समाज सेवा गर्न पाउँदा …

मेडिकल लाइनदेखि कृषि कर्ममा उनी सधैँ तल्लिन हुन्छन् । उनको रुचि पनि समाज सेवा नै हो । अरूलाई सहयोग गर्ने भावना आफ्नो भएको उनी बताउँछन् । धेरैले पढेर विदेश जाने र उतै सेवा गर्ने गर्छन् तर उनले यहीँ आफू जन्मेको हुर्केको ठाउँमा सेवा गर्न पाउँदा आफू खुसी रहेको बताउँछन् ।

विसं २०३९ सालमा बिजौरी गाविस हाल तुलसीपुर–१८ बिजौरीमा जन्मिएका किशोर गौतम सधैँ खुसी र मुस्कान सहित सेवामा समर्पित हुन्छन् । उनका खुसीहरू खोज्न जाँदा उनी कर्ममै तल्लीन थिए । उनले मुस्कुराउँदै आफ्नो खुसी सेवा भएको बताए । ‘मेरो खुसी भनेको समाज सेवा नै हो, म सेवा गर्न पाउँदा खुसी हुन्छु’, गौतमले भने । उनले आफू सधैँ खुसीका साथ सत्कर्म गर्ने गरेको भन्दै उनले आफ्नो पहिलो खुसी भौवा नाकामा स्वास्थ्य शिविर सञ्चालन गर्दाको बताए ।

नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा दाङको सदस्यको माध्यमबाट विभिन्न संघसंस्थाहरूमा सहयोग गर्ने गरेको र जिल्लाको अति पिछडिएको ठाउँ गढवा गाउँपालिकाको भौवा नाकामा स्वास्थ्य शिविर सञ्चान गर्न पाउँदा आफूलाई पहिलो खुसी प्राप्त भएको उनले सम्झिए । ‘जीवनमा मैले धेरै सहयोग र सेवा गर्ने अवसर पाएको छु, त्यसमा पनि त्यो विकट ठाउँमा ५ सय १० जनालाई सेवा दिन पाउँदा मलाई निकै खुसी लागेको थियो’, गौतमले भने । त्यस दिन स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी समेत वितरण गरिएको उनी सम्झन्छन् । ‘मेरो पहिलो खुसी भौवा नाकामा स्वास्थ्य शिविर गरी पहिलो पटक त्यहाँका जनतालाई सेवा गर्न पाउँदाको हो, त्यही लेखिदिनुहोला’, उनले

भने । तुलसी बोर्डिङ स्कूलबाट हाइस्कूल लेभल पूरा गरी राप्ती बबई क्याम्पसबाट प्लस–टु गरेका गौतमले त्यसपछि आफू स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको बताउँछन् । हाल दाङको हापुरेमा माता मनकामना पोलिक्लिनीक प्रालि सञ्चालन गरेका गौतमले त्यहाँ पनि दूरदराजका बिरामीलाई सेवा गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए । त्यस्तै तुलसीपुरमा साझा निसन्तान तथा महिला उपचार क्लिनीक सञ्चालन गरेका गौतमले आफूहरूले विभिन्न समयमा निःशुल्क जाँच तथा शिविरहरू सञ्चालन गरी दुःखी, गरिब र स्वास्थ्योपचार सेवाट वञ्चित नागरिकलाई सेवा दिन पाउँदा खुसी लागेको सुनाए ।

‘महिलामा देखिने विभिन्न स्वास्थ्य समस्या तथा निसन्तानपनसम्बन्धी समस्यको लागि निःशुल्क स्वास्थ्य शिविर गरेर सेवा गर्न पाउँदा निकै खुसी लाग्छ’, उनले भने । त्यस्तै गौतमले कोभिडको त्यो विकराल समस्याको बेला नेपाल पत्रकार महासंघ दाङ जिल्लालाई सहयोग गर्न पाएकोमा पनि खुसी व्यक्त गर्छन् । ‘मानव सेवा आश्रम होस् वा विभिन्न स्थानमा सहयोग दिन पाउँदा र सबैले धन्यवाद दिँदा खुसी लाग्छ’, गौतम भन्छन् ।

नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको उपकोषाध्यक्ष तथा प्रेरणाको लागि अभियान नेपाल कुइरेपानी घोराही, मानव कल्याण समाज दाङलगायतमा रहेर विभिन्न काम गर्न पाउँदा पनि खुसी लाग्ने गरेको गौतम बताउँछन् । त्यस्तै स्वास्थ्य सँगसँगै विभिन्न धार्मिक स्थलहरूमा पनि आफूले सहयोग गर्ने गरको बताए । तुलसीपुर–१९ मा अवस्थित कालिका मालिका देविस्थान बाँसगढीमा मन्दिर परिसर अगाडि पितृहरूको नाममा गेट निर्माण गर्न पाउँदा अर्को खुसी प्राप्त भएको उनले सुनाए ।

यस्तै गौतमले स्वास्थ्य तथा समाज सेवा सँगसँगै कृषिमा पनि लगानी लगाएर कृषिबाट थोरै भए पनि अर्थतन्त्रमा टेवा पुगोस् भन्ने हेतुले माता मनकामना कृषि तथा पशुपालन फर्म सञ्चालन गरी बाख्रा पालन गरेको बताउँछन् । तुलसीपुर–१९ को छिल्लीकोटमा बाख्रापालन गर्न पाउँदा पनि खुसी लागेको सुनाए । ‘हामीले विदेशमा गएर त्यो ५० डिग्रीमा काम गर्न तयार हुन्छौँ तर आफ्नो देशमा केही सम्भावना देख्ने गरेका छैनौँ, त्यही प्रेणाका लागि मैले यो फर्म सञ्चालन गरेको हुँ, म त्यसमा पनि खुसी छु’, उनले भने ।

उनले त्यो सँगै स्थानीय स्तरमा धेरै थोरैलाई रोजगार र बाहिरबाट आयात गर्नुभन्दा यही खसी–बोकाहरू उत्पादन हुने भन्दै खुसी व्यक्त गरे । त्यस्तै अहिले दाङका विभिन्न स्थानमा रहेका जग्गाहरू बाँझो हुने गरेको भन्दै आफूले जिवसन एभोकाडो फर्म सञ्चालन गरी एभोकाडोको विरूवा समेत लगाएको सुनाए । तुलसीपुर–१६ मा आफूले एभोकाडो लगाएको भन्दै यसमा पनि खुसी भएको सुनाए । गौतमले विभिन्न सामाजिक सेवा तथा व्यापार व्यवसाय सञ्चालनका लागि आफूले घरपरिवार तथा अन्य साथीभाइबाट साथ सहयोग पाएकोमा पनि खुसी व्यक्त गर्छन् ।

उनले आप्mनो घरपरिवारमा पनि श्रीमती, छोरा–छोरी सबै आफन्तहरूको सहयोग पाएको भन्दै आफू पारिवारिक रूपमा पनि खुसी भएको बताए । गौतमले सत्कर्म तथा अरूलाई सेवा गर्न पाउँदा आफूलाई खुसी लाग्ने गरेको बताए । तुलसीपुर–१८ निवासी किशोर गौतम स्वास्थ्यकर्मी तथा माता मनकामना पोलिक्लिनीक प्रालिका सञ्चालक तथा विभिन्न संघसंस्थामा आबद्ध छन् ।