नेतृत्व एवम् उद्यमशीलतामा काम गर्ने छौ : अध्यक्ष वली

तुलसीपुर नगर जेसीजको नयाँ नेतृत्वमा शालिकराम वली आएका छन् । हालै सम्पन्न जेसीजको अधिवेशनबाट वली नेतृत्वमा आएका हुन् । शान्तिनगर गाउँपालिकाको एकलीमा जन्मिएर उनी सानै उमेरदेखि शिक्षा तथा तुलसीपुर क्षेत्रमा सामाजिक तथा युवा व्यवसायीका रूपमा परिचित युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व हुन् ।
वि.सं २०४० सालमा जन्मिएका वली तुलसीपुर नगर जेसीजमा संस्थापक सहसचिव हुँदै वर्ष २०१३ मा कोषाध्यक्ष, वर्ष १४ मा कार्यकारिणी उपाध्यक्ष, वर्ष २०१५ देखि २०२० सम्म विभिन्न पदमा संयोजक रही वर्ष २०२१ मा बोर्ड सल्लाहकार, वर्ष २०२२ मा वरिष्ठ सल्लाहकार हुँदै वर्ष २०२३ को लागि तुलसीपुर नगर जेसीजको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
वर्ष २०२३ को लागि निर्वाचित भएसँगै उनीसँग जेसीज अभियान, तुलसीपुर नगर जेसीज र आफ्नो नेतृत्वमा रहँदै गर्दाको भावि योजना, कार्यक्रम तथा जेसीजको अभियानबारे शालिकराम वलीसँग गोरक्ष कर्मी बालाराम खड्काले गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ यहाँलाई, गोरक्षको साता वार्तामा ?
तुलसीपुर जेसीजको बारेमा कुरा राख्ने अवसर जुराउनुभएकोमा तपाईँ अनि तपाईँको पत्रिकालाई धन्यवाद ।
कसरी र कहिलेबाट जेसीजमा लाग्नुभयो ?
म सानैबाट विभिन्न संघसंस्थामार्फत् सामजिक क्रियाकलापमा सरिक हुने गरेको थिए । जेसीजमार्फत् पनि समाजमा केही काम गर्न सक्छन् भन्ने लाग्यो र यही क्रममा तुलसीपुरका केही युवा साथीहरू मिलेर २०१२ मा तुलसीपुर नगर जेसीज स्थापना गर्ने कार्यक्रम तय भयो । त्यो सँगै हाम्रो आदरणीय संस्थापक अध्यक्ष दीपेन्द्र सर तथा अन्य यस क्षेत्रमा क्रियाशील अग्रज साथीभाइहरू मिलेर म संस्थापक सहसचिव हुँदै यहाँसम्म आउँदा विभिन्न पदमा रही काम गरेको अनुभव छ । एउटा सामाजिक संस्था जेसीजजस्तो संस्थामा लागेर समाज सेवा गर्ने उद्देश्यले म जेसीजमा लागेको थिएँ ।
जेसीज संस्था के हो र यसले के काम गर्दछ ?
जेसीज एउटा सामाजिक संस्था हो । संक्षेपमा जेसीज भनेको १८ देखि ४० वर्षसम्मका युवाहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था हो । अर्थात् यो प्रत्यक्ष रूपमा सामाजिक विकासप्रति समर्पित संस्था होइन । यो संस्थाको केन्द्रविन्दु व्यक्ति (मानिस) हो । सामान्य अवस्थामा जन्मने कोही पनि सक्षम वा असक्षम हुँदैन । प्रत्येक मानिसभित्र प्रतिभा हुन्छ र उक्त प्रतिभालाई प्रष्फुटन गराउन उपयुक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ ।
जेसीजले आफ्ना सदस्यहरूलाई उपयुक्त अवसरहरू उपलब्ध गराएर उनीहरूको अन्तर्राष्ट्रिय प्रतिभालाई प्रष्फुटन गराइ तिनीहरूको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाइ एक असल नागरिक बनाउने गर्दछ । प्रत्यक्ष रूपले यस्तो भावना लिएर स्थापित गरिएको जेसीज पहिलो संस्था हो । समष्टिगत रूपमा जेसीजले मानवीय विकासमा बढी जोड दिएको छ । सक्षम मानिसहरूको विकास हुन सकेमा समाज, राष्ट्र र विश्वको स्वतः विकास हुन्छ । आजसम्म विश्व समुदायले जे–जस्तो विकास गरेको छ त्यो सबै सक्षम मानिसकै देन हुन् ।
