ब्रह्माकुमार माधव तिमिल्सेना
नारी (महिला)लाई अंग्रेजीमा Women भनिन्छ । यिनै पाँच अक्षरमा नारीका महत्वपूर्ण गुणहरु समाहित छन्, W Ö Will power अर्थात मनोवल । जसको आधारमा नारीले आफ्नो योग्यता सावित गर्न सफल हुन्छिन् । O = Oneness अर्थात् एउटै लगन र एउटै मगनमा तल्लिन रहन सक्नु । मीरावाईले एक कृष्णमा लगन लगाएर आफ्नो आराध्य समान उच्च स्थिति बनाउन कामयाव पाउन सफल भइन्, IM = Might अर्थात शक्ति । स्व (आत्मा) को आन्तरिक शक्तिहरु जागृत हुन्छ भने नारी अवला हैनन्, सवाल शक्ति स्वरुप दुर्गा, काली, लक्ष्मी, अम्बा बनेर विश्वमा फैलिँदै गइरहेको दुर्गुण एवम् विकृतिहरुको विनाश गरी महान कार्यमा सहयोगी बन्न सक्छिन् ।
E= Enlightenment अर्थात दिव्यता । ज्ञान प्रकाशले नारीमा स्नेह, त्याग, सहनशीलता एवम् करुणा आदि दिव्यता आउँछ र नारी सबैको मनोकामना पूरा गर्ने कामधेनु बन्न पुग्छिन् । जसको आधारमा नारीले आफ्नो योग्यता सावित गर्न सफल हुन्छिन् । ल् . ल्यदष्ष्तिथ अर्थात उदारता । माँ को हृदय उदार र विशाल हुन्छ । आफ्नो यही गुणले परिवारका सबै सदस्यहरुका कमीकमजोरीलाई सागर सरी समाहित गरेर परिवारलाई एकसूत्रमा बाँध्न सक्छिन् । नारी अर्थात् घरको शोभा । नारीले नै हो घर–परिवारलाई सन्तुलित राख्ने, खुसी दिने एवम् स्वस्थ्य बनाउने सुख समृद्धि ल्याउने ।
ऋग्वेद भन्छ, ‘नारी धनकी देवी हुन् ।’। धनी हुनु भनेको समाज अथवा परिवारमा नारीको हैसियत उच्च हुनु हो । यस तथ्यले भारत खण्डमा नारीहरु पुरुषभन्दा कम थिएनन् भन्ने कुरा स्पष्ट पार्छ । त्यतिमात्र होइन, त्यो समय समाजमा बहुविवाह बर्जित थियो (ऋग्वेद ७.४।८।७)। समाजले नारी–पुरुषलाई समान मान्ने भएकाले नै बहुविवाह बर्जित गरिएको हुनुपर्छ । अहिलेको ‘पुरुषप्रधान’ भनिने समाजमा श्रीमतीले गर्न नसकेको काम पुरुषले गरिदिनुपर्छ भन्ने छ तर वैदिक समाजमा अहिलेभन्दा ठिक उल्टो थियो ।
गार्गी, मैत्रेयीको जस्ता नारी जसले त्यस समयमा बेला वादविवाद, राजनीति, तर्कशास्त्रमा अब्बल मानिन्थे । वैदिककालमा रोमशा, उर्वशी, घोषा, विश्ववारा, लोपामुन्द्रा जस्ता विदूषी नारीहरु पनि थिए, जसको चर्चा अहिलेको समाजमा पनि हुन्छ । नारीहरुलाई शिक्षा ज्ञान प्राप्त गर्न र प्रदान छुट भएको तथ्य भेटिन्छ । त्यसैले वेदमा भनिएको छ, ‘प्रत्येक सामाजिक एवम् धार्मिक काममा नारीको उपस्थिति अनिवार्य छ।’ (अथर्ववेद २।३६।१)
