त्रिसिद्धेश्वरी राप्तीका स्मार्ट बस

स्तरीय यातायात र सामाजिक उत्तरदायित्व
खेमराज रिजाल
तुलसीपुर, २५ माघ । कुनै बेला खसीबोका सँगै मान्छेहरूलाई यात्रा गराउने साविकको राप्ती यातायात त्रिसिदेश्वरी राप्ती सार्वजनिक यातायात सेवा प्रालिमा रूपान्तरित हुँदा स्तरीय यातायात सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाहमा पनि उत्तिकै जिम्मेवार बन्दै आएको छ ।

रूपान्तरित त्रिसिदेश्वरी राप्ती सार्वजनिक यातायात सेवा प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको पूर्वसन्ध्यामा सो प्रालिले पत्रकार सम्मेलन गरी स्मार्ट बस सञ्चालनको उद्घोष गरेको छ । ती स्मार्ट बसहरू पत्रकारहरूसामू प्रदर्शन समेत गरिए । एयर सस्पेन्सन स्लीपर एसी नाम दिइएका ती बसहरू अत्याधुनिक सुविधा सम्पन्न थिए । ती बसहरूका साधारण सिटमा ब्ल्याङकेट सुविधादेखि एउटा गाडीमा ८ जनाका लागि सुतेर यात्रा गर्न सकिने सुविधा समेत उपलब्ध रहेको प्रालिले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

ती बसहरू प्रालिमा आबद्ध सदस्यहरूकै स्वामित्वमा रहेका छन् । पहिलो चरणमा दैनिक एउटा यस्तो बस तुलसीपुरदेखि काठमाडौंका लागि रात्री सेवामा सञ्चालन हुनेछ । क्रमशः अन्य बसहरू ल्याएपछि अन्य सहरहरूमा पनि यस्तो बस सेवा सञ्चालन गरिने प्रालिका अध्यक्ष तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले पत्रकार सम्मेलनमा जानकारी दिए । ती बसहरूमा सुतेर यात्रा गर्नका लागि दाङ काठमाडौं एक तर्फी भाडा १ हजार ८ सय रूपैयाँ तोकिएको छ भने स्लीपरका लागि प्रतिव्यक्ति २ हजार भाडा तय गरिएको छ ।

ती बसहरूमा एसी सुविधा जडान भएको छ । यात्रुहरूलाई हल्का नास्ता र पानीको पनि निःशुल्क व्यवस्था मिलाइएको तथा खाना खुवाउनका लागि उपयुक्त होटल तोकिनेछ । प्रालिले खाना खाने स्थानको पटक–पटक छड्के अनुगमन गर्ने पनि पत्रकार सम्मेलनमा बताइएको छ । यात्रुमैत्री व्यवहारका लागि स्टाफहरूलाई प्रशिक्षण दिइने र यात्रुमैत्री यातायात सेवालाइ प्रभावकारी बनाइने पनि सो अवसरमा बताइएको छ । ‘हामीले खाना, दोहोरो सिट र मेल गर्ने प्रवृत्तिमा कुनै कम्प्रोमाइज गर्ने छैनौँ, एक पटकको गुनासोमा व्यवसायी नसच्चिएको अवस्थामा १५ दिनको समय सीमा सच्चिनका लागि दिने छौँ, यो अवधिमा उही गल्ती दोहोरिए यस्ता व्यवसायीको क्यू कट्टा समेत गरिनेछ’, पत्रकार सम्मेलनमा हमालले भने ।

पत्रकार सम्मेलनमा २० वर्ष पुराना गाडी आफ्नो प्रालिमा नरहेको र यो भन्दा कम उमेरका बूढा गाडीहरूलाई विस्थापन गर्न भिन्नै योजना ल्याइ क्रमशः विस्थापित गर्दै लगिएको पनि पत्रकार सम्मेलनमा बताइएको छ । पुराना गाडि कटाए वापत त्यस्ता व्यवसायीलाइ राहत स्वरूप २ लाख रूपैया प्रालिले उपलव्ध गराउने पनि बताइएको छ । पुराना गाडि विस्थापित गरेर नयां गाडि भित्राउन चाहने व्यवसायीलाइ पनि इन्ट्रि शुल्कमा सहुलियत दिइदै आएको पनि प्रालिका अधिकारीहरूले पत्रकार सम्मेलनमा बताए ।

