गोरक्ष समाचारदाता
तुलसीपुर,१० फागुन । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दाङमा फागुन १२ गतेदेखि सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति दाङले तुलसीपुरमा पत्रकार सम्मेलन गरी फागुन १२ गतेदेखि १४ गतेसम्म तुलसीपुरको बेलझुण्डी स्थित रंगशालामा यो वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार घलेको प्रमुख आतिथ्यतामा सम्मपन्न पत्रकार सम्मेलनमा महिला तथा पुरुष भलिबल, महिला तथा पुरुष कबड्डी, एथ्लेटिक्स, कराँते र तेक्वान्दो गरी पाँच इभेन्टमा खेलहरू खेलाइने बताइएको थियो । यी प्रतियोगिताको लागि फागुन ११ गते कार्यालय समयमा नाम बुझाउनुपर्ने र खेलाडीको जन्मदर्ता अनिवार्य गरिएको समितिले जनाएको छ ।
जिल्ला पदाधिकारीको बैठकले उल्लेखित खेलहरू सम्पन्न गर्नका लागि जिल्ला खेलकुद विकास समितिका सदस्य सन्तोष वलीको संयोजत्वमा भलिबल प्रतियोगिता, कपर्दी खेलको संयोजकमा जिल्ला सदस्य नोखी रावत, एथ्लेटिक्सको संयोजकमा जिल्ला अध्यक्ष राजकुमार पोख्रेल हमाल, कराँतेको संयोजकमा जिल्ला सदस्य अनिल रिजाल, तेक्वान्दोको संयोजकमा शंकर लामिछानेलाई तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि कोषाध्यक्ष ध्रुव आचार्यलाई आर्थिक उपसमितिको संयोजक र रिजाललाई प्रचारप्रसार विभागको उपसंयोजकको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै बैठकले पोखरामा सम्पन्न ९औँ राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिनेभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुमनकुमार घलेले खेल बिना देशको पहिचान र स्थायित्व सम्भव नहुने हुँदा राज्यले खेलकुदलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए ।
उनले देशका युवालाई अनुशासन, गतिशीलता र विकास सिकाउने प्रमुख अध्याय भनेको खेल जगत नै भएको भन्दै नियमित अभ्यासमा लाग्ने खेलाडीले कहिल्यै आत्मानुशासन नभुल्ने तर्क गरे । उनले दुर्वेसनमा फस्दै गरेका युवालाई जोगाउने एक मात्र विकल्प खेलकुद भएको भन्दै सानातिना मतभेदमा नअल्झेर राज्यले खेलकुदको विकासका लागि गुणात्मक बजेको व्यवस्था गर्न जरुरी रहेको बताए ।
खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमाल आन्तरिक स्वार्थ र कुण्ठाभन्दा माथि उठेर खेल क्षेत्रको उन्नयनका लागि सबै खेलप्रेमीलाई हातेमालो गर्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण कोषाध्यक्ष धु्रव आचार्यले गरेका थिए । त्यस्तै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन १९, २० र २१ मा बुटवल, केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २४, २५ र २६ माा काठमाडौंमा हुँदैछ । जिल्लाका १० वटै स्थानीय तहमा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भइसकेका छन् । त्यसबाट छनोट भइ आएका सबै खेलाडीहरूले जिल्लामा भाग लिनेछन् भने जिल्लाबाट छनोट भएकाले प्रदेश र प्रदेशबाट छनोट भएकाले केन्द्रमा प्रतिनिधित्व गर्नेछन् ।
यसैबीच तुलसीपुर नगर स्तरीय अन्तरविद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधि गोरखा मावि तुलसीपुरले जितेको छ । महेन्द्र मावि तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा सञ्चालित प्रतियोगितामा १४ स्वर्ण, २ रजत र १ कास्य पदक जितेर गोरखा मावि तुलसीपुरले उपाधि जितेको हो । त्यस्तै ग्रेट अरनीको मावि तुलसीपुर ६ स्वर्ण, ३ रजत र ६ कास्य पदकका साथ दोस्रो हुँदा गुरुजजुर नमुना मावि रक्षाचौर ४ स्वर्ण, ४ रजत र ६ कास्य पदकका साथ तृतीय भयो । उसले नगद १० हजार हात पा¥यो ।
तीन दिनसम्म सञ्चालित प्रतियोगितामा एथ्लेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डका १३ इभेन्ट्स, भलिबल, कबड्डी, कराँते छात्रा÷छात्रमा कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाका निजी तथा सामुदायिक गरी ३४ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह आयोजक महेन्द्र मावि तुलसीपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज लहरे अरुणको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा विजेता, उपविजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।