत्र वनोस् पहाड अथवा हिमाल तराइतिर
एकै ढिक्का मिलुन् सवै दलहरु नेपालकै खातिर
जातीदंंगा र धर्मको विभेदमा संघर्ष नहोस् कतै
फैलुन शान्ति वनी यसै भूवनमा हटून् निराशा सधै
राष्ट्रको यदि चिन्ता छ भने अव बुद्धि पलावस यहाँ
नसानसा रगतमा वगिरहोस् नेपाली मन छ जहाँ
पश्चाताप गरी विगत सम्झिंदै आँशु नवगुन् यहाँ
भोलीको पनि पिरले दिनदिनै चिन्ता नवढोस् यहाँ ।
कर्मको ज्योती वल्दछ यदि भने भेटिन्न क्यै तिख्खर
बोलीको मधूरसमा छ अहिले जिउने कला प्रखर
राखौ एक उदारता हृदयमा आपनै उही संस्कृती
बोकौ लेक र बेशीमा छरिदिऔं सद्न्याय औ उन्नती
जिऔ।जिउन दिऔ।अनन्त नवमा किर्ति हुने श्रृजना
लम्कोस् देश सधै विकास पथमा फैलिरहोस् स्वपना
भौतिकता पनि चाहिने यस घडी अद्यात्मको चिन्तन
स्वस्थ हुने कला सिकौ सव मिली ढिलो नगरीकन
नैतिक मूल्य विचलन भयो कम्जोर भो यो मन
योग साधनामा रमाउने कला सिक्नुछ है स्वजन
विपत्ति देखियो यो भूतल्महाँ महामारी भै फैलियो
मानव् सभ्यताको चुनौती चुलियो सन्त्रास नै मौलियो
गल्तीले केही त सिकौं मनमनै प्रकृती सम्मान गरौ
वाँचौ वाँच्न दिऔं चराचर सवै जीवन शैली फेरौ
जित्नु पर्दछ हार्न हुन्न कहिल्यै संकट हो टर्नेछ ।
डर्नु हुन्न कहीँ सचेत वनीरहौं भाइरस त्यो मर्नेछ ।
आशाको दीयो वल्दछ अव यहाँ नौलो विहानी वनी
नेपालीको मुहारमा खुशीसँगै वहार् आउला अनि
राम्रो वर्ष वितोस् सदा सुखमयी गर्दे सवै सामना
यस्तो नूतन सालको उदयमा मेरो यही कामना ।
।।। ओम् शान्ति
