पूर्णकदमा सहिद लखन
गोरक्ष समाचारदाता
दाङ, ३ फागुन । घोराही बजारको मुख्य पार्कमा नेपालका प्रथम सहिद लखन थापा मगरको पूर्णकदको शालिक राखिएको छ । घोराही–१४ को लखन पार्कमा सहिद थापाको शालिक राखिएको हो । यसअघि सो पार्कमा थापाको अर्धकदको शालिक थियो । नेपाल मगर संघको नेतृत्व र लुम्बिनी प्रदेश सरकार, घोराही उपमहानगरपालिका, वडा कार्यालय र विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा सहिद थापा मगरको शालिक राख्ने काम भएको हो ।
लुम्बिनी प्रदेशले शालिक र पार्क व्यवस्थापनमा १५ लाख रूपैयाँ बजेट दिएको छ । यसैगरेर घोराही उपमहानगरपालिका, वडा कार्यालय, विभिन्न व्यक्ति र संघसंस्थाले रकम सहयोग गरेको मगर संघ दाङका पूर्व अध्यक्ष तथा पार्क निर्माण समितिका अध्यक्ष खलुप्रसाद पुनले बताए । पार्कमा शालिक सहिद पानीका फोहोराको पनि व्यवस्था गरिएको छ । संयोजक पुनकाअनुसार पानीको फोहराले पार्कको सुन्दरता बढाउने काम गरेको छ ।
विगतमा त्रिभुवन पार्कको नामबाट परिचित पार्क गणतन्त्र स्थापनासँगै नाम परिवर्तन गरेर लखन पार्क राखिएको थियो । सहिद थापा मगरको पूर्णकदको शालिक लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मंगलवार अनावरण गरेका छन् । मगर संघ दाङ जिल्ला समन्वय समितिले सहिद थापाको १४६औँ स्मृति दिवसमा मुख्यमन्त्री गिरीले शालिकको अनावरण गरेका हुन् ।
सहिद थापाको शालिक अनावरण गर्दै मुख्यमन्त्री गिरीले सहिदहरूको त्याग र संघर्षबाट मुलुकमा परिवर्तन भए पनि संस्थागत भइ नसकेको बताए । ‘सहिदहरूको त्याग र संर्घषले हामीले यो व्यवस्था प्राप्त गरेका छौँ’, मुख्यमन्त्री गिरीले भने, ‘प्राप्त गरेको व्यवस्थालाई थप संस्थागत गर्न अझै मिहिनेत गर्न आवश्यक छ ।’
मुख्यमन्त्री गिरीले सहिदहरूले आप्mनो भन्दा जनतालाई अधिकार सम्पन्न बनाउन त्याग गरेको बताए । ‘शासकले जनताप्रति दमन गरेको त्यो समयमा पनि सहिद थापाले संघर्ष गर्नु भयो । बदलामा शासकले उहाँलाई मृत्युदण्ड दियो’, मुख्यमन्त्री गिरीले भने, ‘उहाँको सम्मानमा जे काम भएको छ, त्यो राम्रो काम भएको छ । यसले सहिदप्रति गरेको सम्मानमा राम्रै सन्देश दिएको छ ।’ मुख्यमन्त्री गिरीले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकमा समृद्धि र रोजगारी बढाउनु पर्ने समेत बताए ।
‘मुलुकलाई समृद्धि र रोजगार सिर्जना गर्न अहिलेको तीनै तहको सरकारको प्रमुख दायित्व छ’, मुख्यमन्त्री गिरीले भने ‘त्यसको लागि तीनै तहका सरकारले विशेष योजना बनाएर काम गर्नुको विकल्प छैन ।’ मुख्यमन्त्री गिरीले सहिद पार्कलाई थप व्यवस्थित गर्न प्रदेश सरकार तयार भएको समेत बताए । ‘पार्क व्यवस्थापन गर्न तपाईंहरूले जुन कुरा राख्नुभएको छ, त्यसको लागि प्रदेश सरकार तयार नै छ । साधनस्रोतले भ्याएसम्म बजेट विनियोजन गर्न प्रदेश सरकार तयार छ’, मुख्यमन्त्री गिरीले भने ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद राजु खनालले सहिदहरूको त्यागले नागरिक अधिकार सम्पन्न भएको बताए । ‘सहिदहरूको त्याग र संघर्षबाट मुलुक यहाँसम्म आएको छ’, उनले भने, ‘यसलाई थप संस्थागत गरेर जानुको विकल्प छैन ।’ उनले पार्कको व्यवस्थापनमा आफूले भूमिका खेल्ने समेत बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले शालिक निर्माणले सहिदप्रति सम्मान भएको बताए । ‘एकातिर शालिक निर्माणले सहिदले गरेको त्यागप्रति सम्मान भएको छ भने अर्कोतिर पार्क निर्माणले घोराही बजारको सौन्दर्यता थपिएको छ’, नगर प्रमुख चौधरीले भने । पार्कलाई धुवाँधुलो नियन्त्रण र थप सुधार गर्नको लागि नगरपालिकाले काम गर्ने समेत नगर प्रमुख चौधरीले बताए ।
मगर संघ जिल्ला समन्वय समिति दाङका अध्यक्ष डिल्लीबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज निर्मल आचार्य, मंगोल नेशनल अर्गनाइजेशनका घनश्याम चौधरी, घोराही उपमहानरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंह बुढा मगर, मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जती रोका मगर, उपमहासचिव सावित्रा राना, मगर संघका दाङका इञ्चार्ज शीतलाल पुन मगर, केन्द्रीय सदस्य बलिभद्र कुसारी, सगरमाथा टोल विकास संस्था अध्यक्ष हुमाकान्त अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
मगर संघ दाङका वरिष्ठ उपाध्यक्ष मुक्त बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभिन्न व्यक्ति र संघसंस्थालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण मगर संघ दाङका सहसचिव नरेन्द्र थापा मगरले गरेका थिए ।