मेरो खुशी : थारमारेदेखि काठमाडौं यात्रा …

  •   
  •  

उनी आफ्नो क्याफेमा आएका ग्राहकलाई फुड आइटमहरूको जानकारी दिँदै थिए । कसैलाई नेपाली रैथाने खाना त कसैलाई विदेशी परिकार जस्तै चाइनिज, इन्डिएन तथा अन्य आइटमबारे जानकारी दिँदै थिए । मैले उनका खुसीका पलहरू सोधिरहँदा उनी हँसिलो मुहारले आउने ग्राहकहरूलाई स्वागत गरिरहेका थिए ।

उनले विगत सम्झँदै भने, ‘मैले वि.सं २०६५ सालमा सल्यानको थारमारेबाट एसएलसी दिएका थिए । एसएलसीको रिजल्ट नआउँदै उनी विसं ०६६ मा मनभरि सपना सजाएर काठमाडौंको यात्रा तय गरे । त्यो उनको लागि पहिलो अनि लामो र सपनाको यात्रा थियो । कुमाख गाउँपालिका वडा नं. ६ बडागाउँमा जन्मिएर हाल तुलसीपुरलाई कर्मथलो बनाएका तुफान केसी आफ्नो खुसीका कुन्तुरो यसरी नै कोट्याउँदै थिए ।

उनको इच्छा र चाहना भनेको विज्ञान विषय पढेर शिक्षक भन्ने थियो । त्यही सपना बुनेर पहिलो पटक लामो दूरीको त्यो पनि देशको राजधानीसम्म अध्ययनका लागि गन्तव्य केसीले तय गरेको बताउँछन् । तर यात्रा भने त्यति सहज भएन । यातायात व्यवसायीहरूको विवादका कारण सल्यानको कपुरकोटसम्म बस चढेर आए पनि दाङको तुलसीपुरसम्म भने पैदल नै आउनुपरेको केसीले बताए । तुलसीपुरबाट मात्रै उनी बस चढेर काठमाडौंको यात्रा तय गरेछन् ।

‘त्यस दिन म कपुरकोटबाट दाङको तुलसीपुरसम्म हिंड्दै आउँदा पनि मेरा खुट्टा दुखेनन्, किनभने काठमाडांै पुग्ने उत्साहले सबै बिर्साइदिएको थियो । त्यसैमाथि आफूले रोजेको विषय पढ्ने उत्साह पनि त थियो । अर्को कुरा प्राकृतिक मनोरम दृश्यसँग खेल्दै यात्रा गर्दा दुखाइ र पीडा पनि दुर हुने रहेछ’ केसले अगाडि भने । हो त्यही थारमारेदेखि काठमाडौंसम्मको यात्रा नै आफ्नो पहिलो खुसी भएको बताए ।

‘मेरो पहिलो खुसी थारमारेदेखि काठमाडौं सम्मको यात्रा त्यही पनि अध्ययनका लागि नै पहिलो खुसी हो, त्यही यात्रा नै पहिलो खुसी भनेर लेखिदिनुहोला’, केसीले भने । सल्यानमा जन्मिएको भर्खरको ठिटोले साइन्सको शिक्षक बन्ने सपना देख्नु र साइन्स पढ्ने सपना देख्नु मस्तै ठूलो सपना भएको केसी बताउँछन् । विज्ञान विषय पढ्न निकै महँगो र अप्ठेरो फ्याकल्टी भएको मानिन्थयो त्यतिबेला ।

मध्यम परिवारमा जन्मिएको आफूले निकै ठूलो उत्साह जुटाएर काठमाडौं पुग्नेबित्तिकै कलेजमा नाम दाखिला गराउने तयारीमा रहेको बताए । त्यहीबेला एसएलसीको रिजल्ट पनि आयो । तर रिजल्टले भने पासा पल्टायो । उनी भन्छन्, ‘साइन्स पढ्न काठमाडौं पुगेपछि एलएलसीको रिजल्ट आयो । मलाई अंग्रेजी विषय लागेछ । थारमारे स्कूलको टपटेन विद्यार्थी मलाई अंग्रेजी विषय लागेको विश्वास नै भएन ।

