फोरलेन सडक निर्माणमा ढिलाईप्रति संसाद गिरीको आपत्ति

गोरक्ष समाचारदाता
तुलसीपुर, ११ फागुन । नेपाली कांग्रेसका सांसद दीपक गिरीले लमही–घारोही–तुलसीपुर सडक खण्डको निर्माण कार्यमा ढिलाइ भएकोमा आपत्ति जनाएका छन् । चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडक खण्डमा दुर्घटनामा परी करिब २२ जनाले ज्यान गुमाउँदा पनि त्यसको निर्माण कार्य सम्पन्न गर्न सरकारले चासो नदिएकोमा नेता गिरीको आपत्ति थियो ।

‘दाङमा ३० महिनामा बन्नुपर्ने बाटो आज चार वर्ष हुँदा पनि नबनेका कारणले यो चार वर्षको समयमा करिब २२ जनाको मृत्यु भइसकेका छन् । यस्तो डरलाग्दो अवस्था छ बाटोको । वर्षामा हिलाम्मे हुने, हिउँदमा धुलो उडने तर सरकारी निकाय अथवा सडक विभाग अथवा नेपाल सरकार किन मौन छ ? के कारणले हो ढिला भएको ? यसको बारेमा सभामुखमार्फत् यो गरिमामय सदनलाई जानकारी गराउनु प¥यो । यस्ता कुराहरू उठिरहन्छन् ।

त्यो बाटो किन आजसम्म बनिरहेका छैन ।’ बुधवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले सो सडकखण्डको निर्माण कार्य ढिलाइ हुनुको कारणबारे संसद्लाई जानकारी गराउन पनि सरकारसँग माग गरेका हुन् । सांसद गिरीले ३० महिनामा सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको सो सडक खण्डको निर्माण कार्य तीन पटक म्याद थप गर्दा पनि ९ दशमलव ९ प्रतिशत मात्रै निर्माणको काम भएको उल्लेख गर्दै यस्तो लाजको मर्दो अवस्था आउन नदिन नेपाल सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने पनि बताएका थिए ।

‘अहिले सुन्दैछु–त्यो आयोजना रद्द हुँदैछ अनि त्यसपछि के हुने ? यसबारे नेपाल सरकारले वास्तविक कुरा भन्नुप¥यो । यहाँ शून्य समयमा धेरै कुराहरू राखिन्छ तर त्यसको बारेमा केही जवाफ आउँछ ? माननीय सदस्यहरूले आफ्ना गम्भीर कुराहरू प्रस्तुत गर्नुहुन्छ तर त्यसको उचित जवाफ कहिल्यै नआएको महसुस हामीले गरेका छौँ’, सांसद गिरीले भनेका थिए, ‘तसर्थ त्यो लमही–घारोही–तुलसीपुर सडकको चारलेन बाटो तीन पटक म्याद थपेर पनि त्यो ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको छ । त्यसको बारेमा नेपाल सरकार अथवा सडक विभागले यसको जवाफ दिनुपर्छ भनेर माग गर्दछु ।’

सांसद गिरीले सरकारले सांसदहरूले संसदको विशेष समय र शून्य समयमा उठाएर प्रश्नको उचित जवाफ हालसम्म नदिएको भन्दै दुखेसो समेत व्यक्त गरेका थिए । सांसद गिरीले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि पटक–पटक आग्रह गरेका थिए ।