Goraksha

National Daily

कोरोना विशेष अस्पताल : कसरी मेट्ने गुनासो ?

खेमराज रिजाल

बेलझुण्डि, २८ चैत । प्रादेशिक राजधानीका लागि प्रस्ताव गरिएको वेलझुण्डिस्थित नेपाल संस्कृत विश्वविद्यालय माताहतको आयुर्वेद शिक्षण अस्पताल भवनमा करिव एक महिनाअघी एकाएक एउटा व्यानर टाँगियो, ‘कोरोना विशेष अस्पताल’ । प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री, सामाजिक विकास मन्त्रालयका अधिकारीहरु, स्थानीय प्रहरी प्रशासनका अधिकारीहरु तथा स्थानीय सरकार प्रमुखहरुको मौखिक सहमतीमा त्यहां विशेष अस्पताल सन्चालनको तयारी गरियो ।

‘एकाएक प्रादेशिक अस्पताल तुलसीपुरका मेसुलाइ परिवर्तन गरियो, स्टोरकिपरलाई समेत समायोजनका नाममा घोराहीको स्थानीय तहमा सरुवा गरियो । पांच बर्ष अघी तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा खरीद गरी ल्याइएको दुई थान भेण्टिलेटर र चार थान मोनिटर वेलझुण्डि लगियो, विजौरी प्रादेशिक अस्पतालका केहि उपकरण पनि त्यहीँ लगियो ।

खोजीखोजी संकास्पद संक्रमितहरुलाई ल्याएर भर्ना गरियो । प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई पनि सो अस्पतालमा खटाइयो । तर विशेष अस्पताल भनिएको सो संस्थामा आइशोलेशन वार्ड होइन, क्वारेन्टाइनको जस्तो सेवासमेत उपलव्ध हुन नसकेको विरामीहरुका आफन्तहरुले बताएका छन् । उनीहरुकै भनाइमा सो अस्पतालमा ‘सेवा भन्दा त्रास बढि’ छ । स्वस्थ व्यक्तिमा पनि संक्रमण फैलनसक्ने सम्भावना बढि देखिएको ती विरामीका आफन्तले बताएका छन् ।

पुगनपुग २ दर्जन विरामीहरु भर्ना छन्, त्यहां । तर आवस्यक न्युनतम सेवासमेत उपलव्ध हुन नसकेको विरामीका आफन्तको गुनासो छ । ‘पिउने पानीसमेतको उपयुक्त व्यवस्थापन छैन र स्वास्थ्यका हिसावले पनि सुरक्षित देखिएन’—एक जना भर्ना भएका विरामीका आफन्तले भनिन्, ‘त्यसैले दिनहुँ पानीका वोत्तल लिएर अस्पताल आउनुपरेको छ ।’ उनको जस्तै गुनासो अन्य विरामीहरुको पनि छ । पानीमात्र होइन, खाना पनि सुरक्षित, स्वस्थकर र पौष्टिक नरहेको अन्य विरामीका आफन्तहरुले समेत गुनासो गरिरहेका छन् ।

अस्पतालभित्र एउटा जारमा पानी राखिएको छ । नजिकै एउटा बोत्तल खुला राखिएको छ । त्यहि वोत्तलमा पानी सारेर सवै विरामीहरुले पिउने गर्छन् । संक्रमणको बचावटका हिसावले यो कुनैपनि रुपले उपयुक्त नभएको पनि विरामीका आफन्तहरुको गुनासो छ । ‘खाना पनि कतै टाढै पकाएर ल्याइएको हुन्छ, विरामीको वेडमुनि राखिदिइन्छ, दुईदिन अघिसम्म विरामीको खाना राखिदिने टेवलसमेत व्यवस्थापन गरिएको छैन’, ती आफन्त भन्छिन्,—‘घरमा भन्दा पनि असुरक्षित महसुस भएको छ ।’

प्रदेश सरकारको माताहतमा चल्ने कोरोना विशेष अस्पताल संघीय सरकारको माताहतमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको शिक्षण अस्पतालमा राखियो । ‘एकाएक प्रादेशिक अस्पताल तुलसीपुरका मेसुलाइ परिवर्तन गरियो, स्टोरकिपरलाई समेत समायोजनका नाममा घोराहीको स्थानीय तहमा सरुवा गरियो । पांच बर्ष अघी तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा खरीद गरी ल्याइएको दुई थान भेण्टिलेटर र चार थान मोनिटर वेलझुण्डि लगियो, विजौरी प्रादेशिक अस्पतालका केहि उपकरण पनि त्यहीँ लगियो’, एक जना स्वास्थ्यसंग सरोकार राख्ने नागरीक भन्छन्, ‘उपचारसेवा भन्दा पनि राजनीतिक चक्रव्युहमा फसेको छ बेलझुण्डि अस्पताल ।’

