calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

स्मार्ट यातायात सेवाका लागि आतुर छौ : अध्यक्ष हमाल [अन्तर्वार्ता]

त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्राइभेट लिमिटेड तुलसीपुको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन यही फागुन १२ र १३ गते तुलसीपुरमा सम्पन्न हुँदैछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वारको प्रमुख आतिथ्यतामा सम्पन्न हुने साधारणसभा तथा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । साविक राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका नाममा वि.सं. २०४१ सालमा खुलेको राप्ती अञ्चलकै सबैभन्दा पुरानो संस्था वि.सं. २०७६ सालमा रुपान्तरित भइ त्रिसिदेश्वरी राप्ती यातायात सेवा प्रालिका नामबाट सार्वजनिक यातायात सेवा प्रवाह गर्दै आएको छ ।

संस्थाको साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संस्थाले हालसम्म गरेका गतिविधिको समीक्षा गर्दै भावि रणनीति एवम् कार्ययोजना समेत निर्माण गर्ने छ । संस्थाको आसन्न साधारणसभा तथा अधिवेशनका सन्दर्भमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले प्रालिका अध्यक्ष शुरेस हमालसँग गरेका कुराकानीको सार संक्षेप ।

 स्वागत छ, तपाईँलाई साधारणसभा तथा अधिवेशनको पूर्वसन्ध्यामा ।

 साधारणसभाको तयारीका सन्दर्भमा केही कुरा राख्ने अवसर दिनुभएकोमा तपाईँ अनि तपाईँहरूको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई धन्यवाद ।

 प्रालिमा रूपान्तरण भइसकेपछिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनमा यात्रुहरूलाई के उपहार दिँंदै हुनुहुन्छ?

 हामीले चौथो साधारणसभासम्म आइपुग्दा यात्रुहरूलाई स्मार्ट यातायात सेवाको उपहार पस्केका छौँ । हामीले साधारण बस हुँदै डिलक्स बस, एसी सुविधा सहितका बस, सेभेन स्टार र यो अधिवेशनको पूर्वसन्ध्यामा हामीले हाललाई चारवटा एयर सस्पेन्सन स्लीपर एसी बस सञ्चालनमा ल्याएका छौँ । यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै पहिलो चरणमा यस्ता बसहरू तुलसीपुरदेखि काठमाडौंका लागि दैनिक रूपमा सेवा दिनेछन् ।

अधिवेशन लगत्तै हामीले यस्ता अन्य थप बस ल्याएर विराटनगर, पोखरालगायतका सहरहरूमा पनि सञ्चालन गर्ने छौँ । दाङबाट भारतको राजधानी नयाँ दिल्लीलगायत मुख्य–मुख्य सहरहरूमा पनि स्तरीय सुविधा सम्पन्न बस सेवा सञ्चालन गर्नेछौँ । अर्को कुरा हामीले हाम्रो चौथो साधारणसभामा सिप्रदी ट्रेडिङ प्रालिसँग सहकार्य गरी हाम्रा व्यवसायीमध्ये एक जनालाई एउटा नयाँ बस उपहार समेत प्रदान गर्दै छौँ ।

यसैमा अर्को संवेदनशील विषय पनि जोड्न चाहन्छु । दुर्घटना न्यूनीकररण हाम्रो प्रमुख दायित्व हो । त्यसका लागि हामीले वर्षभरिमा एउटा पनि दुर्घटना नगराउने चालकहरू मध्येबाट गोला प्रथाद्वारा एक जना चालकलाई पुरस्कृत समेत गर्ने छौँ ।

 तपाईँहरूको लक्ष्य के हो ?

 समृद्ध यातायात हाम्रो लक्ष्य हो । हामी स्मार्ट यातायात सेवामा जाँदै छौँ । यद्यपि राज्यले सहज सडक निर्माण नगरिदिँदा केही समस्या भएको छ । आधुनिक एवम् स्तरीय बस भएर पनि सडकमा परेका खाल्टैखाल्टा र ठाउँठाउँमा हुने सडक जामका कारण हामीले तोकिएको समयमा यात्रुलाई गन्तव्यसम्म पु¥याउन भने अझै सकेका छैनौँ ।

