नारायणप्रसाद श्रेष्ठ
भौतिकवादको क्षणिक सुखानुभूतिले आकर्षित मानव मनको चाहना वर्तमानमा निकै उकुसमुकुस भएर बाहिर आइरहेको छ । पर्ख र हेरको कुराभन्दा तुरुन्तै आफूले चाहेको हुनुपर्छ भन्ने मान्यतामा व्यक्तिको भागदौड भइरहेको छ । समय र परिस्थितिको आँकलनतर्फ मानिसको सोच कमजोर छ । सूर्योदयको अनुभूति गरेको प्रकृतिको नियमलाई आत्मसात गरिरहेको जीवनचक्रको इतिहास बुझेको सक्षम मानव जीवन भएर पनि समय अनुकूल क्रमशः समस्या समाधान हुँदै जान्छ भन्ने कुरामा शंका, भयको दृष्टिकोण राख्दछ । सुख, दुःख, राम्रो, नराम्रो, ठूलो, सानो, धनी, गरिब, प्राप्ति, अप्राप्ति यो समयसापेक्ष भएकै हुन्छ भन्ने सत्यको धरातल कमजोर भएको पाइन्छ ।
जीवनको गोरेटोमा पर्ने बाधा अट्काउको समाधान म, हामीबाट हुन्छ भन्ने सत्य थाहा हुँदाहुँदै पनि तातै खाऔँ, चाँडै मरौँ भनेझै गरी जन्मँदै दौडिन खोज्ने प्रवृत्तितिर मानवीय चिन्तन बढेको छ । विचारलाई विवेकले छटनी गरी शुद्ध र आचरणयुक्त विचार प्रतिपादन गरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ भन्ने चिन्तन कमजोर छ । जीवनको गतिशीलताले ल्याउने परिवर्तनभन्दा भौतिकवादले देखाएको गोरेटो नै सत्यको धरातल हो भन्ने गरी मानवीय विवेक प्रयोग भइरहेको छ ।
क्षणिक भावावेषमा राम्रोभन्दा नराम्रोतर्फ चिन्तन सल्बलाइरहेको छ । यति मात्र होइन, मभन्दा ऊ जान्ने भयो, मैले गर्नुपर्ने काम उसले ग¥यो भन्दै आफ्नो कमजोर मानसिकता लुकाइ अरुलाई कसरी हतोत्साही गराउन सकिन्छ भन्नेतर्फ मानवीय चिन्तन सक्रिय भएको पाइन्छ । यसले सामाजिक परम्परा र मानवीय आचरणभित्रको संस्कृतिप्रति नै प्रश्न उठ्ने खतरा बढेको छ । हरेक दिनले नयाँ अनुभूति गराउने प्रकृतिको नियम थाहा हुदाहुँदै पनि जीवनलाई साँघुरो घेराभित्र मानिस स्वयम्ले लैजाँदै गरेको अवस्था छ । समय बलवान् हुन्छ भन्ने यथार्थ भन्दा म र मेरो विवेक नै सबै हो भन्ने गरी अहमपनको व्यवहार भइरहेको देखिन्छ । सेवामुखी चिन्तनभन्दा नाफामुखी चिन्तन बढेको देखिन्छ ।
त्यसैले भौतिकता र आध्यात्मिकताले ल्याउने यी सबै परिवर्तनलाई आत्मसात गरी क्षणिक भावावेषमा आउने चिन्तन छोडेर एकअर्काप्रति विश्वास र भरोषा बढाउँदै अघि बढ्नुपर्छ ।
जीवन समयको गतिशीलतासँगै अघि बढिरहेको हुन्छ । बाल, युवा, वृद्ध हुँदै सृष्टिचक्रको इतिहास लेखिँदै गरेको हुन्छ । उत्पत्ति हुने, नष्ट हुने यो प्रकृतिको नियम हो । प्रत्येक वर्षको बसन्त ऋतुमा लाग्ने पालुवा शिशिरमा आएर सबै झर्ने सत्य हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहने सत्य हो । हिउँदपछि वर्षा, वर्षापछि हिउँद प्रकृतिक सत्यभित्रको अविरल गतिशील भइरहने यथार्थ हो ।
शृष्टिचक्रको इतिहास सुरु भएदेखि वर्तमानसम्म मानवीय जीवन पद्धतिमा कति परिवर्तन भए ? हाम्रा पुस्ता कति फेरिए, कति परिवर्तन हुने हुन् ? यसको यथार्थ बुझेको मानवीय चिन्तनभित्र समयको सत्यलाई नबुझी म नै सबै हुँ भन्ने डम्भ राख्नु कति उचित होला ? आज रोपेको तरकारी भोलि नै तयार गर्छु भनी समयलाई नपर्खने प्रवृत्ति के मानव जीवनलाई सुहाउने आचरण हो ? सधैँ बिहान हुँदैन, बिहानपछि दिउँसो, दिउँसोपछि सन्ध्या र सन्ध्या पछि रात यो त प्रकृतिको नियम होइन र ? नतिजा आउन केही ढिलो अवश्य हुनसक्छ तर त्यसले ल्याउने सत्य यथार्थ हुनुपर्छ । यो सर्वमान्य सिद्धान्त पनि हो । कर्म र व्यवहारमा परिस्कृत नगरी कसैप्रति दुराभाव, होच्याउने, हतोत्साह गराउने प्रवृत्ति के मानव आचरण हुन् र ?
