गोरक्ष समाचारदाता
काठमाडौँ, २५ फागुन । नेपालको राष्ट्रपतिमा तेस्रो अनुहार चुन्न आज मतदान हँुदैछ । कार्यकालको हिसाबले यो चौथो कार्यकाल हो । डा रामवरण यादव नेपालको प्रथम राष्ट्रपति हुन भने वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी दुई कार्यकाल राष्ट्रपति भूमिका निभाएकी छिन् । भण्डारीको कार्यकाल फागुन २८ मा सकिँदै छ ।
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बानेश्वर स्थित संसद् भवनमा स्थापना भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यालयले विहीवार बिहान १० देखि ३ बजेसम्म मतदान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरेको हो ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार राष्ट्रपति निर्वाचनका लागि बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रपतिको उम्मेदवारको रूपमा ९ दलीय गठबन्धनबाट कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ छन् । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का सदस्यहरू र प्रदेशसभाका सदस्यहरू मतदाता हुन्छन् ।
दलहरूले क्रस भोट हुनसक्ने आशंका गरिरहेका बेला निर्वाचन आयोगले बुथमा मतदाताले मोबाइल फोन लगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने जनाएको छ । निर्वाचन कार्यालयले संघीय सांसदहरूका लागि एउटा र प्रदेशसभा सदस्यहरूका लागि अर्को गरी दुईवटा मतदान केन्द्र बनाएको छ ।
‘सुरक्षाकर्मीले आवश्यक सुरक्षा जाँच गर्छन्, यो गोप्य मतदान हो, बुथमा जाँदा मोबाइल लगायत कानुनले निषेध गरेका कुनै पनि उपकरण लैजान मिल्दैन’, उनले भने । कार्यालयले संघीय सांसदहरूका लागि एक र प्रदेशसभा सदस्यहरूका लागि अर्को गरी दुई वटा मतदान केन्द्र बनाएको छ । ‘दुई वटा मतदान केन्द्र बनाइएको छ । ती मतदान केन्द्रमा आवश्यक कर्मचारीहरू खटिएर सबै तयारी पूरा भइसकेको छ,’ निर्वाचन अधिकृत पौडेलले भने । उनले बिहीबार दिउँसो ३ बजेसम्म मतदानपछि मुचुल्का गर्ने र ४ बजेदेखि अन्नपूर्ण स्काई हलमा मतगणना गर्ने गरी तयारी गरिएको छ ।
राष्ट्रपतीय चुनावमा नेकपा एमाले र माओवादीले गएको पुस १० गते गरेको सम्झौताअनुसार भएन । एमालेले चाहेजस्तो सिफारिस गरेको उम्मेदवारलाई माओवादी समर्थन हुने वातावरण बनेन । न प्रचण्डले भन्दै आएको गैरदलीय र राष्ट्रिय सहमतिको उम्मेदवार नै राष्ट्रपति हुने वातावरण बनेको छ । पुस १० गतेको एमाले–माओवादी सत्ता समीकरणमात्रै भत्केन, यसले राष्ट्रपतीय चुनावमा रामचन्द्र पौडेलको पल्ला नै भारी भयो । प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार छ ।
९ दलीय गठबन्धनको मतभारको आधारमा रामचन्द्र पौडेलको जीत निश्चित देखिन्छ । राष्ट्रपति बन्न आवश्यक मतभारभन्दा धेरै मत पौडेलको पक्षमा देखिन्छ । एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङको मतभार कम देखिन्छ । २७ हजार हाराहारी मतभार हुँदा राष्ट्रपति निर्वाचित हुन्छ । ९ दलको मतभार ३२ हजार बढी छ । नेम्बाङको पक्षमा १५ हजार बढी मतभार छ । प्रतिनिधिसभाका २७३, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० सांसदहरू छन् । त्यो मध्ये राप्रपाले कुनैपनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ ।