तुलसीपुर,२८ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ नयाँ बसपार्क पुलचोकमा जारी श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ को पाचौं दिन आइतवार भक्तजनहरुको उपस्थिती बढेको छ । जयशिव महाकाल बचाऊ अभियानले अशक्त, असाहय, दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ गत फागुन २४ गतेदेखि श्रीमद्भागवत महापुरान तथा शिव चर्चा सञ्चालन गरेको छ ।
संस्थालाई जनमानसमा परिचित गराउने ,गरिब दुःखीहरुको लागि बासस्थान बनाउन निमार्ण र उनीहरुको उपचारमा केही सहयोग पु¥याउने मुख्य उद्देश्यले श्रीमद्भागवत महापुराण सञ्चालन गरिएको अभियानका अध्यक्ष तथा महापुराणका संयोजक शेरबहादुर घर्तिमगरले जानकारी दिए । उनका अनुसार महापुराणमा दिनप्रतिदिन भक्तजनहरुको उपस्थिती बढ्दो क्रममा रहेको छ ।
जयशिव महाकालले यसै वर्षको कात्तिक महिनादेखि तुलसीपुरको बसपार्कमा अशक्त,असाहय,गरिब,द्खीहरुलाई निःशुल्क रुपमा साँझ बिहान खाना खुवाउँदै आइरहेको उनले बताए । उनले यो अभियान तुलसीपुरसगै घोराही,लमहीको बसपार्कमा पनि सञ्चालन गर्ने तयारीमा रहेको पनि बताए । महापुराणमा दैनिक रुपमा कथा वाचनका साथै शिव चर्चा समेत हुने गरेको छ ।
महापुराणको प्रमुख कथा वाचकमा अच्युतशरण धिताल रहेका छन् भने उप कथावाचकमा पण्डीत अंगिरा जोशी रहेका छन् । अभियानका अध्यक्ष घर्तिमगरका अनुसार आइतवार पाचौं दिनसम्म करिब ४ लाख बढी आर्थिक सकंलन भएको छ । श्रीमद्भागवत महापुराण फागुन ३० गतेसम्म सञ्चालन हुने छ ।