लीलाधर वली
घोराही, १३ फागुन । चित्रकार मिठ्ठु थारूको चित्रकला तथा मूर्तिकलामोह लोभलाग्दो छ । ३४ वर्षीय मिठ्ठुले हिडडुल गर्दा कुनै अवस्था अथवा दृश्यले छोयो भने त्यसलाई दुरुस्त चित्रमा उतारिदिनु हुन्छ । उहाँमा भएको त्यही कलाको खुवीले चित्रकला तथा मूर्तिकलामा लागेको छोटो समयमै सयौँ चित्र तथा मूर्तिहरू बनाउनुका साथै रहरमा सिकेको सिपबाट राम्रो आम्दानी लिने गर्दै आउनुभएको छ ।
थारू कला, संस्कृति र जीवनशैलीमा आधारित चित्र तथा मूर्तिकलामा विशेष दख्खल राख्ने कैलाली जिल्ला जानकी नगरपालिका–३ भगतपुर निवासी मिठ्ठु पश्चिम तराईका जिल्लामा लोकप्रिय चित्रकारका रूपमा चिनिनु हुन्छ । घरको कमजोर आर्थिक अवस्थाका कारण १२÷१३ वर्षको उमेरमा भक्तपुरमा साहुको घरमा कामदारका रूपमा बसेर अध्ययन गर्नुभएका उहाँले चित्र तथा मूर्तिकला सम्वन्धी धेरै ज्ञान त्यही सिकेको बताउनुहुन्छ ।
सानैदेखि चित्रकलामा रुचि राख्ने मिठ्ठुलाई सुरुमा घरपरिवार र आफन्तको साथ भने भएन । जसले गर्दा २०६४ मा एलएलसी पास भएपछि उहाँ चित्रकलासम्बन्धी अध्ययन गर्न चाहेपनि कमर्श पढ्न थाल्नुभयो । दुई वर्ष कमर्श अध्ययन गरेपनि १२ पास गर्न सक्नुभएन । पटक–पटक व्याक विषयको जाँच दिएपनि नकटेपछि करिब ७ वर्ष पढाई छुट्न पुग्यो । त्यो खाली समयमा उहाँले चित्रकलामा ध्यान दिनुभयो । घरको काम सकेपछि साँझ–बिहान फुर्सदको समयमा चित्र बनाउनेदेखि केही नयाँ सिक्नका लागि घरनजिकै रहेको आर्ट ग्यालरीमा पुग्ने गरेको बताउनुहुन्छ । त्यहाँ अरूले बनाएका चित्रहरू हेर्ने र घरमा आएर आफुले पनि चित्रहरू बनाउने गरेको बताउनुहुन्छ ।
तर घरमा चित्र बनाउनका लागि न भने जस्तोे कलर हुन्थ्यो न राम्रो कागज । त्यसैले गर्दा खाली कागजमा पेन्सिलले स्केच कोरेर कतिपटक भाँडा माझ्ने निलो तथा हरियो रँगका सावुनलाई भिजाएर चित्रहरूमा रँग भर्ने गरेको बताउनुहुन्छ । एक दिन ती आफैले बनाएका चित्रहरू भक्तपुरकै एउटा ग्यालरीमा विक्री भएपछि थप हौसल्ला बढेको उहाँ बताउनुहुन्छ । उहाँले बनाएका तीन वटा चित्रहरु पहिलो पटक हिमाली दृष्यको ठुलो चित्र चार हजार र साना चित्रहरू दुई–दुई हजार रूपैयाँमा विक्रि भएका थिए ।
‘चित्रकला बनाउने गरेपनि कतै देखाउने अवसर पाएको थिएन । ग्यालरीमा चित्रहरु बनाउने र किनबेच हुने गरेको देखेको थिए’, उहाँले भन्नुभयो,‘त्यही कारण मैले बनाएका चित्रहरु त्यहाँ लगेर देखाए । मालिकलाई मन परेछ चित्रहरु किनिदिनुभयो ।’ पहिलो पटक विक्री भएका चित्रहरूले उनलाई कमाई मात्रै दिएनन्, चित्रकला अध्ययनसँगै अघि बढ्नका लागि थप हौसला दिने काम गरेको बताउनुहुन्छ । त्यसपछि चित्रकला अध्ययनका लागि विजेश्वरी फाइन आर्टमा कक्षा ११ र १२ पढ्नुभयोे । त्यहाँ चित्रकलासँगै मूर्तिकलासम्बन्धी ज्ञान सिकेको उहाँको भनाई छ ।

