दाङमा एक महिलामाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

घोराही,२८ फागुन । दाङमा एक जना महिलामाथि सामुहिक बलात्कार भएको छ।

गत शुक्रबार राति साढे १ बजे दुई युवाले २९ वर्षीया महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

पीडित महिलाका श्रीमान अपाङ्ग छन्। मागेर गुजारा टार्दै आएका उनीहरू घोराही उपामहानगरपालिका १७ स्थित सडकमा सुतेका थिए।
सडकमा सुतिरहेका श्रीमानलाई कुटपिट गरी महिलालाई करिब २५ मिटर घिसारेर लगी सामुहिक बलात्कार गरेको कार्यालयका एसपी वीरबहादुर वलीले जानकारी दिएका छन।

प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा स्थानीय २९ वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको छ। अपाङ्ग भएका श्रीमानको उपचार गराउन उनीहरू तीन महिना अघि दाङस्थित राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा आएका थिए।

उपचारको लागि रकम अभाव भएपछि बाटोमा मागेर गुजारा गरिरहेका थिए। घटना भएको दोस्रो दिन उनीहरूले जिल्‍ला प्रहरी कार्यालयमा पुगेर जाहेरी दिएका थिए।

‘पीडित दम्पत्ति दोस्रो दिन कार्यालय आएर घटनाबारे जाहेरी दिएपछि प्रहरी परिचालन गरी आरोपितलाई पक्राउ गरिएको हो,’ एसपी वलीले बताए।

आरोपितमाथि सामूहिक करणी अन्तर्गत मुद्दा दर्ता गरिएको उनले बताए। घटनाबारे आरोपितले पनि स्वीकारिसकेको प्रहरीले जनाएको छ। उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिन म्याद थपेको छ।

त्यसैगरी दाङमा ४ वर्षीया नाबालिगमाथि पनि बलात्कार भएको प्रहरीले जनाएको छ। बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साल पक्राउ परेका छन्। दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याइ बलात्कार गरेको उनीमाथि आरोप छ। उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। दाङमा अर्की ७ वर्षीया बालिकामाथि पनि बलात्कार गरेको आरोपमा एक जना किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शान्तिनगर गाउँपालिकाका १७ वर्षीय किशोरले होलिको दिन बलात्कार गरेको आरोप छ। उनलाई बुधबार राति पक्राउ गरिएको थियो। घटनाबारे इलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरिरहेको छ।