खास गरी शरीरको जन्म नारीको गर्भबाट हुन्छ । आत्माको उत्पतिको प्रश्न नै आउँदैन किनकि आत्मा अनादि अविनाशी छ । लिङ्गभेद पनि शरीरमा आधारित हुन्छ । जसरी शरीरका अङ्गहरुको उत्तम संयोजनले सुन्दर शरीरको निर्माण हुन्छ, त्यसरी नै स्त्री वा पुरुषको सही विकास नभएमा उक्त समाज शारीरिक अपाङ्गता भएको मानिस जस्तै हुन्छ । एउटा पखेटाले पन्छी उड्न सक्दैन । समाज वा देशको सञ्चालन नारी या पुरुष एउटै मात्रले सम्भव छैन । वास्तवमा नरनारीमा केही भिन्नताहरु छन्, परन्तु ती आपसमा विरोधी नभएर परस्पर पुरक हुन् ।
पुरातन धर्मशास्त्रमा नारीलाई पुरुषको अर्धाङ्गीनी मानिएको छ । यसको मतलव नारीहरु रक्षणीय अवश्य हुन् तर उपेक्षीय वा शोषणीय अवश्य होइनन् । निर्णयामृतमा लेखिएको छ– ‘भार्या प्रत्युव्र्रतं कुर्यादी भार्याश्च पतिव्रतम्’ अर्थात पत्नी पतिका लागि ब्रत राखून् र पति पत्नीका लागि हरेक परिस्थितिहरुमा त्याग, सहनशीलता, धीरता, जागरुकता तथा दूरदर्शीतालाई अपनाएर घरलाई सुखी बनाउन सकिन्छ ।
सच्चा अर्थमा गृहस्थ पनि एक तपोवन हो । जब पुरुषमा नारीको गुणहरुको सञ्चार हुन्छ तब ती पुरुष पनि महान् महात्मा बन्न सक्छन् । प्राचीनकालमा कन्याको लालनपालन पुत्रकै समान भएको पाइन्छ, जस्तै सीता, पार्वती, दमयन्ती, द्रौपदी आदि । वैदिक कालका सम्मानित नारीहरु मध्यकालमा आएर उनीहरुको जीवन चलअचल सम्पत्ति समान भयो ।
पौराणिक कालमा नभएर यस युगमा समेत अपवादका रुपमा फ्लोरेन्स नाइटिङ्गेल, मदर टेरेसा, राजयोगीनी दादी प्रकाशमणी र दादी जानकी तथा पासाङ्ग ल्हामु शेर्पालगायतका नारीहरु नमुना भएको इतिहास साक्षी छ । आफ्नी आमा पुतलीबाईको कारण माहात्मा गान्धीले सधैँ सत्यवादी मार्ग अपनाए । आमा महान् हुन्छिन्, उनको स्थान अग्रपंक्तिमा छ । त्यसैले मातृदेवो भव भनिन्छ तर अचेल आमाको स्नेहलाई सन्तानले पैसासँग दाँज्ने गरेका तीता सत्यहरु हामी बीचमा छिपेका छैनन् ।
नारीमाथि पाल्तु जनावरजस्तै व्यवहार प्रदर्शन हुन थाल्योे । वैवाहिक जीवनमा नारीलाई पुरुषको जुत्ता समान वा मजदुरजस्तै नजरले हेर्न सुरु गरियो । शतिप्रथाको नाउँमा पतिको मृत्युपछि जिउँदै जलाइनु नारीको स्वाभिनतालाई समाप्त गर्ने एक ज्वलन्त उदाहरण हो । संविधान एवम् कानुनका दस्ताबेजहरुमा नारी समानताका कुरा लेखिए पनि मानसिकतामा परिवर्तन नआउनुको परिणाम कन्या भ्रुणहत्या, नारी दहन, दाइजो प्रथा, लिङ्गभेद एवम् कुदृष्टि आदिले आज पनि नारीको पराधिनतालाई स्पष्ट दर्शाउँछ । एउटा भनाइ छ, ‘पुत्र पिताको भाग्यले बाँचेको हुन्छ तर कन्या आफ्नै भाग्य लिएर यस संसारमा ।’
कुनै पनि स्थान, देश, कालमा नारीहरुको अपमान वा उपेक्षा वा अवनति हुन्छ भने ती नारी हृदयको पुकार प्रकृतिसम्म प्रतिध्वनित हुने गर्दछ । फलस्वरुप प्राकृतिक आपतरुपी विनाशको सिलसिला प्रारम्भ हुन्छ । मातृशक्तिको तिरस्कार, अन्याय र पक्षपातको कारण पुरुषको दुःखद् क्षणको आरम्भ हुन्छ । पुरुषको चरित्र, आचरण र व्यवहारको प्रतिफल नारीबाट नै प्राप्त हुन्छ । पुरुषबाट सम्मान पाउन नारीले केवल छाला चम्काउने धन्दामा नलागी आफू भित्रको सुषुप्त आत्मिक शक्ति वा देवत्वलाई निखार्न जरुरी छ ।
