‘बाह्र बसन्तका पालुवाहरू’ कविता संग्रह लोकार्पण

गोरक्ष समाचारदाता
दाङ, २४ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बालकवि लक्ष्मी सुवेदीद्वारा लिखित कविता संग्रह ‘बाह्र बसन्तका पालुवाहरू’ कृतिको लोकार्पण भएको छ ।

राप्ती साहित्यपरिषद् केन्द्रीय समिति दाङको आयोजनामा बुधवार घोराहीमा कविता संग्रहको लोकार्पण गरिएको हो । राप्ती सात्यिपरिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहेका बरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्मा र प्रमुख जिल्ला अधिकारी सुशील बैद्यलगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

संग्रहमा बाल्यकाल, शिक्षा, वातावरण, नैतिक शिक्षालगायत विभिन्न विषयमा सम्बन्धित ८० वटा कविताहरू छन् । रोल्पाको जनज्योति माध्यमिक विद्यालय, गजुलकोटमा कक्षा ९ मा अध्ययनरत सुवेदीले कोरोना भाइरसका क्रममा विद्यालय बन्द रहेको समय सँगसँगै अन्य विभिन्न समयमा रचना गरेका कविताहरू संग्रहमा समावेश गरेको बताइन् ।

संग्रहको समीक्षा गर्दै साहित्यकार खेमराज शर्माले सानो उमेरमा लक्ष्मीले सुन्दर, सरल र सरस सिर्जना गरेको भन्दै यो सकारात्मक प्रयासले बालबालिकालाई राम्रो सन्देश दिने बताए । ‘१३ वर्षको उमेरमा साहित्य सिर्जना गरेर कृति प्रकाशन गर्नु राम्रो कार्य हो’, शर्माले भने, ‘लक्ष्मीको यो प्रयासले अन्य बालबालिकालाई सकारात्मक सन्देश दिनेछ ।’

कार्यक्रममा राप्ती साहित्यपरिषद् केन्द्रीय समितिका सल्लाहकार उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्यपरिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाललगायतले कविता संग्रहको सफलताको शुभकामना व्यक्त गरेका थिए । परिषद्को केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण परिषद्का महासचिव रमेश सुवेदीले गरेका थिए ।