तुलसीपुर यातायात प्रालिको अध्यक्षमा पुनः बुढाथोकी

गोरक्ष समाचारदाता
तुलसीपुर, २८ फागुन । तुलसीपुर यातायात प्रालि तुलसीपुर दाङको प्रथम साधारणसभा तथा अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ । अधिवेशनबाट तुलसीपुर यातायात प्रालिको अध्यक्षमा पुनः पवनराज बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको अधिवेशनले बुढाथोकी अध्यक्ष सहित ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक विष्णुमणि धितालले जानकारी दिए ।

सञ्चालक समितिको सदस्यमा छविलाल डाँगी, निमकुमार श्रेष्ठ, राजु पाण्डे धनसिंह खत्री, भीमबहादुर डाँगी, भद्रबहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन् । समिति अध्यक्ष पवनराज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले तुलसीपुर जिप तथा माइक्रो मिनीबस बस व्यवसायी समिति हाल रूपान्तरित भइ तुलसीपुर यातायात प्रालि संस्थाले समयको वेगसँगै विभिन्न आरोह अवरोह पार गर्दै विभिन्न जिल्लामा सेवा दिँदै आइरहेको बताएका थिए ।

२०७६ साल यतादेखि दाङ जिल्लामा मात्र सीमित रहेको यो संस्था हाल आएर काठमाडौं, नेपालगञ्ज, प्यूठान, रोल्पा, सल्यान, पश्चिम–रुकुम, पूर्वी–रुकुम, बुटवल, सुर्खेत, कृष्णनगरलगायत दाङ जिल्लाभरका प्रायः अधिकांश गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाभित्र यातायात सेवा प्रदान गरिँदै आएको भन्दै सेवालाई सवलीकरण गर्नुपर्ने सुझाव दिएका थिए । प्रालिको सांगठनिक प्रतिवेदन सचिव निमकुमार श्रेष्ठ, आर्थिक प्रतिवेदन कोषाध्यक्ष शिवबहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कर्मचारीको तर्फबाट शशिधर पौडेल, पत्रकार बालाराम खड्का, बरिष्ठ अधिवक्ता विष्णुमणि धिताल, पूर्व सदस्य भद्रबहादुर खड्काले धारणा राखेका थिए । सो अवसरमा कर्मचारी प्रदीप गौतम, सुदन घर्ती, चालकहरू गेहेन्द्र चौधरी, विनोद केसी, भीमबहादुर डाँगी, टीकाराम सुनारलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । सञ्चालक समितिका सदस्य धनसिंह केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निमित्त कार्यालय प्रमुख बलबहादुर केसीले गरेका थिए ।

यसैबीच तुलसीपुर यातायात प्रालिका नवनिर्वाचित अध्यक्ष पवनराज बुढाथोकीले प्रथम साधारणसभा तथा अधिवेशन सफल पार्ने तथा निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् । उनले आगामी दिनमा आफूहरूले दिने सेवालाई थप गुणस्तरीय बनाउँदै लैजाने बताएका थिए । यसैगरी नवनिर्वाचत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ताले प्रमाणपत्र वितरण गरेका थिए ।