घोराही,२९ फागुन। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुवात भएको छ ।
प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार अब विगतजस्तो हातले लेख्नुपर्ने आवस्थाको अन्त्य भएको छ । कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुुने उनको भनाई छ । ‘विगतमा हातले रिपोर्ट लेख्नु पर्थ्यो, त्यो गर्दा केही त्रुटि पनि आउथे’, उनले भने, ‘अब सबै कम्प्युटरले आफैँ लेख्ने छ, त्यसले गर्दा त्रुटि पनि आउने छैन ।’
उनका अनुसार ‘फुल्ली अटोमेटिक सिस्टम’का लागि मेसिन जडान गरेर काम सुरु भएको छ । मेसिनबाट ‘अटोमेटिक’ प्रिन्ट भएपछि त्यसलाई क्रस भेरीफाइ गरेर मात्रै बिरामीलाई रिपोर्ट दिन थालिएको छ । यसले गर्दा विगतमा जस्तो त्रुटि प्रतिष्ठानले भोग्नु नपर्ने उनको भनाइ छ । यो मेसिन दाङमै पहिलो पटक भित्र्याइएको समेत सूचना अधिकारी भट्टराईको भनाइ छ । डिजिटल ल्याब सेवा सुरु भएसँगै सहज भएको उनले बताए ।