पिडामा बिरामी, थन्किए डायलासिस मेसिन

बालाराम खड्का
तुलसीपुर, ८ फागुन । तुलसीपुर–२ की एकजना मृगौला पीडित डायलायसिस गर्नुपर्ने बिरामी यहाँ पालो नपाएपछि काठमाडौंमा डायलायसिस गर्दै आएकी छन् । उनीजस्तै तुलसीपुर–४ का एक जना बिरामीले पनि समय–समयमा घोराही पुगेर डायलायसिस गर्दै आएका छन् । घरआँगनमा रहेको राप्ती प्रादेशिक अस्पतालमा डायलायसिस गर्न भनेर काठमाडौंबाट दाङ आए पनि आफूले पालो नपाएको उनको गुनासो छ तर राप्ती प्रादेशिक अस्पतालमा भने भएका डायलायसिस मेसिनहरू पनि प्रयोगमा आउनसकेका छैनन् । यसले गर्दा डायलायसिस गर्ने बिरामीले सास्ती खेप्दै आएका छन् । सेवा छैन भने छ, छ भने बिरामीले सेवा पाउँदैनन, डायलायसिस सेवा आकाशको फल आँखा तरी मर भन्ने जस्तो भएको बिरामीका आफ्नतको गुनासो छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनामा जिल्लाको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा ८ ‘डायलायसिस मेसिन’ पठाएको थियो तर ती मेसिन अहिले प्रयोगमा नआउँदा कोठामै थन्किएका छन् । मेसिन आएको करिब सात महिना पुग्नलाग्दा पनि आर्थिक, जनशक्ति र भौतिक अभावका कारण जडान हुनसकेका छैनन् । ‘मेसिनहरू सञ्चालनमा आउन नसक्नुको प्रमुख कारण आर्थिक हो, त्यसका साथै जनशक्ति र भौतिक पनि सँगसँगै जोडिन्छ’, अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. ओम अर्यालले भने । उनले आफूहरू सेवा दिन तथा तत्काल जडान गर्ने तयारी गरेको बताए ।

‘हामीलाई पनि दबाब आउँछ, सेवा दिन मन छ तर भए पनि विभिन्न कारणले सो मेसिन जडान गर्न सकिएको छैन्’, उनी भन्छन् । मेसिन जडान गरी सेवा दिनका लागि अहिले कम्तिमा पनि ६० लाख लागत खर्च हुने उनले बताए । ‘मेसिन छ जनशक्ति छैन, त्यसमा पनि पर्याप्त रकम नै छैन’, उनले भने । उनले त्यसका लागि आवश्यक मेसिन जडानका लागि पाइपलगायतका आवश्यक सामग्री खरिदका लागि तत्काल खर्च नभएको बताए । सरकारले पनि आवश्यक मेसिन दिने, बजेटको व्यवस्थापन गर्न नसक्नु राज्यको लाचारी भएको बताउँछन् । अहिले डायलायसिसमा चार नर्सिङ कर्मचारी मात्रै कार्यरत छन् तर मेसिन जडानपछि कम्तिमा ११ नर्सिङ कर्मचारी चाहिन्छ । अर्कोतर्फ मेसिन जडान गर्नका लागि ठाउँको पनि अभाव छ ।

अस्पतालमा ‘पेडियाट्रिक’ भवन निर्माण भए पनि अस्पताललाई हस्तान्तरण हुनसकेको छैन । ‘भौतिक भवन पनि बनेको छ, त्यो हामीलाई आएको छ्रैन’, उनले भने । मेसिन जडानका लागि पाइपलगायतका सामग्री खरिद गर्नुपर्ने र ठाउँको पनि अभाव भएको भन्दै पेडियाट्रिक भवन निर्माण भए पनि अस्पताललाई हस्तान्तरण नभएको उनी बताउँछन् । पूर्व स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी प्रादेशिक अस्पताललाई आठवटा डायलायसिस मेसिन उपलब्ध गराएका थिए । तीमध्ये तीन मेसिन बाँकेस्थित भेरी अस्पतालमा लगिएको छ तर ती मेसिन फिर्ता गर्ने शर्तमा लगिएको प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अर्यालले बताए । अहिले अस्पतालमा पाँच डायलायसिस मेसिनमध्ये चार मेसिनमात्रै सञ्चालनमा छन् ।

एउटा मेसिन बिग्रिएको लामो समय भए पनि मर्मत हुनसकेको छैन । अन्य पाँचवटा मेसिन पनि जडान हुन नसक्दा धेरै मृगौलारोगीले सास्ती भोग्नुपरेको छ । अहिले करिब ८० भन्दा बढी बिरामीले पालो कुरिरहेका छन् । उनीहरूमध्ये केहीले लमही, घोराही, बुटवल र काठमाडौंलगायतका स्थानमा डायलायसिस गरिरहेका छन् तर यहाँको राप्ती प्रादेशिक अस्पतालमा अहिले २३ जनाले मात्रै डायलायसिस गरिरहेका छन् । ‘कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको छ, हामीले कर्मचारी बजेटका लागि पहल गरिरहेका छौँ’, निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्यालले भने ।

त्यस्तै भएका साधनस्रोतहरू थन्किने र जनताले सेवा नपाउने अवस्थाको अन्त्यका लागि सम्बन्धित निकायहरू गम्भीर हुनुपर्ने बिरामी बताउँछन् । ‘सरकारले सबैलाई निःशुल्क स्वास्थ्य सेवा एकातिर भनिरहेको छ भने अर्कोतिर निर्वाचनको बेला यस अस्पतालको विकासमा लाग्ने सबैले चुनावी नारा गराए पनि त्यसपछि कसैले पनि अस्पतालमा फर्की नहेर्ने स्वयम् स्वाथ्यकर्मी बताउँछन् ।

‘हामी पनि यही अस्पतालमा काम गर्छौँ, हाम्रो आप्mना आफन्तहरूले अस्पतालमा डायलायसिस सेवा छ भनेर सोध्नुहुन्छ, छन त छ तर भएका मेसिन औजारहरू सञ्चालन हुन नसक्दा सबैलाई पुग्दैन’, कर्मचारीहरू भन्छन् । त्यस्तै प्रदेशअन्तर्गतको अस्पताल राप्ती प्रादेशिक अस्पताल भएको भन्दै यस्ता कुराहरूमा प्रदेशले विशेष ध्यान दिनुपर्ने स्थानीय निमकुमार बुढाले बताए । ‘नाम मात्रको अस्पताल भएको छ, यसमा न सरकारले हेर्छन् न सरोकारवालाले नै ध्यान दिएका छन’, उनले भने ।