दलीय सर्कीण घेरा भन्दामाथि राष्ट्रपतिको निर्वाचन

भुवन पोख्रेल
राजतन्त्रमा राजाको छोरा राजा हुन्छन् । गणतन्त्रमा सामान्य नागरिकका छोराछोरी हुन्छन् । राष्ट्रपति सम्मानित पद हो । पदको सुरक्षा र मर्यादा दुवै जोगाएर राख्नुपर्छ तर राष्ट्रपतिको सवारी राजाको शैलीमा गराउनु गणतन्त्रमा शोभनीय हुँदैन । राजा आजीवन दरबारको गद्दीमा बस्छन् तर गणतन्त्रमा पाँच वर्ष पूरा भएपछि राष्ट्रपति सडकमा हुन्छन् । यो वास्तविकतालाई स्वीकार गर्दै सरकारले राजतन्त्रको ढाँचामा सवारी बन्द नगरेर जनतालाई भार नपर्ने गरी राष्ट्रपतिको सवारी चलाउन सक्दैन । भिआइपी सवारीका नाममा आम नागरिकले दुःख, सास्ती पाउनु हुँदैन ।

डा. जनितलाल जस्ताले सवारीमा हिडेको निहूँमा प्रहरीको प्रहारले टाउको फुटाउनु प¥यो । त्यही सवारीमा बाटो भएर हस्पिटल जान लागेका दुर्घटनामा परेका घाइते र सुत्केरीको पीडाको चित्कार कसले सुनिदिने हो ? जनितलालजस्ता सवारीमा दुःख पाउने हजारौं हुन्छन् । सरकारले तिनको वास्ता नै गर्दैन । मन्त्रीहरुलाई रातो बत्तीमा पनि पेलेर जाने छुट छ, उनीहरु कानुनभन्दा माथि छन् । राष्ट्रपतिको सुरक्षित सवारी गराइनुपर्छ तर जनताको आवागमन निषेध गरेर होइन । सवारीले जनताको आवागमनको स्वतन्त्रताको हकलाई रोक्न मिल्दैन । जनताको मौलिक हक र मानव अधिकारको सरकारले हनन् गर्न मिल्दैन ।

जनितलाल पेसाले डक्टर हुन, उनी उपद्रो मच्याउने वा आतंककारी होइनन्, उनले आफ्नो परिचय दिँदादिँदै उनीमाथि डन्डा बर्साउने सरकारको प्रवृत्तिले उनको यातना विरुद्दको हक र सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको अपहरण भएको छ । अस्पतालको ड्यूटी सकिएपछि घर जान पेटीमा साइकल गुडाएर हिड्दै थिए । राष्ट्रपतिको सवारीमा शान्तिपूर्वक हिड्नु के उनको अपराध थियो त ? डन्डा बर्साउने प्रहरी दोषी होइनन्, बरु तामझामको सवारी चलाउने परम्परा र प्रवृत्ति दोषी हो ।

गणतन्त्र स्थापनापछि पनि राष्ट्रपतिको सवारी राजतन्त्रकालमा राजाको सवारी शैलीमा गराइनु समस्या हो । भिआइपी सवारीका नाममा जनतालाई सुरक्षा निकायले घण्टौँ उभिन आदेश दिनु स्वतन्त्रता अपहरण हो । जनतालाई आवतजावत गर्ने स्वतन्त्रता छ । जनतालाई एक मिनेट पनि सरकारले रोक्न पाउँदैन । डा. जनिलालको घटना नदोहोरिन राष्ट्रपतिको सवारी राजाको शैलीमा गराउनु भएन ।

सम्मान सत्कार, मान, मर्यादा भन्ने कुरा भित्रिमनबाट उत्पन्न हुने हो, तामझामबाट होइन । सर्वसाधरण जनताको राष्ट्रपति बन्नलाई जनस्तरबाटै सम्मान र जनास्था हुनुपर्छ । वर्तमान राष्ट्रपतिमा यस्तो गुण देखिएन । गणतन्त्रमा राष्ट्रपतिलाई जनतालाको स्तरबाट सम्मान भएन भने गणतन्त्रलाई नै असर पर्ने हो कि भन्ने डरले सरकारले राष्ट्रपतिको सवारी राजकीय शैलीमा गराउँछ तर सरकारलाई यति ख्याल रहोस् कि करोडौँका मोटर, हेलिप्याड सहितको शीतलनिवासले सर्वसाधारणको दिलमा बस्ने राष्ट्रपति बनिँदैन ।

