कोरोनाविरुद्ध प्रशासनलाई सहयोग गर्न तयार छौं : मुस्लिम समुदाय
अजय मिश्र
कपिलवस्तु,२७ चैत्र । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न कपिलवस्तुमा मुस्लिम समुदायका अगुवाहरु तयार रहेको बताएका छन । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गरेको छलफलमा कोरोना भाइरस विरुद्धको लडाईमा प्रशासनलाई सहयो गर्न तयार रहेको बताएका हुन ।
जिल्लामा कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन तथा रोकथामका लागि आफुहरु तयार रहेको ५ नम्वर प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले बताएका थिए । छलफलमा अत्यावश्यक कामकाजमा सामाजिक दुरी कायम गर्दै पाँच जना भन्दा बढी भेला नहुँन मुस्लिम समुदायलाई प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले आग्रह गरेका थिए । मुस्लिम धर्मगुरु बाहेक अरु सबैले आ–आफनो घरमा नमाज पढ्नको लागि आग्रह गरिएको थियो । प्रजिअ पौडेलले कार्यक्रममा सबै मुस्लिम धर्म गुरुलाई विदेशबाट तिन हप्ताभित्र कुनै ब्यक्ति नेपालमा आएको देखिएमा उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न आग्रह गरेका थिए ।
छलफलममा कोरोना भाइरसबिरुद्ध सचेतना जगाउन सवै अल्पसंख्यक मुस्लिम समुदायलाई आफनो घरमा नमाज पढ्न जानकारी गराउने मुस्लिम समुदायका अगुवा र मदरसा मस्जिदका अध्यक्षहरुले प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा यशोधरा गाउँपालिका समिति अध्यक्ष हजरत अली, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की जावेद आलम, नूर मोहम्मद खालिद, मौलाना नियाज मदनी, अब्दुल मोतिम, फैजल खान,इकरार अहमद खां,अहले सुन्नत नाईमिया नेपालका अध्यक्ष नसरुल्लाह खां, जमाल शाह, युवा व्यापारी असलम खां, मौलाना जहरीर अहमद बरेलवी, जामिया इस्लामिया नईमिया विद्यालयका अध्यक्ष अब्दुल कलाम खांलगायतले सुझाव दिएका थिए ।