खेमराज रिजाल
बेलझुण्डी,४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल संस्कृत विश्वविद्यालय आएकी छन् । उनले पाँच वर्ष अघि निर्माण सम्पन्न भएको नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठको शिक्षण भवन उद्घाटनका लागि यहाँ आएकी हुन् ।
उनी विद्यापीठको उद्घाटनका क्रममा आउँदा विश्वविद्यालयले भव्य र सभ्य कार्यक्रमको आयोजना गरेको थियो । दश वर्षदेखि दीक्षान्त समारोह आयोजना गर्न असक्षम रहेको विश्वविद्यालयले नेपालकै उच्च ओहदामा रहेकी सम्माननीय राष्ट्रपतिलाई ल्याएर पाँच वर्ष अघि निर्माण सम्पन्न भएको भवनको उद्घाटन गराउँदा गौरवको अनुभूति गरेको छ । मुलुक कोरोनाको विश्वव्याधि आतङ्कमा रहँदै गर्दा सोही भवनबाट हजारौँ बिरामीहरूको स्वास्थ्योपचार भइरहँदा यसलाई उद्घाटन प्रक्रियामा लैजान तात्कालीन पदाधिकारीहरूले कुनै जमर्को गरेका थिएनन् । निर्माण सम्पन्न भएर हस्तान्तरण भएको चार वर्षमा उद्घाटन समारोह राखिएकोमा संस्कृतप्रेमीहरू अचम्भित भएका छन् ।
आयुर्वेद विद्यापीठको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगी नरहरिनाथको योगदानबाट स्थापना भएको यो विश्वविद्यालयको संस्कृत वाङ्ग्मयको इतिहासलाई सबैले साझा अभियानका रूपमा लैजान आह्वान गरिन् । साथै उनले आफ्नो जीवनसङ्गी स्व. मदन भण्डारी पनि यही विश्वविद्यालको उत्पादन भएकाले आफ्नो पनि यो विश्वविद्यालयसँग सामिप्यता रहेको बताइन् । यो संस्कृत विश्वविद्यालय जीवन र जगतको ऐतिहासिक संगम रहेको पनि उनको अभिव्यक्ति थियो । उनले नेपाल संस्कृत विश्वविद्यालय संसारभरकै बुद्धिष्ट र जैनहरूसँगै हिन्दुहरूको अपनत्व भएको भन्दै यसको प्रबद्र्धनका लागि राज्यका सबै निकायहरू लाग्नु आवश्यक भएको बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समुन्नत नेपाल निर्माणका लागि नेपाली सभ्यताको पुनर्जागरण आवश्यक भएको बताइन् । नेपाल सांस्कृतिक, नैतिक र सभ्यता पुनर्निर्माणको संघारमा उभिएको भन्दै राष्ट्रपति भण्डारीले यसलाई राष्ट्रले ठूलो जिम्मेवारीका रूपमा लिनुपर्ने बताइन् । ‘हामीले अब स्वाभिमान र सम्मान खोज्नुपर्छ, यसका लागि सांस्कृतिक, नैतिक र सभ्यताको संस्कारलाई विकास गर्न जरुरी छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘मैले यसलाई नेपाली सभ्यताको पुनर्जागरणको नाम दिएकी छु ।’ उनले अन्तर्राष्ट्रिय स्तरमा यो अभियानलाई प्राज्ञिक तथा विश्वविद्यालयहरूले जिम्मेवारी लिएर उचाईमा पु¥याएको इतिहास रहेको भन्दै राष्ट्रपति भण्डारीले नेपाली सभ्यताको पुनर्जागरणको अभियानको नेतृत्व नेपाल संस्कृत विश्वविद्यालयले लिनुपर्ने सुझाव दिइन् ।
‘नेपाली सभ्यताको पुनर्जागरणको अभियानलाई उचाईमा पु¥याउन प्राज्ञिक तथा विश्वविद्यालयहरूले जिम्मा लिनुपर्दछ’, उनले भनिन्, ‘यसका लागि नेपाल संस्कृत विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्न सकोस् ।’ संस्कृत भाषाको संरक्षणका लागि अहम्भूमिका खेल्दै आएको नेपाल संस्कृत विश्वविद्यालयले यो प्रयासलाई थप उचाईमा पु¥याउन थप सक्रियता देखाउनुपर्ने भण्डारीले सुझाव दिइन् । उनले विश्वमा प्राकृतिक चिकित्साले अधिक महत्व पाउँदै आएको भन्दै नेपालमा पनि यसको प्रभावकारितामा जोड दिँदै यो पद्धतिको विश्वसनियता कायम गर्नुपर्ने बताइन् । ‘आयुर्वेद पूर्वीय दर्शन मात्रै होइन, यसलाई विश्वले रुचाएको छ’, उनले भनिन् । साथै उनले आयुर्वेद अध्ययनका लागि निर्मित भवनबाट दक्ष जनशक्ति उत्पादन हुने विश्वास गर्दै उनले यो शिक्षालाई पुस्तान्तरण गरिनुपर्ने आवश्यकतामा जोड समेत दिइन ्।