नारायणप्रसाद श्रेष्ठ
तनको सुन्दरतामा होइन मनको सुन्दरतामा रमाउन सक्नु नै सच्चा आनन्द प्राप्त गर्नु हो । जीवनले खोजेको सुन्दरता र आन्नद भनेको उसको आत्मसन्तुष्टि हो । आत्मसन्तुष्टि जीवनको उद्देश्य पनि हो । जीवन समयको गतिशीलतासँगै अगाडि बढिरहेको हुन्छ । सामाजिक परम्पराभित्र जकडिएको काम, क्रोध, लोभ, मोहरुपि प्रपञ्चमा रुमलिँदै मानिस चाहँदा नचाहँदै पनि समाहित हुन बाध्य भएको हुन्छ तर पनि उसले जीवनलाई सपनाको सुन्दरतामा रमाउन चाहिरहेको हुन्छ । समय अनुकूल परिर्वतन गर्दै अघि बढ्ने दृढता गरिरहेको हुन्छ ।
जीवनको गतिशीलतामा आउने बाधा अवरोध हटाउँदै भौतिक सुन्दरताले सजाइएको सुन्दरताभित्र रमाउन खोजिरहेको हुन्छ । वास्तवमा यस्तो अवस्था आउनमा काहाँ, कस्तो जिम्मेवारी र दायित्व हुन्छ, त्यस कुरातर्फ सबैको अनभिज्ञेता देखिन्छ । यो गम्भीर चिन्तनको विषय हो । किनकि बाह्य आवरणमा देखिने सुन्दरता जति नै मनमोहक भए पनि त्यसले ल्याउने परिणाम भनिएको विपरीत लिङ्गको आकर्षण मात्र हो । त्यसले ल्याउने परिणाममा सच्चाई नगन्ने हुन्छ । यस्तो स्थिति उसको इच्छाविपरीत पनि हुनसक्छ । यसतर्फ मानवीय चिन्तन कमजोर छ । यथार्थमा भन्ने हो भने भौतिक आडम्बरमा सजाइएको बाह्य सुन्दरता भनेको चर्मदृष्टिको भ्रम मात्र हो ।
यसको कुनै सीमा हुँदैन । यो क्षणिक पनि हुनसक्छ । त्यसैले सुन्दरतालाई पहिचान गर्न अन्तरमनको चछु उघार्न सक्नुपर्दछ । अन्तरहृदयभित्र लुकेको सत्यलाई बुझेर विचार र दृष्टि दिन सक्नुपर्दछ । हुन त कतिपय अवस्थामा यसको सही र गलत परिवेश थाहा नपाएर पनि मानिस स्वयम्ले गल्ती गर्ने, सच्चिने अवस्था हुन्छ । कतिपय अवस्थामा यस्तो पनि हुन्छ, जुनबेला मानिस स्वयम्को भ्रमित मनले परिस्थितिलाई बुझ्न नसकी समयको दास बनिरहेको अवस्था पनि हुन्छ । यस्तो अवस्थामा विचारमा विखण्डन र कर्म र व्यवहारमा फरक पर्ने अवस्था पनि आउन सक्छ ।
जुन अवस्थाले मानिस भित्रको ऊर्जामा केही हेरफेर भइ गलत चिन्तन पनि हुनसक्छ । विचार मोडिने स्थिति पनि हुनसक्ने हुन्छ । तसर्थ, यसलाई बुझेर मानिसले सच्चाईभित्र लुकेको सुन्दरतामा रमाउन सक्नुपर्दछ । बनावटी र भौतिकताभित्र लुकेको सुन्दरतालाई बुझेर त्यतातर्फ आकर्षित हुने अवस्थालाई हटाउन सक्नुपर्दछ । सुन्दरता आफैमा नराम्रो होइन तापनि यसले ल्याउने परिणामको ख्याल गरेर दिगो र जीवन्त हुने सुन्दरताको पहिचान गरी त्यसमा रमाउने वातावरण बनाउन सक्नुपर्दछ । यो हामी सबैको जिम्मेवारी पनि हो । आत्मसन्तुष्टि र आनन्द प्राप्तिको आधार पनि यस्तै सुन्दरताभित्र समाहित रहेको हुन्छ ।
हिजो विश्व जसरी फराकिलो दायरामा रहेको थियो, सञ्चारका माध्यमबाट टाढाको महसुस हुने अवस्था थियो । त्यो आज छैन । संसार अहिले साँघुरो घेराभित्र रहन पुगेको छ । एकले अर्कालाई हेर्ने, बुझ्ने अवस्थाले दृष्टिकोणमा फरकपन छ । हिजो र वर्तमानमा धेरै परिवर्तन भइसकेको छ । अहिले हेराइ र बुझाइमा स्वार्थ केन्द्रित भएको छ । तेरो र मेरोतर्फ सोच आकर्षित छ । कसलाई कसरी कहाँ फसाउन सकिन्छ भनि सोच विकास भइ चिन्तन र व्यवहारमा फरक अनुभूति हुने गरी प्रदर्शन भएको अवस्था छ । मानिस अहिले मनकोे सुन्दरतामा होइन तनको सुन्दरतामा रमाइरहेको पाइन्छ ।