ऐना हेर्ने स्वाभाविक संस्कारलाई ज्ञान दर्पण हेर्ने संस्कारमा रुपान्तरित गर्न आवश्यक छ । शरीरका साथीहरुले त शरीर जल्ने बित्तिकै साथ बिर्सिन्छन् तर आत्माको सच्चा साथी पिता परमात्माले देहको आवरणबाट निस्किए पनि आत्माको साथ अझै समीपमा भूमिका निर्वाह गर्नुहुन्छ । यस यथार्थलाई समेत बिर्सनु हुँदैन । जहाँ मीठो वचन, मधुर स्वर छ र हरेक क्षण मायालु बोली–व्यवहार प्रदर्शित हुन्छ । आस्तिक सेवा भाव राख्ने, दानशील, बुद्धिमान, दयावान्, कर्तव्य पालना पूर्णनिष्ठाका साथ गर्ने नारीको हात हुन्छ । जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् । जो घरमा आएका आगन्तुकलाई हार्दिकताका साथ स्वागत गर्छिन् ।
अर्काको दुःख देखेर आफ्नो सामथ्र्यअनुसार सहयोग गर्ने र अर्काले दुःखबाट उन्मुक्ति पाउँदा परमानन्दको अनुभूति देखाउँछिन् । घरका सबै सदस्यलाई उत्तिकै प्रेम, सम्मान, श्रद्धापूर्वक व्यवहार गर्दै सबैलाई मीठो–मसिनो र स्वस्थकर भोजन प्रभू प्रसादको रुपमा बाँड्छिन् । ती नारी जो प्रत्येक दिन स्नान गरेर सफा एवम् स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् साथै बिहान–साँझ पूजाआजा गर्ने, दीप एवम् धूपले घरलाई सुगन्धित बनाउँदै धर्म र नीतिको मार्गमा चल्नका लागि परिवारलाई प्रेरित गर्ने नारीको विशाल हृदय, शालीनता र क्षमाशीलताले त्यो घर एक पवित्र मन्दिर समान हुन्छ । तर, यस्तो क्षमता र शक्ति एवम् हैसियत के पुरुषबाट सम्भव छ र ?
तिमी अर्काको घर जाने जात …पोथी बासेको राम्रो हुँदैन …आइमाई केटाकेटी धेरै हाँस्नु हुँदैन …. नारी नरकका द्वार हुन् … नारी जुत्ताको पैताला हुन् … ढोलक शुद्र जाति, पशु र नारीलाई पिटेर मात्र तह लगाउन सकिन्छ आदि–आदि सोच र व्यवहारले नारीको स्वाभिमान् र प्रतिष्ठालाई ओझेल पारेको छ । आजको समाजको सबैभन्दा ठूलो अभिशाप यही छ कि नारीको गर्भमा जन्म लिने नरले आफ्नी जननी माँलाई पूज्य सम्झिनुपर्नेमा नारी शरीरलाई भोग्य दृष्टिले मात्र हेर्नु नारीको अपमान हो ।
पुरुषप्रधान समाजले नारीलाई विलाशिताको साधनको रुपमा उपयोग गर्दै एक खेलौना सरी किनबेच गरिरहेको विद्यमान सामाजिक अवस्थालाई के भन्नु र खै ? नारीको नग्न र अर्धनग्न रुपलाई रात्री क्लव तथा व्यापारिक स्थलमा राखिनुले नारीको अस्मितामाथि धावा बोल्नु भएन र ? वैदिककालमा कन्या माता अथवा समग्र नारी समाजमा पूजनीय, बन्दनीय र सम्माननीय भएको कुरा हाम्रा शास्त्र र नीतिहरुमा पाइन्छ ।