यस्ता तामझामले राष्ट्रपति मात्र बनिन्छ तर जनको मनको राष्ट्रपति बन्न सकिँदैन । तामझामले होइन, कार्यसम्पादन र निष्पक्षताका कारण जनताको राष्ट्रपति बनिन्छ । अब नयाँ राष्ट्रपति चुन्ने बेला आएको छ । यो पूर्वसन्ध्यामा सन्त, लोभ, लालच नभएको, दल र पार्टीप्रति कुनै झुकाव नदेखाउने जनाताको राष्ट्रपति चुनौँ अनि त्यस्तो महान व्यक्तिले जनतालाई दुःख दिने तामझाम बन्द गरौँ भनी आफै भन्नेछन् । जो आफ्नो कार्यसम्पादन र व्यवहारले जनताको राष्ट्रपति बन्न सकून् । नेपाली राष्ट्रपतिको छनोटमा विदेशी चलखेल भयो भने जनताले चाहेको राष्ट्रपति पाउने छैनन् ।

नेपाली प्रथम महिला राष्ट्रपति राजनीतिक पृष्ठभूमिबाट हुर्केर आएकी हुनाले आफ्नो निष्पक्ष र स्वच्छ छवि बनाउनतिर भन्दा विवादमा उल्झेर वा बल्झेर दुई कार्यकाल समाप्त भए । सार्वजनिक क्षेत्रमा महिलाको प्रतिनिधित्व कम हुने हाम्रो मूलुकमा महिला राष्ट्रपति हुनु गर्वकै विषय हो तर त्यो गरिमा, मर्यादा र महिमालाई जीवन्त तुल्याउन नसक्दा समाज निराशामय र आक्रोशित पनि देखियो । अनुशासित, निःस्वार्थी, संविधानवाद र कानुनी शासन मान्ने राष्ट्रपति चुनिनु नेपाल र नेपालीको आवश्यकता हो ।

राष्ट्रपतिजस्तो गरिमामय पदलाई राजनैतिक दलको दलीय भागबण्डा जस्तो संकीर्ण घेराभित्र सीमित गरिनु हुदँैन । राष्ट्रपति दलले तेरो र मेरो भन्नु भन्दा हाम्रो बन्नुपर्छ । संविधान उल्लङ्घन गर्ने राष्ट्रपतिको कदमदेखि नेपाली जनता आजीत बन्न पुगेका छन् । एकपटक मात्र होइन, पटक–पटक संविधान मिच्ने कदम चाल्दा समेत देश र जनता मूकदर्शक बन्न विवश भए ।

राष्ट्रपति जस्तो गरिमामय पद विवादित र कलंकित बन्नु हँुदैन । अझै पनि गणतान्त्रिक मुलुकका राष्ट्रपति महाराज र महारानी बन्ने सोचमा हुनुहुन्छ भने ख्याल गर्नुहोस ‘अझै महारानी बन्ने सोचमा हुनुहुन्छ’ भन्ने एक प्रश्नको जवाफमा बेलायतकी डायनाले चाहन्छु तर बेलायतको होइन, बेलायती जनताको मन र दिलकी महारानी भनेकी थिइन् । नेपालमा त्यस्तै राष्ट्रपति चाहिएको छ, जो आफ्नो कार्यसम्पादन र व्यवहारले नेपाल र नेपालीको राष्ट्रपति बनोस् ।

राष्ट्रपतिको सवारीमा आतंकित भन्दा स्वागतयोग्य वातावरण सिर्जना गर्न सक्नुपर्छ । अब सबैको ध्यान राष्ट्रपति पदका, उपराष्ट्रपति पदको चयनतर्फ केन्द्रित छ । ती पदहरुले निर्वाह गनुपर्ने भूमिका दलीय प्रभावबाट मुक्त हुनुपर्ने प्रवधान छ । सोको पालनाका लागि आबद्ध दलबाट राजीनामा दिने औपचारिकता पनि पूरा गरिँदै आइएको छ तर व्यवहारमा भने त्यसको निष्ठापूर्ण पालना हुन नसकेका यथेष्ट कटु अनुभव सबैले व्यहोरेकै छौँ ।

