दाङका ४१ मध्य ४० को कोरोना रिपोर्ट ‘नेगेटिभ’, एकको आज आउने
दाङ चैत ३० । दाङवाट स्वाव परीक्षणका लागि पाठाइएका नमूनाहरुको सबै रिपोर्ट नेगेटिभ आएको छ । अर्थात जिल्लाका क्वारेण्टाइनहरुमा रहेका मध्य परीक्षण गरिएका सबैमा संक्रमण देखिएको छैन । बेलझुण्डीमा निर्माण गरिएको कोरोना बिशेष अस्पतालवाट ३६ वटा नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो । ‘ती मध्य ३५ वटाको रिपोर्ट आउँदा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन’ जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अधिकृत कमल चन्दले भने, ‘बाँकी १ को परीक्षण रिपोर्ट संभवतः आज आउने छ ।’ यसरी नेगेटिभ रिपोर्ट आएकाहरुलाई सतर्कता अपनाउनका लागि सुझाव दिदै घरमा पठाउने र कुनै लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिने गरिएको पनि चन्दले बताए ।
उता राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानवाट परीक्षणका लागि पठाइएका ५ जना मध्य सबैका रिपोर्ट आइसकेको र सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले पनि बिशेष सुझावका साथ उनीहरुलाई घरमै पठाएको छ ।
यसैबीच कोरोना संक्रमण परीक्षण गर्नका लागि दाङको स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आउने भनिएको ल्याव मेसिन काठमाडौमा आइपुगेको र त्यहाँ त्यो मेसिनको परीक्षणपछि मात्र यहाँ ल्याउने जानकारी पनि प्रतिष्ठानले दिएको छ । ‘यसो गर्दा अबको एक हप्ता जतिमा मेसिन आइपुग्ला’ प्रतिष्ठानका कामु रजिस्टार कैलाश प्रसाद देवले जानकारी दिए ।
