पिसी नेपालको अभियान,उनको घरमा नर्सरीदेखि नर्सिङसम्म

खेमराज रिजाल
देउखुरी(पथ्थरगढवा), २९ फागुन । ‘मलाई सधैँ स्कूल आउन मन लाग्छ, बिदा नभए राम्रो हुन्थ्यो’, देउखुरीको राप्ती गाउँपालिकाको पत्थरगढवामा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको शिशु कक्षामा भुल्ने बालिका अनुजा विकको अभिव्यक्ति हो, यो । कारण उनी स्कूल आएको समयमा नाच्न सिक्छन्, गाउन सिक्छन्, लेख्न सिक्छन् अनि घरपरिवार र आगन्तुकहरूलाइ कसरी रेस्पेक्ट गर्ने विषयमा पनि उनी पोख्त छिन् ।

सोही विद्यालयकी शिशु कक्षाकी रितु चौधरीको पनि यस्तै अभिव्यक्ति थियो । शिशु कक्षाको वातावरणमा सुधार भएपछि त्यस क्षेत्रका धेरै बालबालिका निजी स्कूल छाडेर त्यहीँ आएका छन् । कम्तिमा ७० जना त शिशु कक्षामै भर्ना भइरहेका छन् । विद्यालय सुधार कार्यक्रमअन्तर्गत् नेदरल्याण्डका जनताको सहयोगमा चल्दै आएको क्रियटिङ पोसिब्लिटिज नेपाल नामको गैरसरकारी संस्थाले सहयोग गर्न थालेपछि सो विद्यालयमा ह्वात्तै विद्यार्थी पनि बढेको प्रधानाध्यापक इन्द्रदेव चौधरीले जानकारी दिए । गैरसरकारी संस्थाबाट सहयोग पाउँदै गर्दा उनको विद्यालयमा यो वर्ष दुई सयजना विद्यार्थी भर्ना भएका छन् । ड्रप–आउट हुँदै गएका पनि सो विद्यालयमा एसइईसम्म कम्तिमा एक सय विद्यार्थीले परीक्षा दिने छन् ।

‘हामी आशावादी छौँ, हामीले यस क्षेत्रका धेरै निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछौँै ।’ विद्यालयको शिशु कक्षा मात्र होइन, क्रियट पोसिब्लिटी नेपालले सोही विद्यालयमा स्मार्ट क्लसहरूको पनि व्यवस्थापन गरिदिएको छ । स्मार्ट क्लासमा इन्टरनेटको सुविधा सहितको स्मार्ट फ्ल्यासबोर्ड राखिएको छ । विद्यार्थीको आवश्यकताअनुसार सबै कक्षाका विद्यार्थीहरूलाई यही स्मार्ट–क्लासको अभ्यास गराइन्छ । विद्यालयमा यो सिस्टम सुरुआत भएपछि राप्ती गाउँपालिकाले पनि दुई चरणमा गरेर कम्तिमा डेढसय शिक्षकहरूलाई स्मार्ट–क्लासको अभ्यास स्वरूप सूचना प्रविधिमैत्री शिक्षाको तालिम दिइसकेको राप्ती गाउँपालिकाका शिक्षा महाशाखा प्रमुख विश्वास विकले जानकारी दिए ।

यसैगरी सोही विद्यालयमा कम्प्यूटर ल्यावको डेकोरेशनसहित १० वटा कम्प्यूटर पनि सिपी नेपालले सहयोग गरेको संस्थाका अधिकारी हेमराज शर्माले जानकारी दिए । कार्यक्रम विस्तारका सन्दर्भमा दातृ संस्थाहरूको खोजी गरी जिल्लाका थप पालिकामा यो अभियान सञ्चालन गर्ने सोही संस्थाका अधिकारी तथा कार्यक्रम संयोजक सरीता चौधरीले जानकारी दिइन् । अनुगमनकै क्रममा उनले नर्शदेखि नर्सरीसम्म आफूले काम गर्ने संस्थाको सहयोग रहेको बताइन् । कार्यक्रम संयोजक दीपा चौधरीको पनि यस्तै आशय थियो । सीमान्तकृत समुदायलाई शिक्षा रोजगार र सक्षम व्यवसायी बनाउन संस्थाको अथक प्रयास रहनेछ ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अगुवाइमा भएको अनुगमनका क्रममा राप्ती गाउँपालिकाको सो विद्यालयसँगै राजपुर गाउँपालिकाको जनज्योति मावि राजपुर मटेरियामा पनि सार्वजनिक छलफल भएको छ । सो कार्यक्रममा पनि विद्यार्थी कार्यक्रम संयोजक हेमराज शर्माले विषयवस्तु जानकारी गराएसँगै मुक्तकम्लहरीहरूको शिक्षामा साइकल वितरणदेखि निःशुल्क कोचिङ कक्षा तथा न्यून आय भएका विद्यार्थीहरूलाई निःशुल्क रूपमा कोचिङ कक्षा, पाठ्य सामग्री, पोशाक वितरणलगायत खाजा र टाढाबाट आउने विद्यार्थीहरूलाई निःशुल्क रूपमा सो संस्थाले साइकल समेत उपलब्ध गराउँँदै आएको छ ।

हरेक वर्षको माघीमा मुक्त कमैयाका बालबालिका तथा मुक्त कम्लहरीहरूलाई साइकल समेत सो संस्थाले उपहार दिँदै आएको छ । क्रियटिङ पोसिब्लिटिज नेपाल अर्थात् उसको कार्यालयलाई उनको घर भनिएको छ । उनको घरको सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा अनौपचारिक कार्यक्रम पनि भयो । त्यसमा दीपा चौधरी र सरीता चौधरीले वार्षिक कार्यक्रमका विषयमा जानकारी पनि गराए । करिब ४ करोड बजेटमा देउखुरीका राप्ती, गढवा र राजपुर गाउँपालिकाका विभिन्न विद्यालयम सुधार तथा विद्यार्थीहरूलाई क्षमता विकास तथा नेतृत्व विकासको समेत तालिम सञ्चालन भइरहेको प्रस्तुतीकरणमा सरीता चौधरीले जानकारी दिइन् ।

सोही अवसरमा उनीहरूले पढाएका विद्यार्थीहरू विभिन्न पालिकाका प्राविधिकदेखि प्रशासनिक फाँटको प्रमुखको जिम्मेवारीसम्म सम्हालिरहेका छन् । केही प्राविधिक त केही प्रशासनिक फाँटमा जागिरे बनेका छन् । नर्सरीदेखि नर्सिङसम्मको पढाइमा क्रियटिभ पोसिब्लिटिज संस्था नेपालले सहयोग गर्दै आएको छ । अनुगमनका क्रममा राजपुर, राप्ती र गढवाका पालिका उपप्रमुखहरू, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरी, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो ।

अनौपचारिक कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले मुलुक पछिल्लो समयमा आर्थिक संकटमा गइरहेको अवस्थामा दातृ निकायको सहयोग उदाहरणीय रहेको बताए । दातृ निकायबाट प्राप्त सहयोगको सही सदुपयोग गरी सिमान्तकृत समुदायको उत्थानमा लागेकोमा क्रियटिभ पोसेबिलिटिज संस्था पिसी नेपाललाई पनि उनले धन्यवाद दिए । साथै यस्ता जिवनोपयोगी कार्यक्रमलाई थप प्रावकारी र पारदर्शी बनाउनका लागि आफूले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा समेत पहल गर्ने अभिव्यक्ति दिए ।