यात्रुहरूका गुनासालाई सम्बोधन गर्ने हाम्रो नैतिक एवम् कानुनी दायित्व पनि हो भन्ने हामीले सधैँ आत्मसात गरेका छौँ । सभ्य यातायात सेवाका लागि हामीले यस अघि नै यातायात मजदुरहरू तथा चालकहरूलाई प्रशिक्षण समेत दिइसकेका छौँ । भाषामा मिठास ल्याउनु पर्छ, त्यसले मात्र मुस्कान सहितको यातायात सेवा सम्भव हुन्छ भन्ने हाम्रो मान्यता हो ।

 यातायात सेवामा अझै पनि सिस्टम स्थापित हुनसकेको छैन, यात्रु तानातानको अवस्था एकातिर छ भने अर्काेतिर गन्तव्यसम्म नपु¥याएर मेल दिने परम्परा कायमै छ नि ।

 हो, यी गुनासाहरू हामी नेतृत्व समक्ष पनि नआएका होइनन् । यात्रु तानातानको अवस्थालाई रोक्न हामीले केही समय अघि सिंगल डायलमा यातायात सेवाको अभ्यास पनि ग¥यौँ । यहाँ क्रियाशील ९ वटा प्रालिहरूको सहकार्यमा केही समय यो प्रक्रिया चलेको पनि थियो । सडकमा यात्रुहरूको भोलुमका आधारमा हामीले सार्वजनिक बस सम्बन्धित स्थानसम्म चलाएको पनि हो ।

वर्गीय अनुपातमा गाडी सञ्चालनको नीति पनि हामीले नल्याएका होइनौँ । तर पछि अन्य प्रालिका साथीहरूले यसलाई निरन्तरता दिन चाहनुभएन । अझै पनि बसपार्क क्षेत्रमा यात्रु तान्ने अभ्यास नहोला भन्न सकिन्न । हामीले हाम्रा प्रालिको मात्रै जिम्मा लिने हो । हामीले कर्मचारी एवम् व्यवसायीलाई स्पष्ट निर्देशन दिइसकेका छौँ, दोहोरो टिकटको समस्या कुनै पनि हालतमा नहोस् भनेर ।

यात्रुहरूलाई जहाँसम्म पु¥याउनका लागि टिकट काटिएको हो, एक जना यात्रु मात्र भए पनि गन्तव्यमा पु¥याउनै पर्दछ । कहीँकतै मेल गरेको गुनासो हामीकहाँ आयो भने त्यस्ता सवारीधनीहरूलाई कारबाही स्वरूप क्यू कट्टा गर्ने हामीले आधिकारिक निर्णय गरिसकेका छौँ ।

 व्यावसायिकतासँगै सामाजिक उत्तरदायित्वको कुरा पनि जोड्नु भयो, के–कस्ता सामाजिक योगदान छन् ?

 हामीले सामाजिक उत्तरदायित्व अनुरूप दृष्टिविहीनहरूलाई निःशुल्क यात्रा, यात्रु दुर्घटना बिमासँगै घाइतेको स्वास्थ्योपचारको पूरै जिम्मेवारी निर्वाह गरिसकेका छौँ । एकजना घाइतेको उपचारमा कम्तिमा एक करोडसम्म खर्च गर्ने नेपालमा सम्भवतः त्रिसिदेश्वरी राप्ती पहिलो प्रालि हो जस्तो मलाई लाग्छ । त्यसपछि अर्को कुरा हामीले हाम्रा व्यवसायी कर्मचारीहरूको दश लाख रूपैयाँ बराबरको दुर्घटना बिमा गरेका छौँ ।

हाम्रो प्रालिमा आबद्ध कुनै व्यवसायीका कुनै कारणबस मृत्यु भएमा १ लाख रूपैयाँ तथा कर्मचारी मजदुरको मृत्यु भएमा २५ हजार रूपैयाँ सहयोग गर्दै आएका छौँ । मजदुर कर्मचारी तथा व्यवसायीहरूलाई क्यान्सर, मृगौला जस्ता ठूला रोग लागेमा ५० हजार सहयोग तथा हाम्रा प्रालिमा आबद्ध गाडीहरूको बिमा गराउँदा ५ हजार रूपैयाँ सहयोग समेत गर्दै आएको जानकारी गराउन चाहन्छु ।

