calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

मुख्यदलले आज उम्मेदवार घोषणा गर्दै

गोरक्ष समाचारदाता

दाङ,१७ कार्तिक । मुख्य दल नेकपा र नेपाली कांग्रेसले मसिर १४ गतेका लागि तय गरेको उपनिर्वाचनको लागि आज उम्मेदवार घोषणा गर्दै छन । उम्मेदवार घोषणाको लागि नेकपा र नेपाली काँग्रेसले आज पार्टीको बैठक समेत बोलाएका छन् । नेकपाले पार्टीको सचिवालय बैठक बोलाएको छ भने काग्रेसले पार्टी पदाधिकारीको बैठक बोलाएको छ ।

सम्भवत आज नै दुवै दलले उम्मेदवार घोषणा गर्ने छन् । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगकले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको लागि कार्तिक २१ गते नै उम्मेदवारी दर्ताको समय तोकेको छ भने स्थानीयतहका प्रमुख, उपप्रमुख र वडाध्यक्षको लागि कार्तिक २७ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।

दुवै दलका जिल्ला पार्टीले उम्मेदवारको सिफारिस पार्टीको केन्द्रीय समितिमा सिफारिस गरिसकेका छन् । पार्टीमा प्राप्त भएका नाममा दुवै दलले आन्तरिक रुपमा छलफल जारी नै राखेका छन् । दाङ जिल्लाको प्रदेश सभाको एक ठाउँ र वडा अध्यक्षमा गरेर दुई ठाउँमा चुनाव हुन गैराखेको छ । क्षेत्र न ३ को ‘ख’ र घोराही उपमहानगरपालिका वडा न १६ को वडाध्यक्षको लागि चुनाव तोकिएको छ । प्रदेशसभा सदस्य उत्तर कुमार वली र वडाध्यक्ष लक्षिन बुढामगर गत वर्ष निधन भएको थियो । प्रदेश सासद वलीको सडक दुर्घटनामा परेर निधन भएको थियो भने वडाध्यक्ष बुढाको जनडिसको कारण मृत्यु भएको थियो । यि दुवै क्षेत्रमा नेकपाले चुनाव जितेको थियो ।

वडाध्यक्षको टुगो जिल्ला पार्टीले टुंगो लगाउने र प्रदेशसभा सदस्य उम्मेदवार जिल्ला पार्टीले गरेको सिफारिसको आधारमा केन्द्रीय कमिटिले टुंगो लगाउने व्यवस्था छ । नेकपा दाङले प्रदेश सभा सदस्यको लागि विमला वली, शोभाराम बस्नेत र चुर्णबहादुर वलीको नाम केन्द्रीय कमिटिमा सिफारिस गरेको छ । काँग्रेस दाङले पनि १४ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । त्यसैगरेर वडा अध्यक्षको लागि नेकपा दाङले गजेन्द्र खड्का, भुवन चौधरी र लालमति बुढामगरमध्ये एक जनालाई वडाध्यक्षको उम्मेदवार बनाउने भएको छ । काँग्रेसले वडाध्यक्षमा गिरबहादुर बस्नेत र तारा डिसी मध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसैविच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे प्रारम्भिक छलफल सुरु भएको र आइतबार फेरि बैठक बसेर उम्मेदवारको टु्ंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार पार्टीका क्षेत्रीय निर्वाचन समयन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीबाट आएका सिफारिसबारे शनिबारको सचिवालय बैठकमा नेताहरुबीच प्रारम्भिक छलफलमात्रै भएको र आइतबार थप छलफल गरेर उम्मेदवारको घोषणा गरिनेछ । निर्वाचन आउन एक महिना पनि समय बाँकी नहुँदा प्रमुख दलहरुले भने उम्मेदवारको टुंगो लगाउन ढिलाइ गरेका छन् । उम्मेदवारीकै विषयमा छलफल गर्न काँग्रेसले पनि आइतबार नै पदाधिकारी बैठक बोलाएको छ । यता नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले आगामी मङ्सिर १४ गते हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जिम्मा केन्द्रीय पदाधिकारीलाई दिएको छ ।

