प्रदेश स्तरीय प्रदर्शनी : बेसार, गुन्द्रुक र ढकियादेखि अल्लोसम्म

आरके शीतल
दाङ, ११ फागुन । घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनीमा स्थानीय लघु तथा घरेलु उद्योगबाट उत्पादित वस्तु र कृषि क्षेत्रमा उत्पादित वस्तुहरू राखिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन ३ गतेदेखि जारी प्रदर्शनीमा दाङलगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका लघु तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरू राखिएको हो । ती सामग्रीका व्यापार समेत राम्रो भएको छ । प्रदर्शनीमा साना तथा घरेलु उद्योगहरू स्थापना, उत्पादन र बजारीकणका बारेमा सचेतनामूलक पर्चा, पम्प्लेटहरू पनि प्रदान गरिएको छ । आयोजकले निःशुल्क रूपमा प्रदान गरेको सय बढी स्टलहरूमा धार्मिक, पर्यटकीय, कृषि, लघु तथा घरेलु उद्योगले उत्पादनका सामग्री राखिएको छ ।

स्टल नम्बर ६ मा सहारा दुना–टपरी घोराहीले पातबाट बनेको वातावरणमैत्री दुना, टपरी छ भने ७ वटा स्टलमा अल्लोका सामग्रीहरू छन् । स्टल नं. ९८ मा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रद्वारा उत्पादन गरेको घरेलु गुडिया, सर्फहरू राखिएको छ । स्टल नं. ९ मा रेखा दिदीको अँचार छ । गुन्द्रुक, लप्सी, कागती, काँक्रो, अमला, क्यान्डी, मुला अँचार, खुर्सानी अँचार, पिडालु मस्यौरालगायतका सागग्रीहरू छन् ।

यस्तै स्टल नम्बर १०७ मा महिला जागरण कृषक समूह घोराही–१५ ले उत्पादन गरेको भाँगो, गुन्द्रुक, पिडालु, मस्यौरा साथै विविध अँचारहरू पोर्क, वफ, चिकेन, सिद्रा, झिँगेमाछा, गुन्द्रुक, अमला, मुला, खुर्सानी, च्याउ, तिल, अमला एवम् मिक्स अँचार राखिएको छ भने स्टल न. ११२ मा अर्गानिक कृषि उपज तथा प्रशोधन केन्द्र घोराहीले उत्पादन गरेको अँचार, कागती, खुर्सानी, लसुन, करेला, अमारो, गोभी, मुला, काँक्रो कृषि बिउबिजन राखिएको छ । स्टल नं. १६७ र १६८ मा लकासी अँचार उद्योग रूपन्देहीको आँप, राजा च्याउ, मेथी, अकबरे खुर्सानी, मेथी, लसुन, लप्सी, टिमुर, मुला, तामा, अदुवा, कटहरको अँचार र मिक्स अचार छन् ।

प्रदर्शनीमा दाङको पहिचान रहेको अल्लोको सामग्रीहरू पनि राखिएको छ । अल्लोको सामग्रीहरू रहेको ७ वटा स्टलहरू छन् । स्टल नम्बर १०३ मा राष्ट्रिय अल्लो उद्यमी संघ, १०४ मा विश्वासिलो अल्लो तथा कपडा उद्योग, स्टल न. १०५ र १०६ मा युनिक दिदीबहिनी अल्लो उद्योग घोराही र स्टल नं. १०८, १०९ र ११० मा प्रेम निश अल्लो उद्योग, शुभ सौगात दाङ कोशेली घर र चिनारी महिला साझेदारी अल्लो उद्योग घोराही दाङको अल्लोबाट बनेका कपडा, जुत्ता, ब्याग, क्याप, टोपी, जुत्ता, ब्याग, कोट, जुहारीकोट, पर्स, किरिंगलगायतका सामग्रीहरू राखिएको छ ।

स्टल नं. ९४ मा पाल्पाली ढाका उद्योगले ढाका टोपी, ब्याग, पछ्यौरी, सल, साडीहरू राखिएको छ । स्टल नं. ७ मा एकता महिला विकास बहुउद्देश्यीय सहकारी फुर्सेखालीले उत्पादन गरेको धुलो बेसार छ । प्रदर्शनीमा घोराही उप–महानगरपालिका पर्यटन तथा सांस्कृतिक प्रबद्र्धन शाखाले स्टल न. ४ मा दाङको पर्यटन क्षेत्रको जानकारी तथा ब्रोसर राखेको छ भने स्टल न. ३ मा गोरक्ष रत्ननाथ पात्र देवता चौघेराले धार्मिक पुस्तक, फोटोहरू, गोरखनाथसम्बन्धी पूर्ण जानकारी सहितका सामग्रीहरू राखिएको छ ।

