तुलसीपुर–घोराही सडक खण्डको मर्मत

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, ११ माघ । तुलसीपुर–घोराही सडक खण्डमा मर्मत अभियानकर्ताहरूले अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । तुलसीपुरमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी अभियानको बारेमा जानकारी गराएका हुन् ।

तुलसीपुरमा सुरु भएको ५ दिने तुलसीपुर–घोराही सडक खण्ड मर्मत अन्तर्गत् माघ ५ गतेदेखि ९ गतेसम्म तुलसीपुरको हात्तीखैवाचोकदेखि मज्गैँसम्म सडक मर्मत निर्माण सम्पन्न गरेको अभियानका संयोजक इ. पवनकुमार योगीले बताए ।

उनले सडकमा भएका खाल्टाखुल्टीहरू मर्मत गरी दुर्घटना न्यूनीकरण अभियानको काम सम्पन्न भएको र सो अवधिभर काममा सहयोग तथा सल्लाह दिने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, युवा युवाव्यवसायी, यातायात व्यवसायी, सहयोगी दाता, पत्रकार तथा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

सडक स्तरोन्नति गर्ने भन्दै सडकको स्वरूप नै बिग्रने गरी जनताको दैनिक यात्रालाई कष्टकर हुने गरी सडक भताभुङ्ग र लथालिङ्ग पारेपछि बाध्य भएर तुलसीपुरमा क्रियाशील युवा व्यवसायीले उपमहानगरपालिका क्षेत्रभित्रको सडक मर्मतको काम सुरु गरेका थिए । ती युवाहरूले तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा आफ्नै लगानीमा सडक किनारा एवम् बीच–बीचमा परेका खाडलहरू पुरेका छन् भने सहज यातातात सञ्चालनको लागि सडक मर्मत गरी चिटिक्क पारेका छन् । तुलसीपुर–घोराही खाडल मर्मत अभियान नाम दिएर त्यस क्षेत्रमा क्रियाशील युवा व्यवसायीहरूले पवनकुमार योगीको नेतृत्वमा यो अभियान थालेका थिए ।

काम थाल्नु अघि युवाहरूले तुलसीपुर उपमहानगरपालिकामा निवेदन दिएर ती खाडलहरू पुर्नका लागि पायक पर्ने खोलाहरूबाट ग्राभेल निकाल्न अनुमति मागेका थिए । खाडलहरू पुर्नका लागि उपमहानगरपालिकाले प्रारम्भिक वातावरणीय मूल्याङ्कन भइसकेका स्थानहरूबाट ग्राभेल निकाल्न अनुमति दिएपछि खाडल पुर्ने काम सुरु भएको युवा अभियानका अभियन्ता पवनकुमार योगीले बताएका छन् । ‘हामीले चिया खाँदै गर्दा यो सोच आएको थियो, नगर प्रमुख तथा अन्य साथीभाइ र सहयोगीदाताले पनि हाम्रो अभियानलाई सहज रूपले सहयोग गर्ने भन्नुभयो अनि यो अभियान पनि सफल भयो’, इ. योगीले भने ।

यस क्षेत्रका झन्डै एक सय बढी व्यवसायी तथा समाजसेवीले टिप्पर, रोलर, जेसिबी, ग्राडेर टेक्टर, पानी टेङ्कर गरी ७८ वटा सवारीका सधान प्रयोग गरिएको थियो भने विभिन्न ४४ जना व्यक्तिले २५ सय ५७ लिटर डिजेल सहयोग उपलब्ध भएको जानकारी गराइएको थियो । त्यस्तै सडक मर्मतका लागि २१ सय घमी ग्राभेल र माटो प्रयोग भएको थियो । जसमा १ सय ५० लिटर डिजेल बचत भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

सो डिजेल यस्तै सामाजिक कार्यमा लगाइने इ योगीले जानकारी दिए । उक्त अभियानमाा सडक डिभिजन कार्यालय दाङ, तुलसीपुर खानेपानी, हाम्रो गार्मेन्ट दोघरेलगायतका संघसंस्था र कार्यालयले पनि सहयोग गरेका थिए । त्यस्तै अभियानकर्ताहरूलाई विभिन्न व्यवसयायीले खानाको व्यवस्था समेत गरेको भन्दै आयोजक युवाहरूले धन्यवाद दिएका थिए ।

‘यो अभियानमा सबै साथीभाइहरू घरको जस्तै गरी काममा खट्नुभयो, त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छौँ’, अर्का अभियान्ता बिनिल केसीले भने । उनले चिया गफबाट सुरु गरेको अभियानले सार्थकता भएको भन्दै खुसी समेत व्यक्त गरे । साथै अभियानकर्ताहरूले आफूहरू फोरलेन निर्माणकर्तालाई झक्झक्याउने काम भने दैनिक गर्ने बताए ।

कार्यक्रममा उनले स्थानीय पालिका र सरकारले पनि यसलाई विशेष ध्यान दिनुपर्ने बताए । इन्जिनियर पवन योगीको अध्यक्षतामा भएको कार्यक्रममा आगामी दिनमा पनि यस्तै सामाजिक कार्यहरूमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।