संस्कृति र संस्कारमाथि धावा बोल्दै, वर्गीय मतभेद बढाउँदै आफूले गरेको कर्म र व्यवहारलाई नहेरी अरुप्रति धावा बोल्ने प्रवृत्ति वास्तवमा मानव आचरण विपरीत कार्य हुन् । सधैँ बसन्त खोज्ने प्रवृत्ति देखाउनु भनेको समयलाई नजान्नु पनि हो । भौतिकताले संसार छोपेको वर्तमानलाई हेर्ने हो भने र आफ्नो जन्मेको धरातललाई बिर्सने हो भने मानव जीवन सत्यको नजिक कहिल्यै पुग्न सक्दैन । प्रत्येक पाइलाले निर्धारण गर्ने गन्तव्यलाई बिर्सेर एकैचोटि बुर्गुच्ची मार्छु भन्नु कति जायज ? अर्को कुरा, रातपछि दिन र दिनपछि रात हुन्छ भन्ने सत्यलाई चिनेको मानव विवेकले सधैँ अँध्यारो गराइरहन्छु भन्नु कति जायज ?
मानवीय धर्म र संस्कृति मेटिए समाज कति क्रुर र गतिछाडा हुन्छ, त्यसतर्फ ध्यान नदिइ मेरो बाख्राको छैय शेर भनेर सधैँ गर्जनु प्राकृतिक नियमभन्दा टाढा रही न्याय अन्यायमा विवेक प्रयोग गर्न नसक्नु तथा न्यायलाई आफ्नो गोजीको सम्पत्ति ठान्ने प्रवृत्ति गर्नु भनेको आफूले आफैलाई उमाल्दै पोखिनु हो । त्यसले आफैलाई नोक्सान पु¥याउँछ । तसर्थ, गलत मानसिकताले उब्जने जति पनि विचार हुन् त्यसलाई समयको परिस्थिति अनुकूल छटनी गर्दै कोहीकसैप्रति कुनै किसिमको भोदभाव नराखी पर्ख र हेरको सिद्धान्त अनुकूल आफ्नो आचरण र व्यवहारलाई परिस्कृत गर्नु गराउनुपर्छ ।
भौतिकवादले ल्याएको क्षणिकतामा रमाउनु भनेको स्वार्थी प्रवृत्ति हो । कसैको इसारा वा आफ्नो विवेक बन्द गराउनु भनेको अरुको निर्देशनमा आफूलाई परिचालन गर्नु हो । यसले कुनै दिन उसैको शिकार बन्नुपर्ने सत्य बुझ्न जरुरी छ । वास्तवमा हाम्रो जीवनको उद्देश्य क्षणिकतामा होइन, अविरल गतिशील हुने नदीको स्वच्छ र पवित्र गंगाझैँ बगिरहने सत्यमा चलायमान भएको हुन्छ, त्यस सत्यलाई बुझ्न जरुरी छ ।
गिलो माटोझैँ मानव सोच र चिन्तन पनि गिलो हुन्छ । यसलाई मलजल दिइ तन्दुरुस्त बनाइ गतिशील बनाउनु भनेको संस्कार हो । जहाँ उत्तम संस्कार हुन्छ, त्यहाँ सकारात्मक विज स्वतः उम्रन्छ । तसर्थ, आफूले पथप्रदर्शकको हैसियतले निर्वाह गर्नुपर्ने आचरणलाई भविष्यको मार्गनिर्देशक बन्ने गरी व्यवहार र कर्ममा परिवर्तन गर्न सक्नुपर्छ । आफ्नो क्षमता र सीमाको आँकलन नगरी अगाडि बढ्न्ु भनेको आफै पतन हुनु हो । फेरि गलतलाई गलत र राम्रोलाई राम्रो नभनी सधैँ नकारात्मक प्रवृत्ति उन्मुख भइरहने मानवोचित आचरण होइन ।
सेवामा राजनीतिभन्दा नाफाको राजनीति भइरहेको वर्तमान अवस्थालाई मूल्यांकन गर्ने हो भने अहिले मानवीय आचरण स्वार्थपरक चिन्तनतर्फ बढी आकर्षित भइरहेको छ । तसर्थ, समय र परिस्थिति अनुकूल आचरण र व्यवहार गर्दै पर्ख, हेर अनि गर भनने सिद्धान्तलाई आत्मसात गरी सकारात्मक प्रवृत्ति उन्मुख जीवनलाई गतिशीलता दिनु वर्तमानले खोजेको सत्य हो । यो नै जीवनको उद्देश्य पनि हो । भौतिक र आत्ध्यात्मिकवादको निचोड पनि यही हो । चेतना भया ।