पोखिए शरद र स्मारिका…
दाङ, १७ कार्तिक ।
झुप्रोभित्र तर्सिरहेछन् योद्धाका नाबालक शिशुहरू
झुप्रोबाहिर चलिरहेछन् कामरेडका नयाँ–नयाँ ब्राण्डका
टिप्पर र डोजरहरू ।
अचेल भ्याई–नभ्याई छ कामरेडलाई …
यी कविताका हरफहरु हुन कवि शरद पोख्रेलका । शनिवार घोराहीमा भएको कार्यक्रममा ‘भ्याई नभ्याई छ कामरेडलाई’ शीर्षकको कविता सुनाइरहँदा उल्लेख्य दर्शकको ताली पाए । कविताले गरिब, शोषित, पीडितको जनताको मुक्तिका लागि संघर्ष गरेको कामरेड बदलिएको विषयलाई उनले कवितामा समेटेका थिए ।
उच्च शिक्षा अध्ययनका सिलसिलामा विगत पाँच वर्षदेखि जापनमा बस्दै आएका पोख्रेलले उदाहरण समूहले आयोजना गरेको कार्यक्रम ‘जश्न–ए– काव्य’ कार्यक्रममा ‘घर छाडेको साथी’, ‘बहुलाएका कुकुरहरु’, ‘नेपाल यातायात’लगायतका आधा दर्जन कविताहरु वाचन गरेका थिए । कवितामा विदेशिनुको पीडा, मायाप्रेम, बिग्रँदो राजनीतिक अवस्थाका कारण देशले झेल्नु परेको समस्यासँगै राष्ट्रभक्तिको कविताहरु वाचन गरेका थिए ।
यो होइन कि उसले घात गरेको हो
मित्रले त बस सावधान गर्न खोजेको हो
कालो भनेर नाक खुम्च्याउनुहुन्छ तपाई
दाग भएरै त चाद सुन्दर भएको हो ।
यी गजलका शेयरहरु हुन गजलकार सुमन स्मारिकाको । उदाहरण समूहको पहिलो शृंखगला ‘जश्न–ए–काव्य’ कार्यक्रममा उपस्थिति भएकी उनले समाजिक विभेदका विरुद्धमा रचना गरेको गजल सुनाएकी थिइन् । कैलाली जिल्ला घर भई हाल काठमाडौंमा बस्दै आएकी स्मारिकाले आधा दर्जन बढी गजलसँगै आफना् अनुभवहरु शेयर गरेकी थिइन् । पछिल्लो समय युवापुस्ताबीच चर्चामा रहेकी स्मारिकाले पछिल्लो समय चर्चामा रहेको गजल..
घरि–घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु
तिमी छैनौ, भएर यो जवानी के गर्नु !
त्यस अवसरमा गजल लेख्दाको अनुभूति समेत उनले सुनाएकी थिइन् । उनले समाजमा भएका विकृति विसंगतिसँगै विदेशिनुपर्नेले भोगेका पीडाहरुलाई समेटिएका गजलहरु सुनाएकी थिइन् ।
कार्यक्रममा कवि शरद पोख्रेल र गजलकार सुमन स्मारिकाले ६÷६ वटा रचना वाचन गरेका थिए । प्रत्येक तीन÷तीन महिनामा आयोजना गर्ने कार्यक्रमलाई राजधानी र दाङको साहित्यलाई जोड्ने गरी अघि बढाइने उदाहरण समूहका अभियन्ता नवीन अभिलाषीले बताए । दाङको साहित्यिक विकासका लागि गजल र कवितालाई जोडिएको समूहको यो पहिलो कार्यक्रम भएको भन्दै उनले आगामी दिनमा यसलाई निरन्तरता दिने बताए । कार्यक्रमको सहजीकरण समूहका अभियन्ता नवीन अभिलाषीले गरेका थिए ।