कागजमा अधिकार तर व्यवहारमा चित्कार

भुवन पोख्रेल
‘लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको राष्ट्रिय नारामा नारी दिवसको राष्ट्रिय महिला दिवस मनाइँदैछ । राष्ट्रिय नारी दिवस ११३औँको अवसरमा यस नाराले महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तिकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कायृक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाउन थालिएको छ ।

नारी दिवस मनाउँदै गर्दै थुप्रै नाराहरु, शब्दहरु, संविधानमा महिलाका मुद्दा नियम, ऐन, कानुन, अधिकार कागजका पानामा उल्लेख भए पनि व्यावहारिक तहमा महिलाले आफू सम्मानित भएको महसुस गर्ने वातावरण अझै सिर्जना भएको छैन । समानताको कुरा र अधिकार स्थापनाका विषयमा थुप्रै बहस र कार्यक्रम भएका छन् । यी बहसले अझै सार्थकता पाउन सकेका छैनन् । महिलाहरु अझै पनि लैङ्गिक हिंसाको शिकार भइरहेका छन् । महिलाहरु हेपिएको, अपहेलित भएका घटनाहरु हामीले सुन्नमा आएका छन् ।

अन्तर्राष्ट्रि नारी दिवस एकदिने छुट्टी पाउने दिवसमा मात्र सीमित बन्नु हुँदैन । धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र शक्तिको देवी दुर्गा भनेर नारीलाई पूजा गर्ने हाम्रो नेपाली समाज महिलालाई भने पुरुष सरह व्यवहार गर्न सकेको छैन । शिक्षा, स्वास्थ्य, राजनीतिक, आर्थिक, सामाजिक हरेक क्षेत्रमा अघि बढेका महिलाहरुले आफूलाई पुरुष समान व्यवहार गरेको महसुस गर्न पाएका छैनन् । सञ्चार माध्यममा आउने खबरले दिनहुँजसो महिला हिंसा, विभेद र शोषण्का घटना बोकेर आएको हुन्छ । जन्मोत्सवदेखि मृत्यु संस्कारसम्म भेदभाव र अपहेलना गरिन्छ । हाम्रो समाजमा गर्ने धार्मिक एवम् सांस्कृतिक मान्यताले नै महिला र पुरुषलाई असमान गराइ विभेद गरेको तीतो यथार्थ देखिन्छ ।

आजको २१औँ शताब्दीमा पनि पितृ सत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण व्यवहार, जबर्जस्ती करणी, यौन दुव्र्यवहार, एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथा जस्ता अमानवीय व्यवहार सहन बाध्य छन्, नेपाली महिला । नारी पुरुष एक रथका दुई पाङ्ग्रा भनिए पनि व्यवहारमा सो दर्जा नारीले प्राप्त गर्न पाएका छैनन् । प्रत्येक वर्ष मार्च ८ मनाइने आन्तर्राष्ट्रिय नारी दिवस कुनै उत्सव नभइ उत्पीडित महिलाको लैङ्गिक हिंसा विरुद्धको आवाज हो ।

नारी दिवसका दिन हामीले महिलाको अधिकार, स्वतन्त्रता र समानताका कुरा जोडतोडले गर्छौँ तर त्यसपछि हरेक दिन महिला हिंसा भइरहेको हुन्छ । महिलाले न राजनीतिक क्षेत्रमा समान अधिकार पाएका छन्, न त सामाजिक विभेद हटेको छ । अझै पनि महिला आत्मनिर्भर बन्नसकेका छैनन् । नेपालको संविधान र कानुनमा महिला अधिकार धेरै कुरा छन् तर कार्यान्वयन हुन सकेका छैनन् । संविधानको प्रस्तावना भइ लैङ्गिक विभेदको अन्तय भनिएको छ तर अहिले लैङ्गिक विभेद एकदम चरम छ । घरदेखि सुरु भएको विभेद राज्यका हरेक क्षेत्रमा पुगेको छ । महिलाहरु सक्षम हुँदाहुँदै पनि हाम्रो सामाजिक सोचका कारण अवसर पाउन सकेका छैनन् । नीति र विधि बनाउने तहमा महिला पुग्नुलाई उपलब्धि रुपमा लिन सकिन्छ ।

