स्वदेशी उत्पादन बढाउन लगानी आवश्यक : मन्त्री शर्मा

प्रदेशस्तरी पर्यटन तथा कृषि प्रदर्शनी

गोरक्ष समाचारदाता
दाङ, ४ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले स्वदेशी उत्पादन बढ्दै गएको बताएकी छिन् । घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा सुरु भएको ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ को उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘स्वदेशी उत्पादन बढ्दै गएको छ भने आकर्षण समेत त्यत्तिकै छ’, उनले भनिन्, ‘यसले देशको समृद्धि र रोजगारमा राम्रो भएको छ ।’ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न राज्यले आफनो तर्फबाट सहयोग गर्ने समेत मन्त्री शर्माले बताइन् । स्वदेशमा उत्पादन बढ्दै गएमा देशको समृद्धि तथा रोजगारी सिर्जना गर्न समेत सहयोग पुग्ने बताइन् । दाङ कृषिको लागि धेरै सम्भावन बोकेको जिल्ला रहेको भन्दै यसको सदुपयोग गरेर अगाडि बढ्नु पर्ने बताइन् । ‘जिल्ला हिमालदेखि तराईसम्म रहेको छ, यहाँ कृषिका धेरै सम्भावनाहरू रहेका छन् यसको सदुपयोग गर्न अगाडि बढ्नु पर्दछ’, मन्त्री शर्माले भनिन् ।

जिल्लामा अल्लोका सामग्री, माटाका भाँडा, ढकिया, पटकीजस्ता उत्पादन बढ्दै गएको भन्दै यसको प्रबद्र्धन गर्न आवश्यक रहेको समेत बताइन् । स्थानीय स्तरबाट उत्पादन गरिएका सामग्रीहरूको प्रचारप्रसार गरेर वजारीकरणमा सहयोग पुग्ने समेत उनले बताइन । अर्को प्रसङ्गमा मन्त्री शर्माले विकास निर्माणका लागि राजनीतिक पूर्वाग्रह गर्न नहुने बताइन् ।
‘निवार्चनमा प्रतिष्पर्धा हुन्छ, विकास निर्माणमा सहकार्य गरेर अगाडि बढ्नुपर्दछ’, उनले भनिन्, ‘विकासमा सहकार्य गरौँ, राजनीतिमा प्रतिष्पर्धा गर्छौँ ।’ विकास निर्माण आग्रह, पूर्वआग्रह गर्दा विकासको काम हुन नसक्ने उनले बताइन् ।

‘म आप्mनो स्थानबाट जिल्लाको विकासका लागि अगाडि बढ्छु, तपाईँहरू पनि आप्mनो स्थानबाट लाग्नु हो’, मन्त्री शर्माले भनिन् । चारलेन सडकले विषयमा आफू पहिलेदेखि नै निरन्तर लागि रहेको बताइन् । सबै मिलेर सकारात्मक दबाब दिनुपर्ने समेत उनले बताइन् ।
प्रदेश सभा सदस्य राजु खनालले आर्थिक विकासका लागि घरेलु तथा स्थानीय उत्पादनलाई अगाडि बढाउनुपर्ने बताए । घरेलु तथा स्थानीय स्तरमा पाइने कच्चापदार्थको प्रयोग गरेर अगाडि बढेमा देशमा आर्थिक विकास गर्न सकिने उनको भनाइ रहेको छ ।

ठूला उद्योगसँग हामीले अहिले प्रतिस्पर्धा गरेर अगाडि बढ्न सक्दैनन्’, उनले भने ‘राज्यले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने छ ।’ प्रदर्शनीले प्रचारप्रसार र बजारीकरणमा समेत सहयोग पुग्ने खनालको भनाइ छ ।

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोख्रेलले समृद्धिको साझा एजेण्डा बनाउनुपर्ने बताए । उनले त्यसले देशको विकासमा सहयोग पु¥याउने बताए । समृद्धि सबैको साझा एजेण्डा भएमा मात्र देशको विकास गर्न सकिने उनले बताए । ‘परनिर्भरताले राष्ट्रियतालाई कमजोर बनाउँछ’, अध्यक्ष पोख्रेलले भने, ‘त्यसैले राष्ट्रलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ, आत्मनिर्भर बनाउनका लागि उत्पादनमा जोडिनुपर्छ ।’

कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जिल्ला इञ्चार्ज निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष भक्त डाँगी, नेकपा कम्युनिस्ट पार्टीका सम्झना सी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, घोराही उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष भानसिंह बुढा, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियान, चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम घरेलु तथा साना उद्योेग महासंघका जिल्ला अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षतामा भएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष लवदेव अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नवीन पोख्रेल र आरके शीतलले गरेका थिए । कार्यक्रम पूर्व ट्राफिक चोकबाट ¥याली समेत निकालिएको थियो । बजारका विभिन्न भागको परिक्रमा गरी प्रदर्शनी स्थलमा पुगेको थियो ।

प्रदर्शनी घोराही उपमहानगरपालिका वडा नं. १४ को झिँगौरामा सञ्चालन भइरहेको छ । ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनी फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाको लघु तथा घरेलु उद्योगबाट उत्पादित सामग्री, कृषि सामग्री, हस्तकला सामग्रीहरूको प्रदर्शनीका लागि निःशुल्क रूपमा स्टलहरू उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ ।

स्थानीय एवम् राष्ट्रिय स्तरमा लघु तथा घरेलु उद्योगहरूले उत्पादन गरेका वस्तुहरूको पहिचान गराई कृषि तथा उद्योगहरूमा प्रयोग हुने आधुनिक प्रविधिहरूको जानकारी सहित आन्तरिक एवम् बाह्य पबद्र्धनमा टेवा पु¥याउने, महिला उद्यमशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित वस्तुहरूको उचित गुणस्तरको पहिचान गराई आम जनमानसहरू र नागरिकहरूमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सिर्जना गराई लघु तथा घरेलु उद्योगकमार्फत् बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला, संस्कृति, सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरूलाई राष्ट्रिय रूपमा चिनाउने र कृषिको आधुनिकीकरणको लागि कृषि प्रविधिहरूको प्रदर्शनी गर्नेलगायतका उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको हो ।