मास्क र सावुन वितरणसंगै सचेतना दिदै महिलाहरु
बालाराम खड्का
तुलसीपुर, २८ चैत । यहाँका महिलाहरुले मास्क र सावुन वितरणसंगै सचेतना दिने काम गरेका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमण न्यूनिकरणका लागि महिला दिदि बहिनिहरुले सचेतना मुलक कार्यक्रम सञ्चालन गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका ३ स्थित पुष्पाञ्जली महिला समितिले घरघरमा पुगेर यसको रोकथाम, यसबाट बच्ने उपायहरुको वारेमा सचेतना दिइरहेको समितिका अध्यक्ष मसिना मल्लले बताइन् ।
समितिमा आवद्ध महिलाहरुले घर–घरमा पुगेर विपन्न वर्गका घरधुरीहरुलाई मास्क, सावुन वितरण गर्नुका साथै कोरोना भाइरसबाट बच्न सावुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र मास्क प्रयोगगर्न समेत सिकाउने गरेको समितिका सचिव रेश्मी वलीले जानकारी दिइन् ।
विश्वमा कोरोना भाइरसको महामारी फैलीएको भन्दै त्यसबाट आफु र अरुलाई पनि बचाउन यो अभियान सुरु गरेको अर्की महिला रीता केसीले बताइन् । समूहका दिदिवहिनीहरुले आफुहरुले व्यक्तिगत रकम उठाएर मास्क तथा सावुन किनेर वितरण गरेको बताएका छन् । ‘‘हामीहरुले स्वस्फुर्तरुपले पैसा उठाएर अभियान सञ्चालन गरेका छौं,’’ सचिव वलीले भनिन् ।
महिलाहरुले करिव ८ यस जनालाई मास्क वितरण गर्नुका साथै केही विपन्नलाई सावुन पनि वितरण गरेको बताएका छन् । यस अभियानलाई जारी राख्ने पनि उनीहरु बताउछन् ।
राज्य, स्थानीय निकाय तथा वडाले पनि कोरोना भाइरसको संक्रमणबाट बच्न विभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै ति महिलाहरुले आफुहरुले पनि संकटको यो समयमा सामाजिक उत्तरदायित्वको भावनाका साथ यस्तो अभियानमा जुटेको बताउछन् । उनीहरुले केही जानेवुझेका भनिनेहरु पनि यस विषयमा गम्भीर नभएको भन्दै सवैलाई सचेतना दिन अभियान थालेको बताएका छन् ।
