लमही नगरपालिका–५ कोइलाबास रोड लमहीमा व्यवसाय गर्ने शीतल भुसाल उमेरले करिव चारदशक भएका छन् । मिलनसार, सहयोगी, कर्ममा विश्वास गर्ने उनी सफल व्यवसायीका रूपमा परिचत छन् । लमहीमा सफल व्यवसायीका रूपमा स्थापित व्यवसायीसँगै नेतृत्व गर्न सक्ने क्षमताका धनी भुसालले छोटो समयमै व्यावसायिक क्षेत्रमा समते सफलता प्राप्त गरेका छन् । सोही कारण उनी व्यवसाय थपसँगै विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा समेत पुग्ने गरेका छन् ।
घरको मध्यआर्थिक अवस्था रहे पनि उनी करिब दुईदशक अघि (२०५८–२०६३) सम्म वैदेशिक रोजगारीका क्रममा साउदी र दुबई बसेका थिए । विदेशमा कुकका रूपमा काम गरेका भुसालले राम्रो कमाइ समेत गरे । लामो समय विदेशमा बस्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भनेर २०६३ सालमा स्वदेश फर्किएका उनले सोही वर्ष दाङको लमही आएर करिब ६ लाख लगानीमा फेन्सी व्यवसाय गर्न सुरु गरेको बताउँछन् । सुरुमा ६ लाख रूपैयाँबाट सुरु गरेको उनको व्यवसाय अहिले करोड पुगिसकेको छ । विदेशमा बस्दा कमाएको लगानी लगाएर आफ्नै देशमा व्यवसाय सुरु गर्दाको क्षण आफ्नो जीवनको पहिलो खुसीको क्षणक भएको भुसाल बताउँछन् ।
‘रोजगारीको सिलसिलामा करिब ६ वर्ष विदेशमा बसेँ । त्यस क्रममा अर्काको काम गरेर विदेशमा बस्नुभन्दा आफ्नै देशमा बसेर केही गर्ने सोच बन्यो’, भुसालले भने, ‘त्यही सोच लिएर घर फर्किएपछि दाङको लमही आएर फेन्सी व्यवसाय सुरु गरेको थिएँ ।’ फेन्सी व्यवसाय राम्रो हुँदै गएपछि विस्तारै पार्टनरसिपमा लमहीकै देउपुरमा पशुपालनका लागि कृषि फर्म र व्यवसायका लागि मिनी मार्ट समेत सञ्चालन गर्दै आएको बताउँछन् ।
२०३७ असार ११ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१० धरमपानीमा बुबा गुणनीधि भुसाल र आमा माया भुसालका ज्येष्ठ छोराका रूपमा जन्मिएका थिए । चार भाइबहिनीमध्ये भुसालका एक दिदी, एक बहिनी र भाइ रहेका छन् । जन्मघर अर्घाखाँची भए पनि व्यवसायको सिलसिलमा विगत डेढदशकदेखि दाङको देउखुरीमा व्यवसाय गर्दै आएका छन् । भुसाल सामाजिक सेवाका कार्यसँगै व्यावसायिक हकहितका लागि चेम्बर अफ कमर्श लमहीको अध्यक्ष भएर नेतृत्व गर्दै आएका छन् ।
२०४६ सालदेखि गाउँमै रहेको आदर्श प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका भुसालले २०५६ सालमा सदरमुकाममा रहेको जनज्योति माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका थिए । एसएलसीपछि विवाह गरेका भुसालले पढाइलाई अघि बढाउन सकेनन् । पढाइमा मध्यमखालका भुसालले विवाह गरेपछि पढाइलाई छोडेर आर्थिक आम्दानीको काममा जोडिनु परेका कारण पढाइ छोड्नु परेको बताउँछन् ।