वर्तमान समयमा पनि नारीको केही गौरवमय एवम् विशेष सांस्कृतिक अधिकार रहेको देखिन्छ । जस्तै कन्याको जन्म हँुंदा देवी, ससुराली जाँदा लक्ष्मी, नवरात्रीमा कन्या पुजन, जिउँदो कुमारी पूजा आदि । नारी परिवर्तन नभएसम्म विश्व परिवर्तनको कल्पनासम्म गर्न सकिँदैन । हरेक कार्यमा नारीको बन्दना हुने गर्दछ । युद्धमा पुरुष सरिक भए पनि शक्ति दुर्गासँग मागिन्छ । धन कमाउने धन्धामा पुरुष अगाडि देखिए तापनि धन ऐश्वर्य लक्ष्मीसँग मागिन्छ ।
विद्यामा पुरुष अग्रपंक्तिमा भए पनि विद्याको बरदान सरस्वतीसँगै मागिन्छ । यतिखेर संसारमा फैलिरहेको दुर्गुणरुपि कालो बादललाई हटाउनु परेकोछ । प्रकृतिले नर–नारीलाई सामाजिक सन्तुलन दिएको छ । नारीमा शारीरिक बल निश्चित रुपमा कम छ, परन्तु नैतिक बल वा आध्यात्मिक बल साथै मानसिक बल पुरुषभन्दा अवश्य अधिक छ । त्यसैले नैतिक आध्यात्मिक क्षेत्रमा नारीको पुजन हुने गर्दछ ।
देहअभिमानी संस्कार र भोग बासना विलाशिततको संस्कृति नै महिला उत्पीडनको मूल कारण हो । जबसम्म युवावर्गमा नैतिकता र आध्यात्मिक संस्कार दिइँदैन साथै नारीकेन्द्रित अश्लिल विज्ञापनलाई रोक लगाइँदैन तबसम्म नारीको अपमान भइरहन्छ । आमाको गरिमा एवम् महत्वलाई लिएर विश्व विजयी नेपोलियम बोनापार्टको तिमीहरु मलाई असल आमा देऊ म तिमीलाई असल नागरिक दिन्छु भन्ने कथन सान्दर्भिक छ । असल आमाबिना असल नागरिक पैदा गर्न सकिँदैन ।
शिशुको पहिलो पाठशाला नै मातृत्व हो । एउटा बालकको मानसिकताको रचनामा आमाको अत्यधिक हात रहेको हुन्छ । बालकको प्रथम र सबैभन्दा पहिलो पाठशाला नै उसलाई पैदा गर्ने आमा हुन् । यो संसारमा समयानुसार विभिन्न धर्म संस्थापकहरुले जन्म लिए तापनि संसारको परिवर्तनको अभिभारा नारीहरुकै हातमा देखिन्छ । तसर्थ, अब नारीहरुले आफ्नो सुषूप्त शक्तिलाई जगाउनु परेको छ । आफूलाई जगत माँ सम्झेर यस जगतको कल्याण र उदार हेतु समर्पित हुने समय आइसकेको छ ।
नारी धर्तीजस्तै विशाल दिलकी खानी हुन् । नारीले अबको समयमा शिवशक्ति सम्झेर महान् चरित्र र गुणको प्रदर्शन गर्ने हिम्मत गर्नुपरेको छ । नारी विशालताको दिव्यमूर्ति हुन् तसर्थ यो विशालतालाई सुखमय संसार निर्माणको कार्यमा लगाएर महानताको परिचय दिने बेला आइसकेको छ । हे त्याग र समर्पणकी मूरत, क्षमाकी देवी उठ आफ्नो सच्चा पतिपरमेश्वरलाई चिन ।
सबै दुःखबाट छुटाएर नयाँ सतयुगी पवित्र दुनियाको स्थापना गरी देवी समान अम्बा, जगदम्बा, सरस्वती, दुर्गा, वैष्णवी, लक्ष्मीको रुपमा सर्वगुणसम्पन्न १६ कला सम्पूर्ण बनाउनको लागि शिवपिता परमधामबाट बन्दे मातरमको उद्घोष गर्दै शिवशक्ति अवतारले ज्ञान कलश माता नारीको शिरमा राखेर सम्मान तथा अवसर प्रदान गरिहनुभएको छ । यो सुनौलो अवसरलाई सदुपयोग गर्नु आजको अपरिहार्यता तथा आवश्यकता पनि हो ।