यस पृथ्वीको सबैभन्दा उत्कृष्ट प्राणी भनौँ वा सबैभन्दा बहुमूल्य सम्पत्ति त्यो हो जुन केवल मानव मात्र हो, अरु कोही होइन । यसप्रकार जेसीजले समाजका निमित्त सक्षम एवम् असल व्यक्तित्वको निर्माण गरी अप्रत्यक्ष रूपले समाजको विकास गर्दछ । साधन स्रोतको क्षेत्रमा जतिसुकै समृद्ध भए पनि त्यसको परिचालन गर्ने क्षमता व्यक्तित्वको नेतृत्व भएन भने परिणाम नकारात्मक नै आउँछ । जेसीजले खास गरी विभिन्न ४ क्षेत्रहरूमा काम गर्छ । व्यक्तिगत क्षेत्र जसमा विभिन्न तालिममार्फत् युवाहरूको व्यतित्व र नेतृत्व विकास गर्नुका साथै उद्यमशीलता विकास गर्न प्रेरित गर्छ ।
यसैगरी सामुदायिक क्षेत्रअन्तर्गत युवाहरूलाई विभिन्न कार्यक्रम, सामाजिक अभियानको संयोजकको भूमिका निभाउने मौका दिएर सामाजिक उत्तरदायित्व निर्वाह गराउन सिकाइन्छ । यसैगरी व्यवसाय क्षेत्रअन्तर्गत युवाहरूलाई विभिन्न पेशा, व्यवसायमा लाग्न उत्प्रेरित गरिन्छ । पेशा व्यवसायलाई कसरी मार्केटिङ गर्ने, कसरी मुनाफा आर्जन गर्न सकिन्छ भनेर सिकाइन्छ र कुशल व्यवसायी बनाउन पनि जेसीजले प्रेरित गर्दछ । अन्तिममा जेसीजले अन्तर्राष्ट्रिय क्षेत्रअन्तर्गत देश तथा अन्य देशका युवाहरूसँग भाइचाराको सम्बन्ध स्थापित गर्न मद्दत पुर्याउनुका साथै सहयोग आदानप्रदानमा टेवा पु¥याउँछ । जेसीजले सबै क्षेत्रका युवाहरूलाई समेटेको छ र यसले खास गरी नेतृत्व र व्यक्तित्व विकास गर्छ ।
नगर जेसीजले के–कस्ता अभियानहरू सञ्चालन गरेको छ ?
पहिला आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न किसिमका तालिमहरू सञ्चालन गरेका थियौँ । जेसीजमार्फत् हामीले युवाहरूलाई विभिन्न तालिममार्फत् नेतृत्व, व्यक्तित्व विकास गर्नुका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत् समाजमा आइपर्ने जस्तोसुकै समस्यालाई पनि सहज बनाउने काम गरिरहेका छौँ । पहिले खास गरी कोभिडबाट बच्ने र बचाउने अभियान, बिरामीलाई रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम, निःशुल्क शिक्षण, सरसफाई, सचेतनालगायतका विभित कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ ।
त्यस्तै जेसीजले यस क्षेत्रमा हुने विभिन्न काममा साझेदारी र सहकार्य गरी संघसंस्था र विभिन्न व्यक्तिहरूबीच भाइचाराको सम्बन्ध स्थापित गरी युवाहरूलाई विभिन्न क्षेत्रमा चिनाउने काम गरेको छ । जेसीजका उदाहरणीय काममध्ये (चमेरे गुफा जाने बाटोलाई मर्मत तथा कालोपत्रे गर्ने अभियान चलाएको थियो । यसैगरी जेसीज चोक स्थापना गरेको छ ।
तुलसीपुर उपमहानगर पालिकाको पूर्व, पश्चिम, उत्तर, दक्षिणमा सीमा स्तम्भ राखेको छ । जेसीजले आफ्नो भवन बनाउन सफल भएको छ भने अझै सराहनीय काम अहिले भर्खरै तुलसीपुर बसपार्क जाने बाटोमा यात्रुहरूलाई सफा पिउने पानी खुवाउने उद्देश्यले जेसीज धारा निर्माण गरेका छौँ । हामीले विभिन्न सामाजिक अभियानमा सक्रिय भएर लागेका छौँ ।
सन् २०२३ मा तपाईको भावि योजना के–कस्ता छन् ?