त्यसैले दलीय आबद्धताको मुकुण्डो छोप्न दल त्यागेको नाटक गर्नेलाई होइन कि दलमा आबद्ध नै रहे पनि योग्य र सक्षम तथा दलको दायराभन्दा माथि उठेर निष्ठाच्यूत नभएको पुष्टि हुने पात्र उपलब्ध भएमा निजबारे सहमति गर्न जायज हुनेछ । कथम यसो हुन नसकेमा आफ्नो दलको भन्दैमा कठपुतली राष्ट्रपति चयनको मोह पाल्नु कदापि युक्तिसंगत देखिँदैन ।

त्यसैले विरलै सिर्जना हुने यस्तो विशेष परिस्थितिमा दलहरुले मात्र नभइ अधिकांश नागरिकले पनि भरोसा गर्नसक्ने योग्य, सक्षम, निष्ठावान् र देशले गर्व गर्नलायक उपयुक्त गैरराजनीतिक पात्रलाई परीक्षणकै रुपमा भए पनि एक पटकका लागि अवसर दिन हिच्किचाउनुको तुक देखिँदैन । अन्यथा आफ्नो दलको पात्र नै राष्ट्रपति हुनैपर्ने अड्डी कस्नुको पछाडि उक्त पदबाट आफ्नो दलले अनुचित फाइदा लिन सकिन्छ कि भन्ने अभिष्ट बाहेक के हुनसक्छ ?

नेपालको राजनीतिक प्रणाली अनुसार राष्ट्रपतिको भूमिका आलंकारिक रहे तापनि नेपालको राष्ट्रिय एकताको प्रबद्र्धन गर्ने, संविधानको पालना गर्ने र संरक्षण गर्नु राष्ट्रपतिको मुख्य कर्तव्य हुनेछ भनि नेपालको संविधानको धारा ६१ को (३) र (४) मा उल्लेख छ । अभिभावकको कर्तव्य अन्य दायित्वमा रहेका नागरिकभन्दा प्रथम र अहम हुन्छ । देश र जनताप्रति उत्तरदायी मात्र नभइ राष्ट्रपति पदमा विराजमान हुने पात्र आफैमा एउटा अभूतपूर्व सन्देश हुनुपर्छ । हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक, राजनीतिक प्रणालीको अभ्यास र संविधानको कार्यान्वयनको प्रक्रियामा छौँ । यस्तो अवस्थामा राष्ट्रपतिको भूमिका थप मजबुद् बनाउनुपर्छ ।

राजनीतिक दल र राज्यका अङ्गबीच शक्ति सन्तुलन कायम राख्नलाई राष्ट्रपतिको अभिभावकत्व अपरिहार्य हुन्छ । अभिभावक समेत दलगत स्वार्थबाट प्रभावित हुन थाल्यो भने राष्ट्रिय स्वार्थ र मुलुकको सार्वभौमिकता समेत संकटमा पर्दछ । राष्ट्र प्रमुखको भूमिकाले राष्ट्रको कूटनीतिक मर्यादालाई थप मजबुद् र फराकिलो बनाउन मद्दत पु¥याउने हनुपर्छ तर गणतन्त्र स्थापना पछिको कालखण्डका दुवै राष्ट्रपतिको उक्त क्षेत्रमा योगदान औषतभन्दा कम नै रहेको पाइन्छ ।

राष्ट्रपतिले विभिन्न अभियानको नेतृत्व गर्दै राष्ट्रमा विदेशी अनुदान भिœयाउने सौम्य शक्तिको प्रतिविम्बित हुनुको साथै लगानीमैत्री वातावरण निर्माणमा ठूलो योगदान पु¥याउनु पर्छ । देशमा प्राकृतिक प्रकोप वा अन्य कुनै आप्रिय घटना भइरहँदा केवल प्रेस विज्ञप्ति निकालेर कर्मकाण्डी बन्ने मात्र होइन स्वयम् आफै पहल कदम लिइ सरकारका तत् निकायलाई कडा निर्देशन र अभिभावकत्व प्रदान गर्नुपर्छ । त्यसैले समस्त राजनीतिक परिस्थिति, देश र जनाताको सामूहिक मुद्दाको सामा प्रतिनिधित्व हुनुपर्छ, राष्ट्र अध्यक्षमा ।