विसं २०४१ शालमा खुलेको यस राप्ती अन्चलकै सवै भन्दा पुरानो संस्था भौतिक सम्पत्तीका हिसावले नेपालमै पहिलो संस्थाका रूपमा स्थापित भएको छ । यो संस्थाका गाडि दुर्घटनामा परेको अवस्थामा घाइतेको स्वास्थ्य उपचार र मृतकलाइ विमा लगायत क्षतिपुर्तिमा पनि कुनै समस्या नरहेको बताइएको छ । प्रालिमा आवद्ध सवै व्यवसायीलाइ समान व्यवहार गर्दै अप्ठेरो परेकालाइ स्वास्थ्य उपचारमा सहयोग देखि आवद्ध कुनै सदस्यको मृत्यु भएमा त्यसवापत पनि सहयोग रकम प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

महासंघका सल्लाहकार समेत रहेका हमालले पत्रकार सम्मेलनमा आफू वर्गीय समानुपातिक क्यू प्रणालीमा यातायात सेवा सञ्चालनको पक्षमा रहेको बताउँदै केही समय दाङमा सञ्चालनमा आएका ८ वटा प्रालिबीच सिङ्गल डायलमा पनि प्रवेश गरेको बताए तर पछि सबै प्रालिहरू यसमा सहमत नभएपछि आ–आफ्ना प्रालिका गाडी आ–आफ्नै स्याडुलअनुसार छुटाउँदै आएका छन् । यसले गर्दा बसपार्कमै यात्रु तानातानको अवस्था रहेको पनि कार्यक्रममा पत्रकारहरूले जानकारी गराएका थिए ।

साथै पत्रकारहरूले सार्वजनिक यातायातमा खाना खुवाउने स्थान उपयुक्त नभएको, खाना उपयुक्त नभएको, शौच गर्नका लागि आग्रह गर्दा पनि भन्नासाथ गाडी नरोक्ने गरिएको, गन्तव्यसम्म यात्रु नपु¥याएर बीचमै मेल गर्ने गरिएको, आरक्षित सिट कार्यन्वयनमा नआएको, विद्यार्थी तथा ज्येष्ठ नागरिक सहुलियत कार्यान्वयनमा नआएकोलगायतका विषयमा सच्चिन प्रालिलाई सुझाव दिएका थिए ।

पत्रकारहरूको सुझाव पछि प्रालिका अध्यक्ष हमालले रचनात्मक सुझावको आफूले उच्च सम्मान गर्दै कार्यन्वयनका सन्दर्भमा प्रालि अघि बढ्ने स्पष्ट पारेका थिए । साथै सामाजिक उत्तरदायित्वको अभियानमा पनि प्रालि निरन्तर लागिरहेको भन्दै दृष्टिविहीनलाई निःशुल्क यात्रा तथा अपाङ्गहरूलाई ५० प्रतिशत सहुलियतमा यात्रा गराउने गरेको बताएका थिए ।

कार्यक्रममा प्रशासनिक सचिव प्रकाश भट्ट तथा प्रालिका सञ्चालक समिति सदस्य नारायणप्रसाद न्यौपानेले प्रालिले प्रवाह गर्दै आएका यातायात सेवाका विषयमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले त्रिसिदेश्वरी राप्ती सार्वजनिक यातायात सेवा प्रालिले पछिल्लो समयमा स्तरीय यातायात सेवा प्रदान गर्न लागिपरेको बताउँदै यातायात मज्दुर र व्यवसायीहरू अझै पनि यात्रुमैत्री यातायातमा सुधार हुनुपर्ने सुझाव दिए । कार्यक्रमको सहजीकरण प्रालिका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।

यसैबीच त्रिसिदेश्वरी राप्ती सार्वजनिक यातायात सेवा प्रालिको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आगामी फागुन १२ र १३ गते तुलसीपुरमा हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा सहभागिताका लागि पनि प्रालिले सञ्चारकर्मीहरूलाई हार्दिक निम्तो दिएको छ । अधिवेशनले आगामि दुई वर्षका लागिी नयाँ नेतृत्व चुन्ने पनि बताइएको छ । सो अवसरमा विभिन्न उत्कृष्ठ कर्मचारी, मज्दुर तथा व्यवसायीलाइ सम्मान गरिने छ भने दुर्घटना नगराएका चालकहरूलाइ पुरस्कृत गरीने छ । साथै साधारणसभाकै अवसरमा एक जना व्यवसायीलाइ गोला प्रथाद्धारा एउटा बस निशुल्क उपहार दिइने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो