पार्टीभित्र आमूल परिवर्तन आवश्यक : गिरी

प्रमोद आचार्य
दंगीशरण, २५ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले नेपाली कांग्रेसभित्र आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस दंगीशरण गाउँ इकाईको आयोजनामा भएको पालिका सम्मेलनमा प्रमुख अतिथिको तर्फबाट बोल्दै नेता गिरीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

गएको संघीय निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भएर पनि कांग्रेसले सरकारको नेतृत्व गर्न नसक्नुले कार्यकर्तामा केही निराशा छाएको बताउँदै यसमा कत्ति पनि विचलित नभएर पार्टीलाई अझै सशक्त र बलियो बनाउन लाग्न पनि उनले आम नेता कार्यकर्ताहरूलाई आग्रह गरे । ‘ठूलो दल भएर पनि सरकार गठनका क्रममा केही प्राविधिक त्रुटि भयो, हामी सरकार गठनको नेतृत्व गर्न पाएनौँ तर पनि हामी बलियो प्रतिपक्ष भएर काम गर्ने छौँ’, नेता गिरीले भने, यसबाट कत्ति पनि विचलित नहुन आम कांग्रेसजनहरूलाई आग्रह गर्दछु ।

नेता गिरीले दाङका गल्ली–गल्लीमा आफू घुमेको बताउँदै यहाँको सडक, सिंचाइ, विद्युत, कृषि, पर्यटनलगायत हरेक क्षेत्रको विकासमा प्रतिबद्ध रहने विश्वास व्यक्त गरे । ‘हामी सरकारको नेतृत्वमा छैनौँ तर पनि यस क्षेत्रको विकास निर्माणमा मेरो उत्तिकै जिम्मेवारी र भूमिका रहनेछ’, गिरीले भने । नेपाली कांग्रेस भ्रातृ संस्था चलायमान हुन नसक्दा कमजोर भएको भन्दै सवै भ्रातृ संस्थाहरूलाई चलायमान बनाउन आफूले केन्द्रीय समितिमा जोडदार माग राखेको पनि बताए । साथै आसन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई विजयी बनाउन सम्पूर्ण विद्यार्थी जगत लाग्नुपर्ने पनि उनको सुझाव थियो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा नेपाली कांग्र्रेसका अर्का केन्द्रीय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरीले दाङमा गुट उपगुटको नाम दिएर यो दीपक गिरीको मान्छे, त्यो गेहेन्द्र गिरीको मान्छे भनेर फुट गराउन लागि नपर्न आम नेता कार्यकर्ताहरूलाई आग्रह गरे । राजनीतिमा कोही शत्रु र कोही मित्र पनि नहुने उल्लेख गर्दै कहाँनेर के हुन्छ र कस्तो हुन्छ भन्न नसकिने हुँदा यो र त्योको बहानामा कांग्रेसलाई अपाङ्ग नबनाउन अनुरोध गरे । त्यस्तै विशिष्ट अतिथि गिरीले दाङमा १५औँ अधिवेशनसम्म पुग्दा तेस्रो समूहको उदय हुनेमा पनि आशंका व्यक्त गरे ।

सम्मेलनमा विशिष्ट अतिथिको आशनबाट बोल्दै नेपालि कांग्रेस दाङका जिल्ला शभापति शंकरप्रसाद डाँगीले कांग्रेसभित्रका समग्र जनशक्तिलाई सक्रिय रूपमा परिचालन गर्न कांग्रेसको विधि र विधान अनुरूप पहिलो पटक जिल्लाभरि वडा सम्मेलन हँुदै पालिका सम्मेलनको तयारीमा आफूहरू जिल्ला सम्मेलन गर्नतर्फ लागेको बताए ।

पार्टीलाई बलियो बनाउन सबैभन्दा बलियो भूमिका झुपडीमा बसेका कार्यकर्ता शुभेच्छुकको हुन्छ भन्दै उनले सबैको कांग्रेस सधैँको कांग्रेस बनाउन आम सहभागी नेता कार्यकर्तालाई आग्रह गरे । नेतृत्वको आवाज टोल समिति र वडासम्मका सम्मेलनले पु¥याएको पनि उनले दाबी गरे । पार्टी चलायमान हुन र बलियो बनाउने सबैभन्दा बलियो जग क्रियाशील सदस्य वडा र टोल कार्यसमिति रहेको जानकारी गराउँदै संगठन निर्माणमा लाग्न पनि उनले सबैलाई आग्रह गरे ।

यस्तै लुम्बिनी प्रदेशका निवर्तमान सदस्य शंकर गिरीले एकअर्कालाई आरोप प्रत्यारोपभन्दा पनि मिशन ०८४ का साथ संगठन निर्माणमा लाग्नुपर्ने बताए । सम्मेलनमा नेपाली कांग्रेसका महासमिति सदस्य केशव आचार्य, जिल्ला सचिव अर्जुन योगी, शान्तिनगरका सभापति झलक केसी, क्षेत्र नं. ३ ख का उपसभपति द्रोण देवकोटा, क्षेत्र नं. ३ ख का सभापति खिमबहादुर वली, ३ क का सभापति देवेन्द्र रिजाल, नेपाल तरुणदलका जिल्ला अध्यक्ष टीका घर्ती, जिल्ला सदस्य पद्मा चौधरी, जिल्ला सदस्य मुक्ती नेपाली, जिल्ला सहसचिव सुबोध डाँगीलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

नेपाली कांग्रेस दंगीशरणको आयोजनामा आयोजित प्रथम सम्मेलनमा बोल्ने वक्ताहरूले कांग्रेस जनताको घर–घरमा पुग्न र निम्न आय स्तर भएका जनताको मन जित्ने कार्यक्रम लिएर जनताको घर–घरमा पुग्न आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै वक्ताहरूले अब कांग्रेस एक हुन बाहेक अरु विकल्प नरहेको बताएका छन् । संगठन निर्माण र संगठन सुदृढीकरणको सवालमा पार्टी तथा शुभेच्छुक संघसंस्थाहरूलाई चलायमान बनाउन समेत आग्रह गरेका छन् ।

सम्मेलनमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह गरी तीनै तहमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै खादा तथा प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो । नेपाली कांग्रेस दंगीशरणका सभापति शम्भु गिरीको सभापतित्वमा भएको थियो । सम्मेलनमा संगठनको वार्षिक प्रतिवेदन दंगीशरणका नेपाली कांग्रेसका सचिव बामदेव बिस्टले गरेका थिए । त्यस्तै आर्थिक प्रतिवेदन दंगीशरणका कोषाध्यक्ष खुम केसीले गरेका थिए । नेपाली कांग्रेस दंगीशरणका उपसभापति गिरिराज न्यौपनेको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको सहजीकरण नेपाली कांग्रेस दंगीशरणका सचिव ओपेन्द्र राज शर्माले गरेका थिए ।