एसएलसी पास गरेपछि विवाह समेत गरेका भुसालले आफूले मन पराएर माया गरेकी सरिता भुसाललाई जीवन संगीनीका रूपमा अपनाउँदाको क्षणलाई जीवनको अर्को खुसीको क्षणका रूपमा लिन्छन् । ‘प्रेम गरे पनि धेरैका सफल भएका हुँदैनन्, हामीलाई पनि एक हुनका लागि संघर्ष गर्नु परेको थियो । एउटै स्कूलमा पढ्दै गर्दा प्रेम भयो । करिव दुई वर्ष प्रेममा बसेपछि विवाह गर्ने निर्णय ग¥यौँ तर घरबाट सहमति भएन’, उनले भने, ‘विवाहका लागि घरमा नमानेपछि हामी भागेर काठमाडौं गएर रुम भाडामा लिएर बस्नु परेको थियो । पछि घरपरिवार पनि सहमत हुनुभयो ।’ भुसाल दम्पतिका छोरी स्नेहा र छोरा इस्मित दुई सन्तान रहेका छन् ।
समयको विकासक्रमसँगै अहिले वैदेशिक रोजगार सामान्यजस्तै बनेको छ तर आजभन्दा करिब २० वर्ष अघि कमाउनका लागि विदेश जाने सामान्य थिएन । कमाउनका लागि भारत जाने अवस्था थियो तर अन्य मुलकहरूमा कमै मात्रामा मानिसहरू जाने गरेका थिए । विरानो मुलुक, प्रदेशको जीवन, भर्खरै विवाह गरेकी जीवनसाथीसँगै परिवारदेखि टाढा हुनुपर्ने बाध्यता र नबुझिने भाषालगायतका कारण नराम्रो महसुस हुन्थ्यो तर विदेश जाँदा प्लेन चढ्दाको त्यो क्षण भने जीवनको अर्को खुसीको क्षणका रूपमा रहेको भुसाल बताउँछन् । ‘त्यो बेला नेपालका सबै ठाउँमा गाडी पुगेकै थिएन । त्यस्तो समयमा प्लेन चढ्ने कुरा भएन । त्यसैले टाढाबाटै देख्ने गरेको मात्रै थिएँ’, उनले भने, ‘त्यही समयमा पहिलो पटक विदेश जाँदा प्लेन चढ्दाको क्षण पनि मेरो जीवनको अर्काे खुसीको पल हो । जुन सुरुमा प्लेन चढ्दा मनमा डर त्रास भए पनि मनमा सधैँ सम्झना भइरहने खुसीको क्षण हो, त्यो ।’
बाबुआमाका लागि सन्तानको खुसी पनि आफ्नो खुसी हो । सन्तानले प्राप्त गरेका सफलताहरू अभिभावकहरूका लागि खुसीका क्षण हुने गर्दछन् । छोराछोरीहरू सानै भए पनि पढाइमा प्राप्त गरेका सफलताले खुसी दिलाउने गर्छ । तिनैमध्यको एउटा खुसीको क्षण गत वर्ष एसइईमा छोरीले प्राप्त गरेको फोर जिपिए पनि एक भएको भुसाल बताउँछन् । ‘छोराछोरी दुबै पढाइमा राम्रै छन् । मिहिनेत गरेर पढ्छन् । गत वर्ष छोरीले लमहीकै सनलाइट बोर्डिङ स्कूलबाट एसइई परीक्षामा फोर जिपिए ल्याएर पास गरेकी थिइन् । त्यो क्षण पनि मेरो जीवनको खुसीको क्षण हो’, भुसाल भन्छन्, ‘अहिले काठमाडौंमा छोरीले साइन्स पढ्दैछ । छोराले सनलाइटमै पढै्छ ।’
लमही चेम्बर अफ कमर्शका अध्यक्ष समेत रहेका भुसाल नेकपा एमालेका जिल्ला सदस्य, देउखुरी उद्योग वाणिज्य संघको दुई कार्यकाल कोषाध्यक्ष, सामुदायिक सेवा केन्द्र लमहीको सल्लाहकार, देउखुरी क्रिकेट क्लवका सदस्य, लमही रेडक्रस सोसाइटी शाखाका सदस्य, गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ चौघेरा मन्दिर व्यवस्थापन समितिका सदस्यलगायतका विभिन्न संघसंस्थामा आबद्ध छन् ।
प्रस्तुती : लिलाधर वली