हाल करिब १४० भन्दा बढी राष्ट्रहरुमा ९५०० भन्दा बढी सेवा केन्द्रहरु मानव कल्याण र विश्व परिर्वतनको महान् कार्यमा संलग्न ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एक अन्तर्राष्ट्रिय शैक्षणिक संस्थाको रुपमा संयुक्त राष्ट्रसंघको सूचना विभागमा गैरसरकारी संस्थाको रुपमा रजिस्टर्ड हुनुको साथै संयुक्त राष्ट्रसंघ अन्तर्गतकोे आर्थिक तथा सामाजिक परिषद्, यनिसेफ, युनेस्कोको समेत सल्लाहकार सदस्य रहेको छ । यस संस्थाको प्रशासन एवम् गहन जिम्मेवारी आध्यात्म साधना सम्पन्न राजयोगीनी ब्रह्माकुमारी दिदीबहिनीबाट बहन हुन्छ ।
करिब ५० हजार समर्पित ब्रह्माकुमारीहरु र १२ लाख आध्यात्मिक साधक साधिकाहरुको यस संस्था विश्वमा एकमात्र नारीप्रधान संस्था हो । जहाँबाट नारी सशक्तिकरण, नारी उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह भइरहेको छ । महिला सशक्तिकरण, युवा जागरण पर्यावरण विकास मूल्य शिक्षा एवम् आध्यात्मिक पथमा उल्लेखनीय भूमिका निर्वाह गरेका कारण ब्रह्माकुमारीज संस्थाकी पूर्व मुख्य प्रशासिकालगायत वर्तमान प्रमुख र संयुक्त मुख्य प्रशासिकालाई विश्वका ख्याती प्राप्त विश्वविद्यालयहरुले मानार्थ विद्यावारीधि डि.लिट्बाट समेत सम्मानित गरिरहेका छन् । तसर्थ, यस अभियानमा सबैको सक्रिय सहभागीको अपेक्षा समेत गरिएको छ ।
आधात्मिक ज्ञानले सही अर्थमा जीवन जिउने कला सिकाउँछ, आधात्मिकता संसारको त्यागको मार्ग होइन कि संसारमा सशक्त बनेर जिउने मार्ग हो । ज्ञानले कमजोर शारीरिक आवरण भित्र छिपेको आध्यात्मिक शक्तिले मनोबल बढाउँछ । एक्लोपनको भयबाट मुक्ति दिलाउँछ, असुरक्षताको स्थितिमाथि उठाउँछ, निमित्त भाव पैदा गरेर निर्मानता बनाउँंछ । आत्मनिर्भर बनाएर अरुको कमीकमजोरीप्रति रहमदिल बढाउँछ ।
(क) नारी सशक्तिकरणको पहिलो अनिवार्य तत्व हो आत्म–गौरव । एक सशक्त नारीलाई आफू महिला हुनुमा गर्व लाग्छ । महिला आन्दोलनको एक स्लोगन छ कि – ‘मेरो शरीरको संरचना नै मेरो किस्मत हो ।’ यो सृष्टिका नियम छ, नारी मात्र आमा बन्न सक्छिन् तर पुरुष हैन । परन्तु स्वतन्त्रताको नाममा आजकी नारी पुरुषको पुरक नभइ प्रतिद्वन्द्वीको रुपमा देखिनु पक्कै पनि राम्रो संकेत मान्न सकिँदैन । फेशन, पहिरण र अङ्ग प्रदर्शनमा नारीले आफ्नो अस्मिता गुमाउँदै गइरहेको वर्तमान आधुनिकताको नाममा बढ्दै गएको उच्छृङ्खलता र स्वइच्छाचारी रोकिनुपर्छ ।
