२९ स्रष्टा पुरस्कृत एवम् सम्मानित

‘परिवर्तनमा साहित्यको महत्वपूर्ण भूमिका’
गोरक्ष समाचारदाता
दाङ, ८ फागुन । एकै मञ्चमा २९ जना साहित्यिक स्रष्टाहरू सम्मान तथा पुरस्कृत भएका छन् । लेखक संघ दाङको २८औँ साधारणसभाका अवसर पारेर साहित्य लेखन तथा साहित्यको विकासमा योगदान पु¥याएका २८ स्रष्टालाई पुरस्कृत र एक जनालाई सम्मान गरेको हो ।

लेखक संघ दाङले बम–शंकर साहित्य पुरस्कारबाट बासुदेव जम्मरकट्टेल, नन्द प्रज्ञा पुरस्कारबाट अस्मिता पाण्डेय, नारायण सल्यानी स्मृति साहित्य पुरस्कारबाट हरिप्रसाद पौडेल ‘स्वर्ग शिखा’, तोयाराम ईश्वरादेवी साहित्य पुरस्कारबाट टीकाराम उदासी, निवुलाल डोङली थारु साहित्य पुरस्कारबाट शेरबहादुर चौधरी, शारदा लोहनी स्मृति साहित्य पुरस्कारबाट बसन्ता शाह, हरिकला–नन्द प्रतिभा पुरसकारबाट ऋतु खनाल, धनबाला साहित्य संगीत पुरस्कारबाट शेरबहादुर थापा, पण्डित कपिलमुनि शिवाकोटी, विद्यासागर साहित्य पुरस्कारबाट शेषमणि रिजाल, फर्साराम–धनकुमारी साहित्य पुरस्कारबाट खेमराज रिजाललाई पुरस्कृत गरेको हो ।

यसैगरी नित्यानन्द शर्मा साहित्य प्रतिभा पुरस्कारबाट विष्णु आचार्य, अशोक–सुभद्रा काव्य पुरस्कारबाट रामहरि रिजाल, दुर्गा–चित्रा प्रज्ञा पुरस्कारबाट गोविन्द पोख्रेल, टीकाप्रसाद नारायणी साहित्य पुरस्कारबाट नारदप्रसाद भण्डारी, मेघराज–लक्ष्मीदेवी प्रज्ञा पुरस्कारबाट मोतीकुमारी विश्वकर्मा, पं. कृष्णमणि–इन्दिरा आचार्य साहित्य संगीत पुरस्कारबाट तुलसा आचार्य, प्रवीण प्रज्ञा पुरस्कारबाट राजेन्द्र दाहाल, दामोदर अम्बिका बाल समृति प्रतिभा पुरस्कारबाट अमृता बुढाथोकी र विवश केसी, पूर्णचन्द्र–नारायणी स्मृति साहित्य पुरस्कारबाट बसुन्धरा गौतम, उमानाथ–प्रेमकुमारी स्मृति साहित्य पुरस्कारबाट पद्मकमल शर्मा, बामदेव–खिमकुमारी स्मृति साहित्य पुरस्कारबाट ऋषिकेशव भारद्वाज पुरस्कृत भएका हुन् ।

यसैगरी इन्द्र–देवका स्मृति पज्ञा पुरस्कारबाट गुरूप्रसाद शर्मा रेग्मी, यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा.विष्णकुमार देवकोटा, चक्रमाया स्मृति साहित्य पुरस्कारबाट बिमला खनाल, जमुना गिरी, गोमा गिरी साहित्य पुरस्कारबाट कूलबहादुर वली, मञ्जु राणा स्मृति साहित्य पुरस्कारबाट बिना दाहाल, लक्ष्मण कला साहित्य पज्ञा पुरस्कारबाट सन्ध्या रेग्मी पुरस्कृत भएका हुन् । उनीहरूलाई नगद सहित प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा संघका संस्थापक समेत रहेका प्राध्यापक प्रा.डा. शिवकुमार सुवेदीलाई संस्थागत विकासतर्फ योगदान पु¥याएको भन्दै खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सामाजिक तथा राजनीतिक परिवर्तनका लागि साहित्यको महत्वपूर्ण भूमिका हुने भन्दै सामाजिक रूपान्तरणसँगै वर्तमान राजनीतिक विकृतिका विरूद्धमा कलम चलाउनुपर्ने बताएका छन् । सामाजिक परिवर्तनका लागि निरन्तर रूपमा साहित्यकारले खबरदारी गर्नेगरेको भन्दै उनीहरूले अब वर्तमान राजनीतिमा देखिएको विकृतिका विरूद्धमा पनि कलम चलाउनुपर्ने बताए । उनीहरूले देशमा प्राप्त गरेको परिवर्तनलाई संस्थागत गर्दै जनतामा देखिएको निराशालाई कम गर्न साहित्यका माध्यमबाट विकृति र विसंगतिका विरूमा कलम चलाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि लेखक संघ दाङका संस्थापक गुरूप्रसाद शर्मा रेग्मीले साहित्य चेतनासँगै वर्तमान विकृतिका विरूद्धमा लेख्नुपर्ने बताए ।

‘साहित्यकारहरू निरन्तर रूपमा परिवर्तनका पक्षमा हुन्छन् र साहित्य सिर्जना गर्छन्’, कार्यक्रमका प्रमुख अतिथि गुरूप्रसाद शर्मा रेग्मीले भने, ‘अब साहित्यकारले सामाजिक चेतनासँगै वर्तमान राजनीतिक विकृतिका विरूद्धमा पनि कमल चलाउनुपर्छ ।’ कार्यक्रममा सम्मानित एवम् प्राध्यापक व्यक्तित्व डा. शिवकुमार सुवेदीले साहित्य सिर्जनाका माध्यमबाट समाजलाई सुधार गर्नसँगै मुलुकको बिग्रँदो राजनीतिक व्यवस्थालाई सुधार गर्नका लागि साहित्यकारले कलम चलाउनुपर्ने बताए । लेखक संघ दाङका अध्यक्ष शंकरप्रसाद पौडेलले प्रजातन्त्रवादी लेखक संघहरूलाई एकताबद्ध गर्दै दाङको साहित्य विकासका लागि स्थापना भएको संघले उद्देश्यअनुसार अघि बढ्नुपर्ने बताएका थिए । बरिष्ठ साहित्यकार एवम् पूर्व प्रज्ञा प्रतिष्ठानका सदस्य उत्तमकृष्ण मजगैयाँले साहित्यकार तथा लेखकलाई विचारका आधारमा वर्गीकरण गरेर विभेद गर्न नहुने बताए ।

कार्यक्रममा साहित्यकार बुनु लामिछाने, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, देउखुरी साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष हरि पोख्रेल, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’, पुरस्कार संस्थापकबाट हिमलाल पन्थी, अम्बिका रिजाल, जोशिका कँडेललगायतले मन्तव्य तथा रचना वाचन गरेका थिए । लेखक संघ दाङका सदस्य हरिप्रसाद पाण्डेयले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सरिता देवकोटाले गरेकी थिइन् ।