तैपनि अंग्रेजी विषयको कम्पार्ट दिएँ र पास पनि भएँ’, केसीले भने ।
काठमाडौंमा बस्दै आएका आफ्नै जेठा दाइ गणेशबहादुर केसी जसलाई उनी घरको मुख्य खम्बा भनेर पनि चिन्छन् । उनै दाइको साथ र सहयोगले बालाजु स्थित ग्रामीण आदर्श बहुमुखि क्याम्पसमा भर्ना भएर प्लसटु पास गरेको बताए । उनै दाजु गणेशबहादुरआजसम्म पनि सुख, दुःखका सारथी भएको केसी बताउँछन् ।

अनि आफ्नो सफल्ताको पथप्रदर्शक पनि उनै दाइलाई मान्छन् । यसतै सुख–दुःखकामाझ उनले अर्को खुसी पनि भन्न भ्याए । साइन्स पढेर आप्mनै गाउँको बुद्ध जनकल्याण माविमा केसी पहिलो पटक विज्ञान शिक्षक बने । त्यो उनको लागि अर्को खुसी थियो । ‘एक जना विज्ञान शिक्षक मेरो घरमा बस्नुहुन्थ्यो, उहाँको ठाउँमा म सट्टा शिक्षक भएर पढाउन काठमाडौंबाट गाउँ फर्किएँ, त्यो मेरा लागि अर्को खुसी थियो’, उनले भने । बुद्ध जनकल्याण माविमा उनले करिब दुई महिना भोलेन्टियर शिक्षण गरे । त्यसपछि उनको दैनिकी र कर्मको सेक्टर फेरियो ।

शिक्षण पेसा छोडेर व्यवसायी बन्ने उनको रुची भयो । सन् २०१२ देखि होटलसम्बन्धी ट्रेनिङ सेण्टरमा लागेको सुनाए । त्यहाँ उनको इमानदारीपूर्वक गरेको कामको मूल्याङ्कन गर्दै केही वर्षमै व्यवस्थापकको जिम्मेवारी दिइयो । त्यो जिम्मेवारी पनि इमानदारी र सफलतापूर्वक निभाएको भन्दै सिटिइभिटीको तालितम, स्नातक तथा अन्य कक्षाहरू सञ्चालन गरी आफू त्यसको व्यवस्थापक हुँदा जीवनमा तेस्रो खुसी जोडिएको केसी बताउँछन् ।

‘मैले व्याचलर गरेको थिइनँ, पढ्दै थिएँ तर म त्यहाँ प्रशासकको भूमिकामा काम गर्न पाउँदा खुसी लाग्यो’, केसीले भने । त्यससँगै केसीले व्यावसायिक पाइला आरती नेपालको सञ्चालक भएर चालेको बताउँछन् । त्यो उनको पहिलो व्यवसाय हो । केसले त्यही संस्थामार्फत् विभिन्न काम गर्दा पनि निकै खुसी लागेको बताउँछन् । कम्प्यूटर विषयमा स्नातक गरेका केसी आफूले अध्ययन गरेको विषयभन्दा फरक क्षेत्रमा मोडिएको बताए ।

यहाँबाट केसीले व्यावसायिक जीवनको सुरुवात भएको पनि बताउँछन् । तुलसीपुर होटल व्यवसायी समिमितिका महासचिव भएका केसीले कुमाख कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स प्रालिका प्रबन्धक निर्देशक पनि बने । विसं २०७४ मा कुमाख कलेज सञ्चालन गरेर निःशुल्क र सशुल्क होटल म्यानेजमेन्टसम्बन्धी तालिम प्रदान गर्दै सक्षम नागरिक उत्पादन गर्न पाउँदा खुसी लाग्ने गरेको बताए ।

उनले आफूहरूले ३ महिनेदेखि विभिन्न सेफ र होटलसम्बन्धी तालिम दिने गरेको बताए । केसीले अग्रज र विभिन्न व्यक्तिहरूलाई सीप सिकाउन पाउँदाको क्षण पनि खुसीको क्षण भएको बताए । ‘कलेजमा आफूहरूले पढाएका विद्यार्थी यूरोप तथा अन्य देशमा जानुभएको छ, उहाँहरूले बेलाबखत सम्झँदा निकै खुसी लाग्छ ।

तिनै प्रशिक्षार्थीहरूलाई गुलाव फूलझैँ फक्रिएको देख्दा निकै खुसी लाग्छ’, उनले भने । केसीले आफूलाई यो स्थानसम्म ल्याउन बुबा र दाइपछिको व्यक्ति प्रमोदकुमार बानियाँलाई समेत सम्झिए । बुबा र दाइ पछिका मार्गदर्शक बानियालाई पनि आफ्नो खुसीमा समेट्न भ्याए केसीले । हुन त बानिया पदले मालिक भए तापनि आफ्नो लागि अभिभावकत्वको भुमिका निर्वाह गरेको केसी बताउँछन् ।