चर्म दृष्टिले देखेको सत्यलाई मात्र सत्य ठान्ने प्रवृत्ति विकास भएको छ । प्रष्ट देखिने वस्तुप्रतिको सम्मोहनप्रतिको दृष्टिकोण बनेको छ । परिणामभन्दा क्षणिक स्वार्थ केन्द्रित दृष्टिकोणप्रति मानिसको ध्यान आकृष्ट भएको छ । बाह्य सुन्दरतामा रमाउँदै स्वार्थले उत्प्रेरित विचार प्रवाह भइरहेको छ । देखाउने र खाने दाँत अलग हुने गरी आफूले आफूपाइ भइरहेको छ । एकले अर्कालाई केवल स्वार्थ परिपूर्ति गर्नेतर्फ आकर्षित गर्नका लागि वचनमा मिठास, देखाइमा आफूलाई सुन्दर हुने गरी व्यवहार भइरहेको छ । वास्तवमा यस्तो अवस्था आउनु भनेको भौतिकताभित्र कृत्रिमताले शृंगारेको देखाउने मात्र हो ।
वास्तवमा बनावटी, क्षणिक, मिठासले जीवन कहिल्यै पनि सुन्दरतामा रमाउने वातावरण बनाउन सक्दैन । त्यसैले सुन्दरताभित्र लुकेको पवित्रतालाई स्थायी र दिगो राख्नका लागि मानिसले आफ्नो विवेकलाई सधैँ निष्कलड्ढित गराइराख्नु पर्दछ । कृत्रिमता भौतिकताको उपहार मात्र हो । यसले कहिल्यै पनि नैतिक र चरित्रवान्, सुन्दर जीवनको दिगोपन देखाउन सक्दैन । उसको काम केवल दृष्टिमा सुन्तरता छर्की विचार र कर्ममा स्वार्थी प्रवृत्ति जागृत गरी मनलाई भड्काउनु हो । सुन्दरता देखावटी वस्तु हो भनि मनमा भ्रान्ती सिर्जना गर्नु हो ।
विचारलाई क्षणिकतातर्फ आकर्षित गरी मनको सुन्दरतामा होइन बाह्य आवरणमा देखाउने सुन्दरतातर्फ ढकेल्ने परिस्थिति बनाउनु हो । मानिसलाई लतमा फसाइ उसको मनोविनोदमा अँध्यारो परिवेश ल्याउनु हो । मानिस एकपटक जुन किसिमको लत (बानी, संगत) संगतमा आकर्षित हुन्छ । तदअनुसार ऊ सधैँ त्यहीभित्र सन्तुष्टि खोज्नेतर्फ लाग्न पुग्दछ । यस्तो अवस्था आउनु भनेको विचार व्यवहारमा शून्यता छाउनु हो । भइरहेको शक्तिलाई छिन्नभिन्न गराइ आफूले आपैmलाई पतन गराउनु हो । यस्तो अवस्था देखिनु भनेको मानिसले आफ्नो अन्तर मनको सुन्दरता पनि हराउनु हो । त्यसैले सुन्दरता बाह्य आवरणमा होइन, अन्तर मनमा लुकेको हुन्छ भन्ने सत्यलाई जान्न सक्नुपर्छ ।
मानिस बाहिर एउटा भित्र अर्कै विचार लिएर अहिलेको वर्तमानमा दौडिरहेको छ । निःस्वार्थभन्दा स्वार्थ केन्द्रित विचारलाई बढावा दिइ क्षणिकतातर्फ आफूलाई प्रविष्ट गराइरहेको छ । प्रत्येक कदम–कदममा स्वार्थ र व्यभिचार कुरा गरिहेको छ । जीवनको यर्थाथ धरातल बिर्सी कुरुपतातर्फ आफूलाई धकेलिरहेको छ । भौतिक विज्ञानले ल्याएको परिवर्तनतर्फ मानिसको ध्यान आकर्षित हुन पुगेको छ । प्राकृतिक सुन्दरता र अन्तर मनमा लुकेको सुन्दरता र सत्यलाई पन्छाइ बनावटी चाल, कर्म र व्यवहारमा मानिसको ध्यान पुगिसकेको छ । यस्तो अवस्थामा सधैँ बसन्तको सुन्दरताभित्रमा रमाउन खोज्नु भनेको स्वार्थ केन्द्रित दृष्टिकोणलाई बढावा दिनु हो । यस्तो अवस्थामा हेर्ने, बुझ्ने दृष्टिकोणमा विवधता आउनसक्छ ।