पढाईका क्रममा उहाँमा भएको चित्रकला तथा मूर्तिकला सम्वन्धी सिपलाई गुरुहरू अनिल महर्जन र रविन महर्जनले चित्रकला र पूर्णकाजी शाक्यले मूर्तिकलासम्बन्धी धेरै सिकाउनुभयो । त्यही सिपका कारण पछिल्लो समय विभिन्न ठाउँहरुमा चित्र तथा मूर्तिहरु बनाउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार लुम्बिनी तथा सुदुरपश्चिमका विभिन्न जिल्लाहरूका पार्क, होमस्टे,मन्दिर,दरवार,ठुला होटेलहरूलगायतका विभिन्न पर्यटकिय ठाउँहरुमा चित्र तथा मूर्ति बनाउँदै आउनुभएको छ ।
चित्रकला सम्वन्धी नेपाल ललितकला क्याम्पसमा स्नातक तह अध्ययन गरिरहनुभएका मिठ्ठु आफुलाई मन लागेको विषय अध्ययन गरे सफल भइने बताउनुहुन्छ । ‘मलाई पढ्न मन चित्रकला थियो तर सुरुमा कमर्श विषयमा प्लस टु पढे पास गर्न सकिनँ’, उहाँले भन्नुभयो, ‘तर पछि चित्रकला पढ्न थाले, त्यहाँ फेल नै नभएर स्नातक तहको अन्तिम तयारीमा छु ।’ नवयुग आर्ट स्टिडियो कैलालीमा खोल्नुभएका उहाँले पढाइसँगै व्यवसायीक रुपमा चित्रकला तथा मुर्तिकलामा अघि बढ्नुभएको छ ।

चित्र तथा मूर्तीहरु बनाउनका लागि विभिन्न ठाउँबाट मागसँगै पैसा समेत कमाउन थालेपछि घरपरिवार पनि अहिले सन्तुष्ट रहेको उहाँ बताउनुहन्छ । ‘सुरुमा घरपरिवारबाटै यस्तो काम गर्नुहुन्न । चित्रकलामा भविष्य छैन भन्नुहन्थ्यो’, विगत सम्झदै उहाँले भन्नुभयो, ‘अहिले चित्रहरु बनाउनका लागि देशका विभिन्न ठाउँबाट बोलाउँदा खुशी हुनुहन्छ ।’ चित्रकला तथा मूर्तिकलामा आर्थिक आम्दानीसँगै रमाइरहनुभएका मिठ्ठुले चखौरामा दंगीशरण राजाको मूर्ति पहिलो पटक आफुले बनाएको बताउनुहुन्छ ।
‘दंगीशरण राजाको चर्चा सुनेको थिएँ तर कतै फोटो समेत रहेनछ । मलाई चखौरामा उहाँको मूर्ति बनाउने अवसर प्राप्त भयो’, उहाँले भन्नुभयो्, ‘तर उहाँको मूर्ति बनाउनका लागि हेर्ने एउटा फोटो पनि थिएन । त्यसैले थारु समुदायका अग्रजहरूको कुरा सुनेर दंगीशरण राजाको जीवनशैली बारेमा अध्ययन गरेर मूर्ति बनाएको हुँ । पछि धेरै मन पराइदिनुभयो ।’

उहाँले २०७३ सालमा तत्कालिन थारू राजा दंगीशरणको मूर्तिसँगै संग्रालयमा चित्रहरुसँगै अन्य मूर्तिहरु समेत बनाउनुभएको छ । चाखैरासँगै मुख्य रुपमा पाल्पाको रानी महल दरबार, बाँकेको गाभर होमस्टे, बर्दिया बर्काभौँरा र बाँसगडीचोक र कैलालीको थापापुरलगायतका विभिन्न ठाउँमा २ सय ५० बढी चित्र तथा करिब एक सयको हाराहारीमा मूर्तिहरू निर्माण गरिसक्नुभएको छ ।