स्टल नं. ८ मा अम्बिकेश्वरी माहुरी पालन सहकारीद्वारा उत्पादन गरिएको कार्तिके मह, चिउरी मह, तोरीको मह, भिरेमौरीको महका साथै मौरी, मौरीपालनसम्बन्धी जानकारी र मौरीपालनका लागि सामग्रीहरू राखिएको छ । गैरागाउँ क्वाडी कृषि समूहद्वारा उत्पादन गरिएका फूलगोबी, बन्दागोबी, मुला, रायो साग, फर्सी, ब्रो–काउली, टमाटर अवलोकनका लागि राखिएको छ भने बिउविजनसम्बन्धी जानकारीमूलक फ्लेक्सहरू राखिएको छ । स्टल नं. १४ मा लगनशील मुञ्ज सामग्री उत्पादन सेण्टर सिसहनिया घरेलु हाते शिल्पकलाद्वारा उत्पादित ढकिया, बिन्ठी, चटाई, चकटीहरू राखिएको छ । स्टल नं. १३ मा कृथु टेक्निकल कलेजले माटो परीक्षण, नर्सरी तथा फलफूल उत्पादन परामर्श केन्द्र राखेको छ ।

स्टल नं. २७ मा शोभा इण्टर लकिङ इट्टा उद्योग घोराही–१५ को इन्टर लकिङ इट्टाहरू राखिएको छ । स्टल नं. २८ र २९ मा निजी नन्दी कृषि औजार संघ घोराहीले उत्पादन गरेको कुटो, कोदालो, आँसी, खुर्पा, गराँसी, चुलेसी, चिम्टा, कराई, तावा राखेको छ भने अर्गानिक वल्र्ड ग्रुप प्रालि काठमाडौंले उत्पादन गरेको अर्गानिक चिया–कफी, सौन्दर्य, अर्गानिक मल, एलोप्याथी औषधीहरू राखेको छ । स्टल नं. ९३ स्वप्न होजियारी उद्योग घोराही–१५ स्वेटर, जुत्ता राखिएको छ ।

स्टल नं. १०२ मा राप्ती सल्यानी खुकुरी तथा औजार उद्योगले उत्पादन गरेको खुकुरी, चुलेसी, हँसिया, चक्कु राखिएको छ भने स्टल नं. १११ मा आचार्य फुड इन्डस्ट्रिज घोराहीले भाँगो, तरकारी÷मासु मसला, बेसार, कालो चामल, मरिचको धुलो, चिया मसला, जिरा धनिया, तिल्की चामल, मकैको आटो राखेको छ । यस्तै स्टल नं. ११४ मा भूमि इन्डस्ट्रीले उत्पादन गरेको सर्फ, साबुन, हार्पिक राखिएको स्टल व्यवस्थापन उपसमितिका संयोजक सीता मल्लले जानकारी दिएकी छन् ।

स्थानीय उद्योग एवम् उत्पादनलाई प्राथमिकता दिएर निःशुल्क रूपमा स्टलहरू प्रदान गरिएको आयोजक मूल समितिले जनाएको छ । उद्योगी एवम् कृषकहरूले उत्साहका साथ स्टलहरू सञ्चालन गरेको आयोजक मूलसमितिका संयोजक प्रदीप मजगैयाँले बताए । ‘हामीले स्थानीय उद्योग एवम् उत्पादनको बजारीकणका लागि टेवा पुगोस् भन्ने उद्देश्यकाले यो प्रदर्शनीको आयोजना गरेका हाँै’, संयोजक मजगैयाँले भने, ‘स्थानीय उद्योगी, कृषकहरूलाई निःशुल्क रूपमा स्टल उपलब्ध गराएका छौँ । उहाँहरूको उत्साहजनक उपस्थिति छ । यसले स्थानीय उत्पादनको बजारीकणमा सहयोग पुगेको छ ।’