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सरकारका प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले कोरोना महामारीसँग जुधिरहेको समयमा शिक्षण भवनले स्वास्थ्यमा पु¥याएको सेवा आफैमा ऐतिहासिक र महत्वपूर्ण रहेको बताइन् । ‘यदि यो भवन नभएको भए हामीले धेरै होनहार व्यक्तिहरूलाई गुमाउनुपर्ने स्थिति बन्थ्योे’, उनले भनिन्, ‘त्यसैले यो भवन अहिले जीवनदाताको रूपमा स्थापित छ ।’ उनले संस्कृत विश्वविद्यालय नेपालको ऐतिहासिक विश्वविद्यालय रहेकोले यसको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताइन् । यो विश्वविद्यालयलाई पूर्वीय दर्शनको अध्ययनको केन्द्र बनाउनसके संसारभरका पूर्वीय दर्शनमा अध्ययनको रुची राख्ने व्यक्तिहरूलाई आमन्त्रण गर्न सकिने शर्माले बताइन् । हामीले नेपालबाट त्यसो गर्न सकेनौँ भने पूर्वीय दर्शनको अध्ययन गर्न पश्चिमा देशहरूमा जानुपर्ने स्थिति आउनसक्ने उनको तर्क थियो ।
संस्कृत विश्वविद्यालयलाई विदेशबाट पनि विद्यार्थी पढ्न आउने गरी विकास गर्न जरुरी रहेको बताइन् । विश्वविद्यालयको आन्तरिक पक्षलाई कसरी सुदृढ र सवल बनाउन सकिन्छ, त्यसतर्फ विशेष ध्यान दिन आग्रह समेत गरिन् । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थमन्त्री विष्णु पन्थीले शिक्षण अस्पतालले दाङ मात्र नभइ लुम्बिनी प्रदेशभरका सबै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, ‘आयुर्वेद क्षेत्रको विकास भएमा मुलुकको आर्थिक क्षेत्रको विकास गर्न सक्छौँ, त्यसैले यसलाई व्यावसायिक ढङ्गले अगाडि बढाउन प्रयत्न गरौँ ।’
कार्यक्रमबारे प्रकाश पार्दै विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. भीमप्रसाद खतिवडाले २०७२ सालपछि निर्माण गरिएको शिक्षण भवनको ३ वटा ब्लक रहेको बताए । उनले साना–ठूला सबै गरी १ सय ८ वटा कोठा रहेको भवनमा विद्यार्थीको सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षा तथा प्राध्यापकहरूको कोठा पनि रहेको जानकारी दिए । कूल २४ करोड ७२ लाख ८३ हजार ४ सय ६६ रूपैयाँको लागतमा उक्त भवनको निमार्ण कार्य सम्पन्न भएको थियो । बिएएमएसका लागि सबै वर्षको गरी त्यहाँ २ सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।
नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विश्वविद्यालयका अनुसन्धान केन्द्रका निर्देशक सुधनकुमार पौडेलले गरेका थिए । कार्यक्रममा बिएएमएसमा अध्ययनरत विद्यार्थीहरूले नेपाली संस्कृति झल्कने विभिन्न नृत्य, योग प्रदर्शन गरेका थिए । कार्यक्रमपश्चात राष्ट्रपति भण्डारीले शिक्षण भवन र नेपाल संस्कृत विश्वविद्यालयको भवनको निरीक्षण गरेकी थिइन् । भव्य र सभ्य रूपमा भवन उद्घाटन भइरहँदा आयुर्वेद स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरूले न शिक्षण अस्पताल पाएका छन्, न उपयुक्त प्रयोगात्मक अस्पताल पाएका छन्, न त प्रयोगशालाको उपयुक्त प्रबन्ध नै हुनसकेको छ ।