‘हामी त प्रदेश सरकारको माताहतमा रहेकाले प्रदेश सरकारकै माताहतको बेलझुण्डी कोरोना अस्पतालमा सामान लगिएको हो, नीति नियम र ऐन कानुनका विषयमा आन्तरिक मामिलामन्त्रीलाई सोध्नुहोला’—बेलझुण्डिस्थीत विशेष कोरोना अस्पतालका सदस्य—सचिव तथा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेसु डा सर्वेश शर्मा भन्छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमितको तत्काल स्वास्थ्य उपचारका लागिी यी सामाग्रिहरु बेलझुण्डी लगिएको पनि उनको अभिव्यक्ति थियो ।

कोरोना विशेष अस्पतालमा आइशोलेशन वार्डको समेत व्यवस्थापन गरिएको दावी गरिएको छ । तर यदि कुनै व्यक्तिमा कोभिड—१९को संक्रमण प्रमाणित भयो भने उसलाई अलग्गै राखेर उपचार गर्ने व्यवस्था भने कोरोना विशेष अस्पतालमा छैन । ज्वरो आएका र नआएका संकास्पद दुवैलाई एउटै हलमा राखिएका वेडमा राखिएको छ । ज्वरो नआएका संकास्पद व्यक्तिहरु भर्खरै विदेशबाट आएका छन् भने यहींकै स्थानीय रुघा—खोकी र ज्वरोका विरामीहरु गरी विहीवार पुगनपुग दुइदर्जन विरामी अस्पतालमा भर्ना छन् । तर उनीहरुले विशेष अस्पतालको अनुभुति गर्न सकिरहेका छैनन् । ‘विशेष प्रहरी बताउने व्यक्तिले एम्वुलेन्समा राखेर यहां ल्याएका हुन्, उपचारका लागि भन्दै, तर अस्पतालमा पिउने पानी समेत प्रयाप्त छैन’—एक जना विरामीका आफन्तले भनिन् । अस्पताल हातामा भेटिएकी उनले दुई गत्ता पानी ल्याएकी थिइन् ।अस्पतालको वार्ड परीषरमा राखिएको पिउने पानीको जार छिनभरमै रित्तिन्छ, तर समयमै रिप्लेस हुंदैन ।

अहिले अधिकांश निजि अस्पताल र सरकारी स्वास्थ्य संस्थाले समेत सामान्य ज्वरो आएका विरामीलाई समेत स्वास्थ्य उपचारसेवा प्रदान गर्न छाडेपछि केही दिनदेखि रुघाखोकि र ज्वरो आएका व्यक्तिहरुलाई समेत लिएर यो विशेष अस्पातालमा भर्ना गर्ने गरिएको छ । तर कोरोना मात्र होइन, सामान्य रोग निदान गर्ने प्रविधि समेत अस्पतालमा उपलव्ध छैन । ‘सवै सघन उपचार यहां संभव हुंदैन, त्यसका लागि त पठाउने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै हो’—सदस्य सचिव डा शर्मा भन्छन्,—‘स्वाव परीक्षणको अवधिसम्मका लागि मात्र यहां उपचारसेवा प्रदान गरीने व्यवस्थापन मिलाइएको छ ।’

प्रदेश सरकारले वेलझुण्डीमा रहेको संघीय माताहतको विश्वविद्यालयको आयुर्वेद शिक्षण अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गर्दा यसको सन्चालन कार्यविधी र नियम, विनियम समेत केहि बनाएको जानकारी सार्वजनिक गरिएको छैन ।
समाचार श्रोतका अनुसार पछिल्लो समयमाबसेको कोरोना अस्पताल विशेष समितिको बैठकले केहि वहुमूल्य सामान खरीद गर्ने निर्णयसमेत गरेको छ । त्यसको टेण्डर प्रक्रिया समेत सुरु भएको छ । सो अस्पताललाई दीर्घकालिन रुपमा सरुवारोग सम्वन्धी विशेष अस्पताल समेत बनाउने तयारी भएको बताइन्छ, तर संघीय सरकारको माताहतमा रहेको आयुर्वेद चिकित्सा अध्ययन गर्ने विद्यार्थीहरुको शिक्षण अस्पताल कुन प्रक्रिया अन्तर्गत प्रादेशिक संरचनाहरु बनिरहेका छन् ? अनुत्तरीत बनेको छ ।