गोरक्ष समाचारदाता
दाङ,११ फागुन । जिल्लामा महिलाहरूलाई जुत्ता बनाउने तालिम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा महिलाहरूलाई छालाजन्य वस्तु उत्पादन तथा वजारीकरण प्रविधि सहयोगसम्बन्धी ४५ दिने तालिम प्रदान गरिएको छ ।
महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत यस प्रकारको तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विक्रम केसीले जानकारी दिएका छन् । सीपको सदुपयोग गरेर अगाडि बढेमा महिलाहरूलाई आर्थिक आय आर्जनमा सहयोग पुग्ने उनको भनाइ रहेको छ । तालिम लिएका महिलाहरूलाई उत्पादनमा जोडिन समेत उनले आग्रह गरे । ‘तालिम लिएर मात्र हुँदैन, सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सक्नुहोस्’, अधिकृत केसीले भने । तालिम लिएका महिलाहरूलाई उद्यमशीलतामा जोडिन सहयोग पुगोस् भनेर प्रविधि सहयोग गरेको कार्यालयका उद्योग अधिकृत मिनराज पाण्डेले बताए ।
प्रविधिमा सरकारको ८० प्रतिशत र व्यक्तिको २० प्रतिशत लगानी रहेको उनको भनाइ छ । ‘प्रविधि भएमा तालिम लिएकाहरूलाई उद्यमशीलतामा जोडिन सहज हुनेछ’, अधिकृत पाण्डेले भने । महिलाहरू आफैले केही गर्नुपर्दछ भनेर अगाडि बढ्न समेत उनले आग्रह गरे । ‘अरूमा परनिर्भरता हुनु हुँदैन, आफैले केही गर्नुपर्दछ भन्ने विश्वासका साथ अगाडि बढ्न सक्नुपर्दछ’, पाण्डेले भने । उद्यमी बन्नका लागि राज्यले अवसर दिएको भन्दै यसको सही सदुपयोग गर्नुपर्ने उनले बताए ।
तालिमले आफूहरूलाई केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाएको तालिममा सहभागी सविता चौधरीले बताइन् । ‘अहिले जुत्ता बनाउनसक्ने भएका छौँ, यसलाई कसरी गुणस्तरीय र आकर्षक बनाउन सकिन्छ भनेर अगाडि बढ्ने छौँ’, चौधरीले भनिन् । काम गर्दा केही दुःख भए पनि आफू निरन्तर रूपमा अगाडि बढ्ने उनको भनाइ रहेको छ । ‘सिकेको सीपको सदुपयोग गरेर आफनो खुट्टामा उभिनसक्ने हुनेछौँ’, चौधरीले भनिन् ।
सिकेको सीप खेर जान नदिनका लागि आफूहरू लागिपर्ने समेत उनले बताइन् । आउँदा दिनमा आफूहरूलाई एडभान्स तालिम प्रदान गर्न समेत कार्यालयसँग उनले माग गरिन् । जसले आफूहरूलाई थप सहयोग मिल्ने उनको भनाइ रहेको छ । तालिमले आफूहरूलाई उद्यमी बनाउन सहयोग पु¥याएको सुन्तली बुढाले बताइन् । ‘महिलाहरू घरमा मात्र सीमित नभइ उद्यमी बन्न आवश्यक छ’, बुढाले भनिन् । सीप नहुँदा खाली बस्नुपर्ने बाध्यता अब हटेको उनको भनाइ छ । ‘अब हामीले प्राप्त गरेको प्रविधिको सदुपयोग हुनेछ’, बुढाले भनिन् । तालिममा १४ जना महिलाहरूको सहभागिता रहेको थियो ।
४५ दिनसम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा पदम पुन मगर रहेका थिए । एक कार्यक्रमको सहयोजना गरेर मंगलवार तालिमको समापन गरिएको छ । समापन कार्यक्रममा तालिमका सहभागीहरूलाई प्रमाणपत्र तथा प्रविधिहरू हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहभागीले घरेलु कार्यालयले आफूहरूलाई सीप सिक्ने अवसर दिएको र सिकेको सीपलाई सदुपयोग गरेर अगाडि बढ्ने बताएका थिए ।