राष्ट्रपति दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हुनुपर्छ । हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने साझा भाव राष्ट्रपतिमा हुनुपर्छ । मुलुक शोकमा डुब्दा जनता पीडामा हँुदा राष्ट्रपतिलाई दुख्नुपर्छ । राष्ट्रपति नेपाली सेनाको परमाधिपति हो, कसैको कठपुतली हुने संविधानमा परिकल्पनासम्म पनि गरिएको छैन । राष्ट्रपति कुनै दल विशेषको नभइ सिङ्गो देश र जनताको अभिभावक र राष्ट्रिय एकताको प्रतीक हन्छ । राष्ट्रपति पनि सपथ लिएपछि एउटा व्यक्ति होइन ऊ जीवन्त संस्थाका रुपमा रुपान्तरण हुन्छ । राष्ट्रपतिलाई सेरेमोनियल, औँठाछाप, रबर स्टयाम्पमा, कठपुतली भनेर अवमूल्यन गर्न कदापी मिल्दैन । संविधानले जे भनेको छ त्यही हो राष्ट्रपति ।

नेपालको राजनीतिसँग विरलै कोही सन्तुष्ट देखिन्छन् । यहाँसम्म कि अमुक व्यक्तिसँग २÷४ वाक्य आदानप्रदान गर्नासाथ राजनीति तर्फको विष वमन भइहाल्छ । फागुन २५ गतेका लागि निर्धारित राष्ट्रपति पदका लागि पहिलो र दोस्रो दल प्रवल दाबेदार छन् । राष्ट्रपति जसले पनि दाबी गर्नु हुँदैन, माछा बजारको व्यापार होइन, यो त गरिमामय पद हो । यो पदमा चयनपश्चात् त्यो पद निर्वाह गर्नुपर्ने भूमिका दलीय प्रभावबाट मुक्त हुनुपर्ने प्रावधन छ । राष्ट्रपति हुने क्षमता, विशेषताको व्यक्तित्व छनोट हुनुपर्छ । राष्ट्रपतिमा नाम चर्चामा आएका पात्रहरु स्वच्छ छविका हुनुपर्छ, दलीय आग्रह र पूर्वाग्रहबाट प्रेरितभन्दा पनि राष्ट्रिय आवश्यकता र भूमिकाको आधारमा छनोट हुनुपर्छ ।

दलीय आबद्धताको मुकुण्डो छोप्न दल न्यागेको नाटक गर्नेलाई होइन कि दलमा आबद्ध नै रहे पनि योग्य र सक्षम तथा दलको दायरा भन्दामाथि उठेर निष्ठाच्यूत नभएको पुष्टि हुने पात्र उपलब्ध भएमा निजबारे सहमति गर्न जायज हुनेछ । नागरिकले पनि भरोसा गर्नसक्ने योग्य, सक्षम, निष्ठावान् र देशले गर्व गर्न लायक गैरराजनीतिक पात्रलाई एकपटक अवसर दिनुपर्छ ।

राष्ट्र सत्ताको छिना झप्टीमा छ, सिद्धान्त, नीति र कार्यक्रम ओझेलमा छन् । यसै बीचको अलमलमा छन्, राष्ट्रिय मुद्दाहरु । व्यवस्था परिवर्तन भए पनि जनता र मुलुकको अवस्था परिवर्तन हुन सकेन । राष्ट्रपतिको चुनाव पनि यही भागबण्डामा अल्झेर हँुदैन, राष्ट्रको अभिभावकीय भूमिका निर्वाह गर्ने पदमा सत्तालुछाचुडी गर्नु शोभनीय हुँदैन । राष्ट्रपति पदको गरिमा र महिमा बचाउनकै लागि पनि यस पदमा खसीबजारको झैँ मोलमोललाई शोभनीय हँुदैन ।