यो निर्णयसँगै उम्मेदवार छनोट गर्ने जिम्मा १० जना नेताको हातमा आएको छ । कांग्रेसमा टिकट वितरण गर्ने अधिकार संसदीय बोर्डलाई भए पनि हाल बोर्ड गठन नभएकाले केन्द्रीय पदाधिकारीबाट उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने भएको छ । बैठकले उपनिर्वाचनको कार्य सम्पादन गर्न पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ । केन्द्रीय पदाधिकारीको बैठकले उपनिर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीको तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिल गर्ने छ ।

उम्मेदवार छनौट गर्ने जिम्मा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा. प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्माले पाएका छन् । शुक्रबारको बैठकमा सभापति देउवाले उम्मेदवार छनौटका लागि केन्द्रीय पदाधिकारीसहित दुईजना नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला रहने प्रस्ताव पेश गरेका थिए ।

साझाको उम्मेदवार घोषणा
साझा पार्टीले दाङका सामाजिक अभियन्ता शिबकुमार चौधरीलाई साझा पार्टी दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय चौधरीले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन् । साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २ र भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क )मा उम्मेदवार घोषणा गरिसकेको छ । साझा पार्टी दाङले स्थानीय स्तरमै कार्यक्रम गरेर शनिबार उम्मेदवारको घोषणा गरेको हो ।

दाङ क्षेत्र नं. ३ को प्रदेशसभा ख मा हुन गईरहेको उपनिर्वाचनकालागि शनिबार पार्टीले दंगीशरण गाउँपालिकाको हेकुलीमा कार्यक्रम गरि उम्मेदवार घोषणा गरेको हो । पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्र सहित सहभागि रहेको उक्त कार्यक्रममा उम्मेदवारलाई माटोको टिका लगाईएको थियो । ‘ अब पार्टी पूरानो शैलीबाट चल्दैन, नयाँ ढंगबाट पार्टीलाई लैजानुपर्छ’ संयोजक मिश्रले भने‘ त्यसैले हामीले काठमाडौं बसेर उम्मेदवार टुंग्याएनौं, स्थानीय स्तरमै पुगेर उम्मेदवार टुंग्यायौं, भन्ने चिनो पनि हो, यो माटोको टिका ।’ सोही क्षेत्रबाट निर्वाचनमा उम्मेदावार बन्ने शिब चौाधरीलाई स्थानीय ८४ बर्षीय एक जेष्ठ नागरिकले माटोको टिका लगाईदिएका हुन् । त्यसपछि प्रदेश नं. ५ का संयोजक अनुपमान सैंजु, प्रदेश नं. ६ का संयोजक गेहेन्द्र दहाल, जिल्ला संयोजक मधुसुदन केसीले शुभकामना मनतव्य ब्यक्त गरेका थिए ।

उपनिर्वाचनमा सेना परिचालन ः मसिर १४ मा हुने उपनिर्वाचनका लागि सरकारले एकीकृत केन्द्रीय सुरक्षा योजना बनाएको छ । सुरक्षा योजनाअन्तर्गत सेनासमेत परिचालन हुने भएको छ । उपनिर्वाचनको सुरक्षा योजनाबारे गृह मन्त्रालयमा छलफल भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरब तण्डुललगायतको सहभागिता थियो । बैठकमा सुरक्षा चुनौती र रणनीतिबारे छलफल भएको थियो । बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ । त्यसलाई केही दिनभित्र अन्तिम रूप दिइने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । बैठकमा गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशीलता र विगत निर्वाचनका अनुभवका आधारमा आवश्यकताअनुसार कार्ययोजनालाई परिस्कृत गर्दै लैजान निर्देशन दिए । निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्नसमेत उनले सुरक्षा निकायलाई निर्देशन दिए । गृह मन्त्रालय स्रोतका अनुसार विगतमा जस्तै बुथको बाहिरी घेरमा नेपाली सेना खटिनेछ । भित्री घेरामा नेपाल प्रहरी तथा बीचमा सशस्त्र प्रहरी खटिनेछ । ‘उपनिर्वाचनलाई प्रहरीकै जनशक्ति पर्याप्त छ,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘सेनालाई पनि खटाउँदा सुरक्षा थप प्रभावकारी हुने भएकाले उनीहरूलाई समेत बाहिरी घेरामा खटाउन लागिएको हो ।’