त्यस्तै केसीले सन् २०१३ मा आफूले जापानीज भाषा पढेको र आफूसँग पढेकाका साथीभाइ विदश गएको बताए । आफू भने स्वदेशमै बसेर कर्म गर्न पाएकोमा आत्मैदेखि खुसी व्यक्त गरे । अर्काको भूमिमा पसिना बगाउनुभन्दा आफ्नै देशमा रगत बगाउनु मज्जा बेग्लै भएको बताउँछन् केसी । जन्म दिने आमा र जन्मिएको देशबाटा टाढा जान र फेर्न नसकिने केसीको बुझाइ छ । लायन्स क्लवअन्तर्गत लायन्स कल्ब अफ काठमाडौं प्रसन्न सेफका उपाध्यक्ष समेत रहेका केसीले खानामा नेपाली संस्कृति हराउँदै गएको र नेपाली खानाको प्रबद्र्धन गरी रैथाने खानालाई प्रचारप्रसार गर्न पाउँदा पनि खुसी लागेको सुनाए ।

विसं २०७९ सालमा तुलसीपुर होटल व्यवसयी समितिको महासचिवको जिम्मेवारी लिएर होटल व्यवसायीहरूको हकहित र समृद्धिसँगै रैथाने खानाको प्रबद्र्धन गर्न पाउँदा खुसी लाग्ने बताए । आफ्नो मौलिकता भनेको सासजस्तै प्यारो छ र मर्नु अघिसम्म मौलिकता र नेपाली खाना जागरण गर्न अग्रसर रहने कुरा मुसुक्क मुस्कुराउँदै केसीले भने । उनले तुलसीपुर क्षेत्रको होटलहरूको विकास र विस्तारमा आफू लागेका भन्दै आफूले कुमाख फुड् क्याफे पनि सञ्चालन गरी नेपाली रैथाने खाना ग्राहकहरूलाई खुवाउन पाउँदा खुसी लाग्ने गरेको सुनाए ।

नेपाली ग्रहाकले विदेशी खाना बढी खोज्दा कता–कता दिलको अन्तर कुना दुख्ने कुरा गर्दै गर्दा केसीको अनुहार मलिन जस्तो देखियो । तुलसीपुर आएपश्चात आफ्नो उमेरभन्दा ठूला र आफ्नै उमेरका व्यवसायी साथी र सहयोग गर्ने मनकारी मित्र पाउदा कपुरमा बास्ना भरिएझैँ महसुस भएको बताए ।

केसीले आफ्ना दाइ जापानमा रहेको र घरमा आमा, भाउजु, भतीज, बहिनी, ज्वाईँदेखि साथीभाइ, इष्टमित्रको सहयोग पाउँदा निकै खुसी लाग्ने गरेको बताए । म त केवल रूख हुँ मलाई अड्याउने जमिन र जरा मेरो परिवार हो भन्दै गर्दा आँखा रसिला भएको प्रष्टै देखिन्थ्यो । केसीले अरुलाई खुसी दिन पाउँदा, सामाजिक कार्यमा सहयोग गर्न पाउँदा आफूलाई खुसी मिल्ने सुनाए ।

तुफान केसी तुलसीपुर स्थित तुलसीपुर होटल व्यवसायी समिमितिका महासचिवदेखि कुमाख कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स प्रालिका प्रबन्धक निर्देशक, कुमाख क्याफेका सञ्चालक तथा ग्लोवल नेपलीज सेफ फेड्रेशनको केन्द्रीय सदस्य, प्रदेश ५, ६, ७ का संयोक समेत हुन् । साथै उनले हाल सालै कृषि पर्यटनलाई नयाँ स्वरूप दिन लगानी गरिरहेको पनि बताए ।

उनको योजना अनुसार कृषि पर्यटनमा बृहत लगानी लाग्ने भए पनि हाल पुँजीको सहजता र स्थान उपयुक्त नहुँदा कुमाख कलेज, कुमाख क्याफे र कुमाख कृषि फार्म एकल लगानीमा अलग–अलग स्थानमा सञ्चालित रहे पनि आर्थिक सहजता पश्चात कुमाखलाई ब्राण्डिङ« गरी कृषि पर्यटनको रूपमा अघि बढ्ने उनको योजना पनि छ ।

प्रस्तुती : बालाराम खड्का