जसरी प्रत्येक दिनमा आउने सुनौलो बिहानीको अनुभूति गर्दै प्राकृतिक सुन्दतामा रमाउने अवस्था विस्तारै क्षीण हुँदै जान्छ, पुनः बिहानीको नयाँ सञ्चार नगराएसम्म परिस्थिति आफू अनुकूल नभइ सुन्दर क्षितिजको परिकल्पना टाढा रहन्छ । पुनः प्राप्तकालीन सुनौलो किरणको अनुभूतिसँगै जीवनको खुसी, उमङ्ग र सुन्दरताभित्र रमाउने अवसर आउँछ । त्यसरी नै जीवनले खोजेको सुन्दरतापनि यसरी नै मुखरित नहोला भन्न सकिन्न तर पनि जान्नुपर्ने कुरा के हो भने बाह्य देखिने सुन्दरतामा वस्तु सधैँ सुन्दर हुँदैन, यसको अन्त्य सुरुवात सधैँ भइरहन्छ । जसरी जीवन, जन्म र मरणको चक्रमा घुमिरहन्छ त्यसरी नै सुन्दरता पनि घुमिरहने चक्रझै भइरहने सत्यलाई बुभ्mनु पर्दछ ।
त्यसैले सत्य र यथार्थ कुराको पहिचान गरी मनको सत्यले पहिल्याएको सुन्दरताभित्र स्थायित्व र दिगोपन हुन्छ भन्ने बुझि कृत्रिम र बनावटी तथा बाह्य सुन्दरतामा अल्मलिनु हुँदैन । यस्तो हुन गएमा गुणात्मक शक्ति कमजोर हुनसक्छ । जुन कुरा सामाजिक संस्कार र परम्पराले पनि प्रमाणित गराइरहको छ । किनकि समाजमा स्थापित मान्यताभित्र रहेको संस्कार र परिपाटीले मानिसलाई यसरी बाँधेको हुन्छ कि जसबाट ऊ अलग रहनसक्ने अवस्था पनि हुँदैन । उसलाई सामाजिक संस्कारले जकडिरहेको हुन्छ । यति कुरा थाहा हुँदाहुँदै पनि ऊ स्वार्थतर्फ जान बाध्य हुनसक्ने अवस्था पनि आउन सक्छ । तसर्थ, यस कुरालाई बुझेर केवल धैर्य र नम्रताको मार्ग अपनाउन सक्नु पर्दछ । म जस्तो सुन्दर कोही छैन भनि यदि अहंकार र अभिमानलाई आत्मसात गर्ने, हो भने त्यो पतनको मार्ग हुनसक्छ ।
अन्तरमनले देखेको सुन्दरताभित्र जति स्वच्छता र नम्रता हुन्छ । विचारमा पवित्रता र कर्ममा सकारात्मक भावको जागृत हुन्छ । त्यसरी नै भौतिकभित्र देखिने सुन्दरतामा यस्तो अवस्था नहुन सक्छ । भौतिकतमा हुर्केको सुन्दरता भनेको क्षणिक आवरणमा सजाइएको सपना मात्र हो । प्रकृतिको नियममा आबद्धता हुने कुनै पनि जीवको जन्मपछिको बयस्क जति मनमोहक र सुन्दर हुन्छ त्यही सुन्दरता उत्तारार्धमा आएर नभइरहेको पाइन्छ । यस्तो देखिनु भनेको प्राकृतिक नियमको सत्यता हो ।
यस्तो देखिनु बाह्य आवरणमा देखिएको क्षणिकता पनि हो तर मनभित्र लुकेको सुन्दरता यस्तो हुन्छ, जसकको न त व्याख्या र विश्लेषण हुन्छ, न कसैसँग तौलिने, दाँज्ने अवस्था हुन्छ । यो सदावहार पवित्र नदीझैँ बगिरहने सत्यसँग सम्बन्धित हुन्छ । त्यसैले मनको सुन्दरतालाई बुझेर सदाबहार जीवनको गतिशीलतामा आफूलाई सुन्दरताभित्र परिपोषित गरी कर्म र व्यवहारमा सच्चाइ प्रदर्शन हुने विचार र कर्म गरिरहनु पर्छ । त्यहाँ नै जीवनको सुन्दरता झल्कने अवस्था हुन्छ । मनले खोजेको सत्य भेटिन सक्छ । चेतना भया ।