बालाराम खड्का
तुलसीपुर, ३० फागुन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले विभिन्न ५ वटा कार्ययोजना निर्माण गरेर काम गरेको जनाएको छ । तुलसीपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख एआइजी टेकप्रसाद राईले सीमा तस्करी नियन्त्रण, लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण, फैसला कार्यान्वयन र सडक दुर्घटना न्यूनीकरण कार्ययोजना निर्माण गरी लागू गरेको बताए । उनले कार्ययोजना निर्माण गरी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा ल्याएको समेत बताए ।
बढुवा भइ जान लागेका राईले कार्ययोजनाअनुसार काम अगाडि बढेको भन्दै आफू यस कार्यालयबाट गए पनि कार्ययोजनाअनुसार काम भए अपराध अनुसन्धानमा धेरै महत्वपूर्ण फाइदा पुग्ने बताए । एआइजी राईले सीमा तस्करी नियन्त्रणसम्बन्धी कार्ययोजनाअनुसार दुई महिनाको अवधिमा माघ र फागुनमा २१ जना व्यक्तिहरू पक्राउ ३९ वटा सवारी साधन पक्राउ गरी ४ करोड ८१ लाख ३६ हजार राजस्व संकलन गरेको बताए ।
त्यस्तै सडक दुर्घटना न्यूनीकरणसम्बन्धी कार्ययोजनाअन्तर्गत ट्राफिक कारबाही तथा राजस्व संकलनमा ४६ हजार १ सय १७ सवारी साधन कारबाहीमा तीन करोड ७४ लाख ६५ हजार ५ सय राजस्व संकलन गर्न सफल भएको पत्रकार समेलनमा उनले बताए । लागूऔषध नियन्त्रणसम्बन्धी कार्ययोजना, आत्महत्या न्यूनीकरणमा पनि धेरैकाम भएको उनले बताए । प्रहरीले फैसला कार्यान्वयनअन्तर्गत २४० जना पक्राउ गरी जरिमाना २६ लाख ९४ हजार १३१ रूपैयाँ संकलन गरेको बताए ।
एआइजी राईले लुम्बिनी प्रदेशमा लागूऔषध, सवारी दुर्घटना, आत्महत्याका घटनाहरू मुख्य समस्याका रूपमा देखिएकोले पनि यसमा बढी केन्द्रित भएर काम गरेका बताए । ‘यस कार्यालयमा आइसकेपछि अनुसन्धान गर्दै गर्दा र दैनिक रूपमा हुने घटनामध्ये लागूऔषध, दुर्घटना, आत्महत्याका घटनाहरू मुख्य समस्याका देखिए’, उनले भने, ‘त्यसमा सीमा अपराधहरू र फैसला कार्यान्वयनलाई मुख्य प्राथमितामा राखेर ५ वटा कार्ययोजनाहरू बनाएर काम गरेको थिए ।’
एआइजी राईले आफू सरुवा भएर आएको ४९ दिनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पुगेर निरीक्षण तथा अनुगमन गरेको बताए । ‘अहिलेसम्म पनि नागरिकलाई प्रहरीको निःशुल्क सेवा हुन्छ भन्ने जानकारी नै छैन’, उनले भने, ‘प्रहरी कार्यालयमा जाँदा निवेदन लेख्नका लागि ५ सयदेखि ५ हजारसम्म शुल्क तिरेको पाइयो, यो तत्काल रोक्न मैले यस अघि नै निर्देशन दिइसकेको छु ।’
प्रहरीको सेवा निःशुल्क छ भन्ने फर्मेट तयार गरेर प्रदेशभर निःशुल्क निवेदनको लागि व्यवस्थापन गरिसकेको उनले बताए । त्यस्तै नागरिकले १०० मा फोन गर्दा वा प्रहरी कार्यालयमा फोन गर्दा प्रहरी कर्मचारीले आफ्नो परिचय समेत नदिई कुरा गर्ने गरेको गुनासो बढेपछि प्रदेश प्रहरी कार्यालयका हरेक युनिटले कसैले फोन गरेमा कार्यालयको नाम सहित आफ्नो परिचय उल्लेख हुने गरी नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएको उनले बताए ।
राईले लुम्बिनी प्रदेशभित्र प्रहरीबाट गरिने कार्यसम्पादन एवम् सेवा प्रवाहसम्बन्धी गुनासो गर्न हटलाइन नम्बर, इमेल र फेसबुक पेजको व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै उनले लुम्बिनी प्रदेशका १२ जिल्लामा खटाइएका ३९ जनालाई हटाएर १७ जना कायम गरिएको बताए । राईले प्रहरीले सडकमा चेकजाँच गर्दा वा व्यारिकेड र व्यारियर आउनुभन्दा कम्तिमा ५०० मिटर अगाडि नै प्रष्ट देखिने गरी सांकेतिक चिह्नहरू राख्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको बताए । ‘सडकमा नदेखिने गरी ड्रमहरू राख्दा अर्को दुर्घटना निम्तन सक्छ, त्यसलाई अन्त्य गर्न पनि यो नियम ल्याएको हो ।’
त्यस्तै प्रहरी कर्मचारीको व्यक्तिगत सुरक्षाका लागि ड्यूटीमा खटिएका कर्मचारीहरूले अनिवार्य रूपमा फ्लोरिसेन्ट ज्यायकेट प्रयोगदेखि ड्यूटीमा रहँदा प्रहरी कर्मचारीहरूले अनावश्यक रूपमा मोबाइल फोन प्रयोग गरेको देखिएको हुँदा कमाण्डर बाहेक अन्य कर्मचारीले फोन अफ गर्नुपर्ने वा साइलेन्ट राख्नुपर्नेलगायतका कुराहरू लागू गर्न लगाएको बताए । कार्यक्रममा पत्रकारहरूले अब आउने प्रहरी अधिकारीले पनि यो कार्ययोजनाअनुसार अगाडी बढ्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै समयमै सूचना सञ्चार कर्मीहरूले नपाएको गुनासो गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकारलाई चाहिने सही र छिटोछरितो सूचना भएको बताए । ‘हामीले प्रहरीबाट गर्ने आशा भनेको समयमै सूचना पत्रकारले पाउनुपर्छ भन्ने हो, त्यो पनि अनुसन्धानमा बाधा नपर्ने गरी’, केसीले भने । पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक नवचन्द मल्लले लुम्बिनी प्रदेश प्रहरीले हालसम्म गरेका कार्यहरूको विषयमा प्रकाश पारेका थिए । बरिष्ठ प्रहरी उपरीक्षक दीपककुमार बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक नवचन्द मल्लले गरेका थिए ।