(ख) जागरुकता नारी सशक्तिकरणको अर्को पक्ष हो । एक जागरुक नारी बन्नु अर्थात् शक्ति स्वरुपा हुनु । केवल नारी मात्रले आफ्नो आवेगलाई कुशलतापूर्वक नियन्त्रण राख्न सफल हुन्छिन् । नारीले कहिल्यै पनि आफ्ना भावनाहरुलाई व्यक्त गर्न अधिकतर हिंसात्मक तरिका अपनाएको पाइँदैन । आफ्नो आन्तरिक संवेदनशीलता एवम् बौद्धिक परखशक्तिको आधारमा पहिला एक व्यक्ति पछि नारीको रुपमा पहिचान गर्न र स्पष्ट रीतिले सम्झिनसक्ने क्षमता नारीमा निहित रहेको हुन्छ ।
(ग) शूक्ष्मस्तरीय बदलाव नारी सशक्तिकरणको पाटो हो । हरेक व्यक्ति जीवनका परिस्थितिमा बदलिने क्षमता राख्दछ परन्तु त्यसका लागि दृढता जरुरी हुन्छ । रुकावटलाई पार गर्न एक सशक्त दृष्टिकोण हुनुपर्दछ । नारीप्रतिको भेदभावको विरोध एवम् उक्त कार्यलाई निरुत्साहित गर्न र सकारात्मक उर्जा थप्न हमेसा हौसलाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।
(घ) कानुनी अधिकारले नेपालको संविधानले महिला पुरुषमा समान हकअधिकारको कुरा गरेको छ । साथै राज्यको विभिन्न क्षेत्रमा आरक्षण समेतको व्यवस्था गरेको छ । अन्य कानुनमा महिलाको अधिकारको सवालमा स्पष्ट उल्लेख छ । साथै अन्तर्राष्ट्रिय महासन्धिहरुको पक्ष राष्ट्र रहेको र महिला आयोगको स्थापनाले कानुनी अधिकारलाई उजागर गरेको भए तापनि व्यावहारिकतामा महिलाहरु दुविधा एवम् भयग्रस्त जीवन जिउने बाध्य भएको पाइन्छ । तसर्थ, विद्यमान ऐन कानुनको समय सापेक्ष सुधार तथा कडाइका साथ अक्षरसः पालना गर्दै कानुनले नै सबैभन्दा पहिला महिलालाई स्वयम्मा सुरक्षित र निश्चिन्त बनाउनुपर्ने जरुरी छ ।
(ङ) नारी सशक्त बनाउने प्रभावकारी कार्य भनेको महिला संघ संगठनको एकता तथा प्रोत्साहन पनि एक आधार हो । महिला अधिकारकर्मीहरुको एउटै आवाज कर्तव्यपालनाको सीमाभित्र रही लैङ्गिक हिंसा, विभेद र अन्याय तथा अत्याचारको विरुद्ध हुनुपर्दछ । विभिन्न संघसंगठनहरुको स्वार्थरहित भएर महिलाको हकअधिकार र कानुन कार्यान्वयको सवालमा एकाकार हुनुपर्ने आवश्यकता देखिन्छ ।
(च) नारी सशक्त बन्नको लागि आत्म–ज्ञान अनिवार्य छ । आत्मा कहिले पुरुष त कहिले महिलाको शरीर धारण गरेर यस सृष्टि रङ्गमञ्चमा अभिनय गर्दछ । स्वयम्लाई आत्मा निश्चय गरेमा जीवन फूल समान दिव्यगुणले सुगन्धित हुन थाल्दछ । पारस्परिक शुद्ध भावना, आत्मदृष्टि र व्यवहारमा सम्मानको भावना विकसित हुनुको कारण आत्माभित्रको जन्म जन्मान्तरको विकार मुक्त भएर सच्चा स्वतन्त्रताको अनुभव हुन थाल्छ । आत्मज्ञानले आत्मबल बढ्छ भने अनेकौँ विभेद समाप्त भएर जान्छ । परमात्मासँगको योगले जीवनमा दिव्य शक्तिको सञ्चार हुन्छ । आध्यात्मिक सशक्तिकरणको स्वरुप बनेर यो संसारलाई स्वर्ग बनाउन स्वयम् नारी अग्रसर हुने समय अब निकट भविष्यमा आउनेछ ।