मुलुक संघीयतामा गएपछि ३३ प्रतिशतको बाध्यकारी व्यवस्था आइसकेपछि हरेक दलले आफ्नो विधान परिमार्जन गरेर यो पनि लागू गरेका छन् तर पदाधिकारी तहभन्दा पनि सदस्यहरुमा यो लागू भएको देखिन्छ । महिला र पुरुषका बीचमा रहेको असमानताको खाडल फराकिलो र गहिरो छ, त्यसलाई पुर्नका लागि अझै पनि महिलाका क्षेत्रमा थुप्रै काम गर्नुपर्ने देखिन्छ । महिलालाई आर्थिक, सामाजिक, राजनीतिक, बौद्धिक रुपमा अघि बढाउनु पर्छ । महिलाहरु सबैभन्दा पछि परेको कारण नै आर्थिक परनिर्भरता हो । अहिले पनि महिलाहरु आर्थिक रुपले सम्पन्न छैनन् तर विस्तारै छोरीहरुलाइृ पढाउनुपर्छ । आफ्ना खुट्टामा उभिनेसक्ने बनाउनुपर्छ भन्ने मानसिकता वा सोच समाजमा बढेको छ ।

आर्थिक, सामाजिक जागरण र रुपान्तरणबाटै महिला सशक्तिकरण सम्भव छ । महिला सशक्तिकरण भनेका महिलामा आत्मबल र आत्मविश्वास बढाउनु हो । महिला र पुरुषमा जैविक बाहेक कुनै भिन्नता छैन । महिलाप्रति अहिलेको मानसिकतामा परिवर्तन आउनका लागि राजनीतिक दलहरुका पदाधिकारी तहमा महिला नै आउनुपर्छ । महिलालाई आय आर्जनसँग जोडेर हरेक कार्यक्रम अघि बढाउन सक्नुपर्छ । अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने खालको छ । महिलालाई उद्यमसँग जोड्नु पर्छ ।

संयुक्त राष्ट्रसंघको निर्णय अनुसार सन् १९०९ (वि.सं. २०६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो । सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन ।

फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखि मात्र हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो । नेपालमा नारी दिवस फागुन २४ गने पर्दछ । यसरी संसारका विभिन्न देशले ५०औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं. २०१६ साल अर्थात् सन् १९५९ मा प्रधानमन्त्री वीपी कोइरालाका पालादेखि नियमित रुपमा यो दिवस मनाउन थालिएको हो ।

यसरी विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो । श्रीलंकामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरी समेत त्त देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे। नेपालमा पनि राष्ट्रपति, सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्ता देशका सर्वोच्च निकायमा महिला पुग्नु भनेको विश्वका लागि उदाहरणीय बढ्न पुगेको छ ।

यति हुँदा पनि नेपालका महिलाले अधिकार पाइएन, पुरुषको दास भएर बस्नुपर्ने, भात भन्सामा र चुलोचौकोमा मात्र रुमल्लिनु पर्ने परिस्थितिलाई मानसिक कमजोरी ठान्नुपर्छ । मानवका रुपमा पुरुषले पाएका अधिकार महिलाले पनि पाउनुपर्छ भन्ने वकालतको विश्वव्यापी अभियान नै महिला दिवस हो । लैङ्गिक समानतामूलक विश्व र भेदभावरहित समाजको परिकल्पना गरेको छ, नारी दिवसले । महिला भएकै कराण हेपिनुपर्ने विभेदको शिकार बन्नुपर्ने, अपहेलित बन्नुपर्ने परिस्थितिको सिर्जना हुनु हुँदैन ।

महिलाहरु अधिकारका लागि सामाजिक, आर्थिक, राजनीतिक रुपमा विकसित बनाउने रणनीति अघि बढाउनुपर्छ । महिलाहर सबै क्षेत्रमा समान ढङ्गले अघि बढाउन सकिएको छैन । परम्परागत रुपमा चलिआएका मूल्य मान्यताका कारण महिलाहरु शोषण र उत्पीडनमा परेका छन् । यस किसिमका महिला हिंसाका विषयमा एक दिन नारी दिवस मनाएर पुग्दैन, राज्य तहबाटै रणनीति चल्नुपर्छ । महिला हिंसा ह्वात्तै बढेको छ । बलात्कार, यौनहिंसाका बग्रेल्ती घटनाले युग दसकौँ पछाडि धकेलिएको छ । राज्यले कदम नचल्ने हो भने यस्ता घटनामा कमी आउँदैन । एक ठाउँबाट र एउटाले मात्र आवाज उठाएर मात्र हुँदैन ।

महिलामैत्री कानुन बनाउने, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा महिलालाई सशक्त बनाउने आधारशीला बनाउन सक्नुपर्छ । महिला हिंसा र हत्यका घटना कम गर्न समाजलाई कसरी सचेत बनाउने भन्ने प्रश्न आउँछ । महिला बालबालिकाप्रति सकारात्मक चिन्तन र व्यवहारमार्फत अधिकार उपयोगका अनुभूल वातावरण निर्माण गरी सभ्य र समृद्ध मुलुक निर्माणमा तिनीहरुसँग हातेमालो गर्दै अघि बढ्न प्रण गर्ने महत्वपूर्ण दिन हो, नारी दिवस । आम महिलालाई लैङ्गिक अधिकारबारे जागरुक बनाइ सरकारलाई कानुनी अधिकार व्यवहारमा उतार्न दबाब दिन नारी दिवसले अझ सशक्त भूमिका खेल्न जरुरी छ ।

