दंगीशरणमा रास्ट्रपति रनिङ शिल्ड सुरु

लक्ष्मण बस्नेत
दाङ, २६ माघ । दंगीशरण गाउँपालिकास्तरीय पाँचौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ बिहिवारदेखि सुरु भएको छ ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मावि हेकुलीको संयोजनमा संचालित प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य दीपक गिरीले गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरिले दंगीशरण् गाउँपालिकालाई खेलकुदको गन्तव्यका रुपमा बिकास गर्न आफू लागि पर्ने बताए ।

भौगोलिक भुबनोट र हावापानीका दृष्टिकोणले उत्तम पालिका खेलकुदको गन्तव्य बन्न खेल पूर्वाधार पहिलो आधार भएको भन्दै उनले पालिकामा बहुउद्देश्यीय कवर्डहल निर्माणलाई पहिलो प्राथिकतामा राखेको बताए ।

‘खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो । देशको समृद्धीमा यसको महत्वपूर्ण भूमिका छ’,उनले भने,‘ त्यसैले आजैदेखि खेल विकासमा जुटौ सिङ्गो पालिका खेलकुदको गन्तव्य अवश्य बन्नेछ ।’

कार्यक्रमका प्रदेशसभा सदस्य माननीय धनबहादुर मास्किले स्थानिय तहले ग्रमाणस्तरबाटै खेल विकासको स्पष्ट खाँका कोर्दै यसको विकासमा चासो र चिन्तन गर्नुपर्ने बताए । ‘मानव जीवनमा शिक्षाको जत्तिको महत्त्व छ । खेलकुद पनि त्यत्तिकै महत्त्व रहेकाले शिक्षा र खेलकुदलाई संगसंगै लैजानु छ’,उनले भने,‘ यस क्षेत्रको खेलकुदको बिकासमा पहल गर्नेछ ।’

साथै उहाँले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नुपर्ने बताए । गाँउपालिका अध्यक्ष सम्भु गिरिले बालवालिकाको सर्वाङगीन विकासको आधारशिला खेलकुद क्षेत्रको विकासमा आँफु लागि पर्ने बताए ।

गाउँपालिका सामाजिक बिकास समितिका संयोजक रोषण जंग शाहको स्वागत रहेको कार्यक्रममा विभिन्न कला संस्कृती झल्कने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन पालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारीले गरेका थिए ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिकास्तरका सामुदायिक तथा निजि बिद्याmलयको गरि ८ बिधालयको सहभागिता रहेको पालिका प्रेस संयोजक प्रमोद आचार्यले जानकारी दिएका छन । यसैबिच विहिवार सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड ईभेन्ट्समा बिरेन्द्र नमुना माबी हेकुली ५ स्वर्ण,१ रजत र १ कास्य पदका साथ अग्र स्थानमा रहेको छ ।

त्यस्तै सिद्धपृथ्वी माबी श्रीगाउ १ स्वर्ण, ४ रजत र २ कास्य पदकका साथ दोस्रो स्थानमा रहदा माबी मधपुर १ स्वर्ण,१ रजत र २ कास्य पदकका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिएका छन । प्रतियोगिता अन्तरगत भोलि शुक्रबार एथलेटिक्स, कबड्डी र भलिबल छात्र छात्रा तर्फ खेलहरु बिहान ८ बजेदेखि सुरु हुनेछ्न् ।