तुलसीपुर नगर जेसीजको म ११औँ अध्यक्ष हुँ । प्रत्येक वर्ष हरेक अध्यक्षको आफ्नो कार्यकाल सफल बनाउनलाई केही न केही नयाँ काम गर्दै जेसीजलाई समाजमा स्थापित गर्नुभएको छ । मैले पनि आफ्नो कार्यकालमा केही काम गर्ने योजना बनाएको छु । आफ्ना सदस्यहरूलाई विभिन्न तालिमका माध्यमबाट व्यक्तित्व एवम् उद्यमशील गराई समाजमा सफल नेतृत्व र सफल व्यवसायी पस्किने योजना छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकासँग सम्मन्वय गरी १९ वटै वडामा रहेका विद्यालयमा गएर शैक्षिक कार्यक्रम र सचेतनामूलक कार्यक्रम चलाउने, सामुदायिक स्कूलका न्यून आयस्रोत भएका गरिब तथा विपन्नवर्गका विद्यार्थीहरूलाई हाम्रो अक्षयकोषबाट प्राप्त व्याज रकमबाट शैक्षिक सामग्री वितरण गर्ने, ‘स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने मूलमन्त्रलाई आत्मसात गरी विभिन्न खेलकुद प्रतियोगिता गराइ खेलकुदका माध्यमबाट स्वस्थ नागरिक बनाउने अभियान सञ्चालन गर्ने मेरो योजना छ ।
यसैगरी तुलसीपुर नगर जेसीजका चल अचल सम्पत्तिहरूलाई संरक्षण र सम्बद्र्धन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसलाई विभिन्न कार्यक्रम गरी मनाउने, तुलसीपुर बजारभित्र कुनै पनि सार्वजनिक स्थानमा यात्रुहरूको सहजता र सुरक्षाका लागि यात्रु प्रतीक्षालय बनाउने योजनाा छ । यसलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक भने पर्नेछ ।
जेसीज युवाहरूको नेतृत्व र व्यक्तित्वको विकास गर्ने संस्थाको रूपमा चिनिन्छ, त्यस अभियानलाई कसरी सार्थकता दिनुहुन्छ ?
हो, मैले अघि पनि भने जेसीजले विभिन्न कार्यहरू गर्दै आएको छ र गर्ने पनि छ । हामीले जेसिजमार्फत् विभिन्न क्षेत्रका तालिम, गोष्ठी, सेमिनारमार्फत् युवाहरूको क्षमतालाई अझ प्रष्फुटन गराउँछौँ र विभिन्न कार्यक्रमहरूको आयोजना गरी युवाहरूलाई नेतृत्व प्रदान गर्दै तिनीहरूको नेतृत्व, व्यक्तित्व विकास गर्छौँ ।
तुलसीपुर नगर जेसीजले सबैलाई समेट्न सकेन भन्ने गुनासो छ नि, सबैलाई समेटेर कसरी लैजाने सोचमा हुनुुहुन्छ ?
सबै अटिने मन, जेसीज बन्धुत्व स्थापित गर्ने संस्थ हो । हामी कहीँकतै कुनै कुरामा विचलित नभइ यस क्षेत्रका हरेक युवाहरू एउटा किसानको छोरा होस्, शिक्षक, व्यापारी, सरकारी निकायमा काम गर्ने सबै यस संस्था अट्नुभएको छ । जो जेसीजका आस्था बुझ्नुभएको छ, उहाँहरूको संस्थाभित्र निरन्तरता छ ।
उहाँहरूले आफूलाई क्षमतावान् बनाउनका लागि जेसीजको आस्थाभित्र रहेर काम गरि पनि रहनुभएको छ । उहाँहरू सबैलाई समेटेर अगाडि बढ्ने छु । मैले पहिले भने र सुनाएका योजनाहरू म एक्लैले पूरा गर्न त कहाँ सक्छु र ! तपाईँ हामी सबै जेसीज तथा अन्य व्यक्तिहरूलको साथ र सहयोग रह्यो भने अवश्य पूरा हुनेछन् । त्यसैले जेसीजले मान्छेको हैसियत, क्षमतालगायतका अन्य कुनै पनि कुराको महत्व नदिएर सबैलाई समान नजर हेर्छ र सबैलाई समाच अवसर पनि दिन्छ ।
अन्त्यमा केही भनु छ ?
अन्त्यमा म तपाईँ र तपाईँको लोकप्रिय पत्रिकालाई धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्दछु । यससँगै म सम्पूर्ण युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास गर्दै एउटा असल लिडर, व्यवसायी बन्न जेसीज अभियानमा आउन आह्वान गर्दछु । तुलसीपुर नगर जेसीजको अध्यक्षमा निर्वाचित भएको छु, सहयोगी हातहरूसँग समन्वय गर्नेछु र सबैको सहयोग आवश्यक पनि छ भन्न चाहन्छु ।