बोक्सी, दाइजो प्रथा, छाउपडी, बहुविवाह आदि आम महिलाको समस्या बानिरहेको छ । घरेलु हिंसाले अधिकांश महिला प्रताडित छन् । आमाको पहिचानबाट सन्तानले नागरिकता पाउन बाबु नभएको व्यहोरा खुलाउनुपर्ने कानुनी व्यवस्थाले महिलामाथि चरम विभेद र अपमान भएको छ । महिला हिंसा न्यूनीकरणका लाग सबै स्थानीय तहमा गठित न्यायिक समितिका प्रमुखसँग ऐक्यबद्धता, प्रतिबद्धता र समन्वयको काम गर्दै अघि बढ्नसके न्याय प्राप्तिमा सहज हुन्छ ।

अन्तर्राष्ट्रिय नारी दिवस कुनै खुसियालीको उत्सव वा पर्व नभएर उत्पीडित महिलाहरुको लैङ्गिक विरुद्धको आवाज हो, संघर्ष हो । महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापी रुपमा बुलन्द पार्दै, महान संकल्प र अठोटका साथ निरन्तर जारी राखिने अनन्तकालीन महायात्र हो । नारी दिवसका नारालाई नारामा मात्र सीमित नराखेर व्यवहारगत रुपमा अगाडि बढाउनु नै सबैभन्दा महत्वपूर्ण देखिन्छ । यसरी नारी चेतनासँग सम्बन्धित नाराहरु निर्माण भइ विकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिङ्गो इतिहास जोडिएको छ भन्नेमा अतियुक्ति नहोला ।
अन्तर्राष्ट्रि महिला दिवसको वेवसाइटअनुसार वैजनी, हरियो र सेतो महिला दिवसका रँग हुन् ।

बैजनी न्याय र गरिमा इङ्गित गर्छ । हरियो आशाको प्रतीक हो । सेतोले पवित्रताको प्रतिनिधित्व गर्छ । यद्यपि यो विवादास्प्रद धारणा हो । सन् १९०८ मा युकेमा महिलाहरुको सामाजिक र राजनीतिक संघबाट यी रँगको अवधारणा सुरु भएको थियो, वेवसाइटमा भनिएको छ । नारी दिवसलाई दिवसको रुप मात्र निहित गर्नु हुँदैन । नारी अर्थात् सृष्टिको सिर्जनकर्ता । त्यसैले नारी कुनै दिन विशेषमा मात्र सम्मान गर्ने, माया गर्ने र आदर गर्ने मात्र होइन, नारी र पुरुष एकअर्काका परिपुरक हुन्, लिङ्गका आधारमा कसैलाई पनि भेदभाव गर्नु हुँदैन । त्यसर्थ नारी दिवसकै दिनदेखि हामीले आफ्नो मानसिकतालाई सफा गरौँ ।

अन्तर्राष्ट्रिय महिला दिवसका दिन धेरै देशमा सार्वजनिक बिदा दिइन्छ । कतै पहेँला फूल आदानप्रदान गरेर पनि मनाउने गरिन्छ तर नारी दिवस शुभकामना आदानप्रदान त छँदैछ, यो दिवसलाई महिला, सशक्तिकरण गरेर उत्पीडन र हिंसामा परेका नारीहरुको सहयोग गर्नुका साथै उनीहरुलाई न्याय प्राप्त गर्ने वातावरण मिलाएर, लैङ्गिक समानान्तर, समतामुलक घर, समाज र राष्ट्र निर्माण गर्नको लागि आवश्यक कार्यक्रमहरु गरेर परापूर्वकालदेखि पुरातनवादी सोच र पुरुषवादी अहमताले महिलालाई हेप्दै, थिच्दै आएका पुरुषहरुले आफ्नो कुसोच, गलत मानसिकतालाई कुल्चेर आफ्नो सोच, मानसिकतालाई शुद्धिकरण गरेर लैङ्गिक समानता, समता गर्ने प्रण र कार्य गर्दै यो दिवसलाई अर्थपूर्ण र पृथक तवरले मनाउन सकिन्छ । खाली शुभकामना आदानप्रदान, भाषण, नारा, औपचारिक कार्यक्रम मात्र गरेर दिवसको सार्थकता रहँदैन ।