यसैगरी सामाजिक सेवाकै अभियानअन्तर्गत हामीले त्रिसिद्धेश्वरी मन्दिर परिषर, दमारगाउँ लेक, राम्री, मसोट, एक्लेबर पश्चिम तथा बंगलाचुलीमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरेका छौँ । स्वर्गद्वारी मन्दिर तथा धारापानी मन्दिरमा विश्राम घर निर्माण गरेका छौँ । यी हाम्रा सामाजिक योगदानका उदाहरण हुन् ।

 डिलक्स, ब्लुस्काई, सेभेन–स्टार र स्लीपर भित्राइरहँदा पुराना गाडी पनि पहाडी क्षेत्रमा व्यापक छन् भन्ने गुनासो छ नि ?

 हामीले राज्यले विस्थापन गर्न भनेको भन्दा पुराना गाडी चलाएका छैनौँ तर पनि हामीले पुराना गाडीहरूलाई विस्थापन गर्नका लागि व्यावसायिक सहजताको पनि निर्णय गरिसकेका छौँ । पुराना गाडीहरू विस्थापन गराउने मालिकले नयाँ गाडी ल्याएमा हामीले इन्ट्री शुल्कमा न्यूनतम मूल्य मात्र कायम गरेका छौँ । साथै यति धेरै वर्ष यातायात सेवामा लागेर पुराना गाडीमालिकहरू बाहिरिन चाहनुहुन्छ भने उहाँलाई गोल्डेन हेण्डसेक दिएर बिदाइ गर्ने नीति पनि कार्यान्वयनमा ल्याइसकेका छौँ ।

 अन्त्यमा तपाईँको यो चौथो साधारणसभा नयाँ नेतृत्वसँग पनि जोडिएको छ । नेतृत्व रिपिट गर्ने सोचमा हुनुहुुन्छ कि ?

 यो विषयमा अहिले केही नबोलौँ । यति मात्रै बोलौँ कि हामी सहमतिको नेतृत्वको अधिक्तम प्रयासमा छौँ । हामीले तुलसीपुर क्षेत्र मात्र नभएर घोराही क्षेत्रका व्यवसायीहरूलाई पनि उपयुक्त स्थानमा उपयुक्त नेतृत्व दिनुपर्दछ, देउखुरी क्षेत्रका व्यवसायीहरूलाई पनि हामीले नेतृत्वमा ल्याउनुपर्छ ।

यातायात क्षेत्रमा समर्पित सक्षम नेतृत्व निर्विरोध रूपमा चयन हुनेछ भन्नेमा हामी विश्वस्त छौँ । यसका लागि हामी हरेक क्षेत्रगत रूपमा प्रयासरत छौँ । यदि कथमकदाचित निर्विरोध रूपमा नेतृत्व चुन्न नसकेमा लोकतान्त्रिक पद्धति हामीले अवलम्बन गर्ने छौँ । यसका लागि निर्वाचनमा पनि जानुपर्ने हुनसक्छ । किनकि हामी लोकतन्त्रमा विश्वास राख्ने व्यवसायी हौँ । म आम व्यवसायी मित्रहरूलाई ढुक्क बनाउन चाहन्छु कि हामीले जुनसुकै विधि, प्रक्रिया अपनाएर पनि सक्षम टिमलाई नेतृत्वमा ल्याउने छौँ ।

 अन्त्यमा केही भन्नु छ कि ?

 सबै भनिसकेपछि अन्त्यमा भन्ने केही हुँदैन । अन्त पनि केही बाँकी रहँदैन । तैपनि साधारणसभा तथा अधिवेशनको संघारमा मलाई बोलाएर यस प्रालिका गतिविधिका विषयमा जानकारी दिने मौका दिएकोमा विशेष गरी गोरक्ष राष्ट्रिय दैनिक परिवारलाई धन्यवाद दिन चाहन्छु । यो संस्थालाई यहाँसम्म ल्याउन सधै सकारात्मक सुझाव दिएर हामीलाई घच्घच्याइराख्ने दाङ जिल्लाका सम्पूर्ण मिडियाकर्मीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु । हाम्रा गाडीहरूलाई माया गरेर यात्रा गरिदिने समस्त यात्रुहरूलाई पनि धन्यवाद दिँदै सबै पक्षको सधँै साथ र सहयोगको अपेक्षा गर्दछु ।