अन्तमा, वैदिक र नैतिक जीवन नै नारीको जीवन हो । आफूलाई शरीर सम्झिनाले नारी अबला बनेका हुन् । यदि नारीले आफूलाई मनबुद्धि र संस्कारले युक्त आत्मा सम्झेर आत्म स्मृतिमा स्थिर हुँदै जीवन पथमा चलेमा सच्चा शक्ति स्वरुपाको अनुभव हुनेछ तब नारी अवला नभएर पुरुषलाई समेत बल प्रदान गर्नेवाला बन्न सक्छिन् ।
मूल्यनिष्ठ समाज अर्थात् नारीलाई श्रेष्ठ स्थान, त्यसैले भनिन्छ ‘माँ र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्’ । समाजलाई यो जानकारी होस् कि नारी भोग्य होइनन् पुज्य हुन्, जसको पुजन आजसम्म पनि भारतवर्षमा दुर्गा, सरस्वती, लक्ष्मी आदि रुपमा हुने गर्दछ । तसर्थ, अब प्रत्येक नारीलाई आफ्नो असली रुप धारण गर्नुछ तब मात्र नारी उत्थान सम्भव छ, साथै यसै धरामा श्री लक्ष्मी श्री नारायणको राज्य स्वर्ग स्थापना हुनसक्छ ।
नारी संस्कारयुक्त सभ्य र स्वतन्त्र भएमा बसुन्धरा फूलसमान सुभाषित हुन थाल्छ तर स्वतन्त्रताको नाममा महिलाहरुले कहिल्यै पनि उच्छृङ्खल हुनु हँुदैन । मूल्यवान् नारीमा निहित नैसर्गिक गुणले काँटा समान संसारलाई पनि सुगन्धित–सुन्दर फल–फूलको बगैँचा बनाउन सक्छिन् । परमात्मा र प्रकृतिको प्रेमपूर्ण सम्बन्धको नाम नै हो, नारी । ज्योतिर्मय संस्कार भएका नारीको हात संसारका सम्पूर्ण महान् कार्यमा लाग्नु परम आवश्यक छ ।
विकृतिपूर्ण जीवलाई पनि सबै प्रकारको खुसीले भर्नसक्ने कला छ, नारीमा । यस बसुन्धरालाई दैवीधाम बनाएर सारा भूमण्डललाई नवीकरण गर्न सक्छिन् । प्रशंसनीय कार्यद्वारा देवी, महादेवी र सुखदेवी पनि बन्नसक्ने योग्यता छ, मातृशक्तिमा । त्यसैले यस्ता नारीलाई फूलजस्तै फुल्न देऊ । निर्मल सरिता जस्तै बग्न देऊ । वायु समान गतिमान् हुन देऊ । अगरबत्ती जस्तै सुगन्ध फैलाउन देऊ । ज्ञान सागरकी बुलबुल बनाऊ ।
नारीलाई पीँजडाका पन्छीजस्तै बन्दी बनाउने मापदण्ड होइन स्वतन्त्र पन्छी बनेर उन्मुक्त गगनको उचाइमा छुन देऊ । यस्तै सुअवसर दिएर पुरुषले शानसँग मनुजस्तै भन्न सक्नेछन् ‘यत्र नार्यस्तु पूज्यन्ते–रमन्ते तत्र देवताः’ अर्थात् जहाँ नारी पुजनीया–वन्दनीया–सम्माननीया हुिन्छन्, त्यहीँ देवता रमण गर्छन् । अन्य देशको जस्तै भारतवर्ष भोगभूमि होइन देवभूमि हो । मर्यादाको कारणले नै यहाँ घर–घरमा देवी–देवताहरुको पूजा हुन्छ । महाकाल निराकार शिव अब स्वयम् शक्तिस्वरुपाको साथी–सारथी एवम् शिक्षक–रक्षक र पथप्रदर्शक बनेर यस धरतीमा अवतरण गरिसक्नुभएकोछ । अब नारीलाई तिरस्कार गर्नेहरु स्वतः पराजित भएर जानेछन् ।
लेखक ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङका प्रवक्ता हुन् ।