Goraksha

National Daily

तरकारी भन्दा सस्तो बोइलर कुखुरा

लिलाधर वली

दाङ, चैत २८ । घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी मणी पौडेलको पछिल्लो भान्साको खाना बद्लिएको छ । दाल, भात र तरकारी पाक्ने भान्सामा पछिल्लो समय दाल, भातसँगै मासु पाक्ने गरेको छ ।

लकडाउनका कारण बजारमा तरकारी भन्दा बोइलर कुखुरा सस्तो भएपछि तरकरीको ठाउँमा खुकुराको मासु पकाउने गरेको उनले बताइन् । ‘कोरोना भाइरसका कारण बजार बन्द भएपछि हरियो तरकारी महंगीएको छ, मासु सस्तिएको छ’,उनले भनिन्,-‘महंगो तरकारी ल्याउनुभन्दा बोइलर खुकुरा ल्याएर खाने गरेका छौं ।’ उनले बोइलर प्रतिकेजी ५० रुपैयाँसम्म किन्ने गरेको बताइन् ।

पछिल्लो समय बजारमा हरियो तरकारी केराउ प्रतिकेजी ८० रुपैया, करेला १४०, भिण्डी प्रतिकेजी १४०, काउली–५०देखि ६०, सिमी ७०, बोडी प्रतिकेजी १४०, लौका, भण्टा प्रतिकेजी ५०देखि६०सम्म पर्ने गरेको छ । त्यो भन्दा सस्तोमा बोइलर कुखुरा पाइने भएपछि पौडेल जस्तै धेरैको रोजाइमा बोइलर पर्नु स्वभाविक पनि हो ।

‘अहिले बाहिर निकासी हुन सकेको छैन, जिल्लामा सम्पूर्ण होटेलहरु बन्द छन् । विक्रि गर्ने ठाउँ छैन, घाटा खाएर व्यवसायी कुखुरा बेच्न बाध्य हुनुहुन्छ ।’

लामो समयसम्म लकडाउनका कारण खुकुरालाई खुवाउने दाना बाहिरबाट आउन नसक्दा र तयारी अवस्थामा रहेका कुखुराहरु विक्रिका लागि बाहिर पठाउन नसक्दा आफुहरु समस्यामा परेको कुखुरापालक किसान चुडामणि पाण्डेयले बताए । प्रयाप्त मात्रामा दाना खाना नपाउँदा कुखुरा बढ्न नसक्ने अवस्था रहेको समेत उनले बताए । ‘कुखुराहरु तयारी अवस्थामा छन्, तिनलाई विक्रि गर्न पाइएको छैन’, उनले भने,-‘तयार भएका कुखुरालाई राखिराख्दा आफैलाई घाटा हो, त्यसैले घाटा खाएर कुखुरा बेच्न बाध्य छौं ।’ लकडाउनको अघि दुई सय बढिमा विक्रि भैरहेका जिउँदो कुखुरा अहिले मुस्किलले एक सय रुपैया प्रतिकेजी विक्रि हुने गरेको छ । उद्योग बाणिज्य संघले बोइलर कुखुरा जिउँदो प्रतिकजी १६० रुपैया विक्रि मुल्य तोके पनि त्यो मुल्यमा विक्रि हुनै नसकेको उनले बताए । उक्त मूल्यको तुलनामा किसानहरु तेव्वर घटेर समेत विक्रि गर्न बाध्य रहेको उनले बताए ।

कोरोना भाइरसका कारण सरकारले गरेको कलडाउनका कारण कुखुरापालक व्यवसायीले ठूलो घाटा बेहोर्नु परेको सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङका अध्यक्ष निमबहादुर बुढाथोकीले बताए । कुखुरालाई खुवाउने दाना पनि नपाइने र तयारी अवस्थामा रहेको बोइलर कुखुरा बाहिर निकासी गर्न समेत नसक्दा व्यवसायी समस्यामा परेको उनले बताए । ‘दाङमा उत्पादन हुने कुखुरा जिल्लासँगै ठूलो मात्रामा बाहिरसमेत निकासी हुने गरेको थियो’, अध्यक्ष बुढाथोकीले भने,-‘तर अहिले बाहिर निकासी हुन सकेको छैन, जिल्लामा सम्पूर्ण होटेलहरु बन्द छन् । विक्रि गर्ने ठाउँ छैन, घाटा खाएर व्यवसायी कुखुरा बेच्न बाध्य हुनुहुन्छ ।’ कुखुराका लागि छुट्टै दाना चाहिने र त्यो दाना पाउन समस्या हुँदा कुखुरा किसानलाई बचाउनै मुस्किल परिरहेको उनले बताए । मासुसँगै अण्डाका लागि कुखुरापालन गर्ने किसानहरु समेत समस्यामा परेको उनले बताए ।

आफ्नो लगानी डुव्ने अवस्था आएपछि बाध्य भएर किसानहरुले सस्तोमा कुखुराहरु विक्रि गर्न परिरहेको सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङका अध्यक्ष बुढाथोकीले बताए । उनका अनुसार जिल्लामा करिव १४ सय व्यवसायीहरु कुखुरापालन व्यवसायमा संलग्न रहेका छन् भने जिल्लामा प्रतिहप्ता ६० हजार कुखुरा उत्पादन हुने गरेका छन् ।