इन्द्र डिसी
दाङ, १० फागुन । नेकपा एमालेले ‘ग्रास रूट’ अभियान थालेको छ । गत माघ २६ मा बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयानुसार दाङमा मंगलवारदेखि अभियान सुरुवात गरिएको छ । पार्टी सुदृढीकरण तथा विस्तारमा सहयोग पु¥याउन अभियान थालिएको पार्टीले जनाएको छ । पार्टीलाई टोलसँग जोड्न अभियानले काम गर्नेछ । अभियान जिल्लामा बैशाख ९ गतेसम्म चल्नेछ ।
विशेष गरेर यो अभियानमा पार्टीको टोल कमिटी गठन, पुनर्गठन, सदस्यता नवीकरण, वितरण, जनसंगठन पुनर्गठन, पार्टीको अवस्था र विकास निर्माणकोे पहिचानको काम गरिनेछ । दाङमा जिल्ला स्तरीय अभिमुखीकरण गरेर अभियानको सुरुवात गरिएको छ । अभियानको उद्घाटन नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले गरेका हुन् ।
अभियानमा पार्टीले अन्तर जिल्लाका केन्द्रीय नेताहरू खटाएको छ । केन्द्रीय नेतालाई फरक जिल्लामा खटाउँदा त्यो जिल्लाको पार्टीको वास्तविकता पहिचान गर्न सहज हुने भएकाले त्यो अनुसार जिम्मा दिएको नेताहरूले बताएका छन् । दाङका १० पालिकामा ५ जना केन्द्रीय नेता खटिएका छन् ।
घोराही उपमहानगरपालिकामा पार्टीका पोलिटव्यूरो सदस्य गिरी खटिएका छन् । राप्ती, गढवा र लमही नगरपालिकामा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्य, बंगलाचुली र तुलसीपुर उपमहानगरपालिकामा पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य कुमार दशौदी, बबई र दंगीशरण गाउँपालिकामा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शोभा ज्ञवाली र शान्तिनगर र राजपुर गाउँपालिकामा केन्द्रीय सदस्य दीपा शर्मा खटिएका छन् ।
अभियानमा खटिएका नेताहरूले जनतासँगै बसेर पार्टी सुदृढीकरण र विस्तारका योजना बनाएर काम गर्नेछन् । यसैगरेर पार्टीको प्रदेश कमिटीले पनि अभियानमा सघाउन प्रत्येक पालिकाका प्रदेश कमिटी सदस्यहरूलाई खटाएको छ । नेकपा एमाले दाङले पनि पदाधिकारी र सदस्यहरूलाई अन्तरपालिकाका वडाहरूमा खटाएको छ । दाङमा नेकपा एमालेको सांगठनिक सदस्य १९ हजारभन्दा धेरै छ ।
अभियानको उद्घाटन गर्दै पार्टीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पार्टीलाई जनतासँग जोड्न अभियान महत्वपूर्ण बन्ने बताए । ‘जनताको बीचमा पार्टीको नीति, विचार लैजान र जनताको गुनासो सुन्न यो अभियानले काम गर्नेछ’, नेता गिरीले भने, ‘यसले पार्टी सुदृढीकरण, निर्माण र व्यवस्थित बनेर जानेछ ।’ विगतमा वैचारिकतालाई ध्यान दिए पनि पछिल्लो चरणमा सदस्यता बढाउने काम भएको बताए । ‘लोकतन्त्रमा प्रतिष्पर्धा गर्नुपर्छ । त्यसको लागि सदस्यता बढाउनु राम्रो हो तर क्वालिटीमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ’, उनले भने, ‘त्यसको लागि पार्टीका सदस्यलाई जिम्मेवार बनाउन खाँचो पनि त्यत्तिकै छ ।’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता गिरीले मुुलुकको परिवर्तनमा नेकपा एमालेको ६० प्रतिशत योगदान भएको समेत बताए । ‘मुलुक परिवर्तनमा हाम्रो पार्टीको ६० प्रतिशत योगदान छ तर त्यसलाई हामीले जनताका बीचमा लग्नसकेका छैनौँ, जनताको बीचमा भन्न डराउँछौँ’ उनले भने ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्यले अभियानमा टोल कमिटी गठन निर्माणमा विशेष भूमिका खेल्ने बताए । यो बीचमा पार्टीको सदस्यता वितरण, नवीकरण, पार्टी निर्माणका योजना बनाएर अभियान सुरु भएको छ’, उनले भने, ‘पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउने यो मिसनमा सबैको त्यत्तिकै भूमिका छ ।’
पार्टी निर्माणमा कहिलेकाहीँ निर्मम बन्नुपर्ने भएकाले नेताले गरेका कमजोरी पनि अभियानमा समेटिने भएकाले निर्धक्क भएर गाउँमा खटिएका नेतालाई सुझाव दिन उनले आग्रह समेत गरे । ‘अभियान नेता तथा नेतृत्वलाई सच्याउने यो अवसर पनि हो’, उनले भने, ‘यहाँ को रिसाउँछ, को खुसी हुन्छ, त्यसको अर्थ छैन । राम्रो गर्नेको मूल्याङ्कन गर्ने संस्कार विकास गर्नुछ । त्यो अनुसार यहाँका सुझाव प्राप्त हुनेछन् ।’ उनले अभियानमा जनताका गुनासा सुन्ने र विकास निर्माणका पनि सुझाव लिने बताए । ‘विकास निर्माणसँगै जनताका गुनासा सुन्ने र पहिचान गर्ने अभियानमा हुनेछ’, उनले भने, ‘सुनेर टिप्ने मात्र होइन, तिनको निवारण गर्ने गरेर योजना बनाएर काम गरिनेछ ।’
कार्यक्रममा एमाले केन्द्रीय सदस्य शोभा ज्ञवाली, कुमार दशौदी र दीपा शर्माले अभियानमा जनतासँग बसेर योजना बनाउने काम हुने बताए । ‘बहुदलपछि पार्टीमा प्रशिक्षणको कमी भएको छ । त्यसको लागि यो अभियानले पहिचान गर्न सक्नेछ’, केन्द्रीय सदस्य दशौदीले भने । यसैगरेर नेता ज्ञवालीले पार्टी निर्माणमा पार्टीको वैचारिक ज्ञान र दर्शन आवश्यक भएको बताइन् । अर्का केन्द्रीय सदस्य शर्माले अभियानले पार्टीलाई थप सशक्त र व्यवस्थित बनाएर लैजाने बताइन् । एमालेले एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ । ‘ग्रास रूट’ अभियानअन्तर्गत् सातैवटा प्रदेशमा एमालेका शीर्ष तहका नेताहरू खटिएका छन् । एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । एमाले दाङका उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण एमाले दाङका सचिव मनोहर बुढाथोकीले गरेका थिए ।