मेरो खुशी : स्ववियु चुनावमा नेविसंघलाई जिताउँदा …

सरल स्वभाव, मिलनसार र लगनशील व्यत्तित्व गोविन्द रेग्मीको सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान छ । १३ वर्षकै उमेरमा बहुदल प्राप्तिका लागि जनमत संग्रह पक्षको आन्दोलनमा लागेर नेपाली कांग्रेससँग जोडिएका रेग्मी नेपाल विद्यार्थी संघ, तरुण दल र नेपाली कांग्रेस पार्टीका विभिन्न जिम्मेवारीमा बसेर पार्टीलाई संगठित र सशक्तरूपमा जनतासँग जोड्न सक्रिय रहेर काम गर्दै आएका छन् ।

नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सदस्य समेत रहेका रेग्मी जीवनमा सम्झनलायक सबैभन्दा खुसीको क्षण २०४९ सालमा पाटन क्याम्पसको स्ववियु चुनावमा नेविसंघलाई विजयी गराउँदाको क्षण भएको बताउँछन् । काठमाडौं क्षेत्रका कलेजमध्ये पाटन संयुक्त क्याम्पसमा नेपाल विद्यार्थी संघ कमजोर थियो । त्यही कारण हामीलाई उक्त क्याम्पसमा जय नेपाल समेत नभन्नु भन्ने सल्लाह हुन्थ्यो । उक्त क्याम्पसमा अखिलको दबदबा थियो । बनारसमा आइएस्सी गरेपछि म पढ्नका लागि पाटन क्याम्पसमा भर्ना भएँ ।

अध्ययनसँगै पार्टीको जिम्मेवारीअनुसार नेविसंघको संगठनलाई बलियो बनाइयो । त्यहीअनुसार मलगायतका क्याम्पसमा पढ्ने नेविसंघमा आबद्ध विद्यार्थी नेविसंघलाई मजबुत बनाउन लागिप¥यौँ । करिब सात वर्षको मिहिनेतपछि पाटन संयुक्त क्याम्पस अनेरास्ववियु पाचौँबाट २०४३ देखि २०४९ सालसम्म दुई कार्यकाल स्ववियु सभापतिमा जितेका विष्णु खरेललाई नेविसंघका प्रवेश गराउन सफल भयौ ।

त्यसपछि २०४९ सालको स्ववियु चुनावमा नेविसंघलाई विजयी गराउँदाको क्षण मेरो जीवनको सम्झनलायक ठूलो खुसीको क्षण हो । ‘अहिले जस्तो पार्टीबाट केही पाइन्छ कि भनेर लाग्ने समय थिएन्, त्यो बेला’, रेग्मीले भने, ‘अत्यन्त जटिल परिस्थितिमा कमजोर संगठनलाई बलियो बनाउने थियो । त्यो काम सात वर्षको मिहिनेतपछि पूरा गर्दाको क्षण नै मेरो पहिलो खुसीको क्षण हो ।’

युवा उमेरमा लामो समय भारतदेखि नेपालसम्म नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका रेग्मी युवा विद्यार्थी समितिलाई भङ्ग गर्नुपर्छ भनेर नेविसंघका तत्कालीन सहमहामन्त्री भक्ति सिटौलाको नेतृत्वको अभियानमा लागेका थिए । पार्टीले नेविसंघको सट्टा युवा विद्यार्थी समितिलाई मान्यता दिएपछि सिटौलाको नेतृत्वमा उक्त समितिलाई खारेजी गर्नुपर्छ भनेर आन्दोलन भएको थियो । त्यसको जनलर निर्माणका लागि राप्ती, भेरी र कर्णाली क्षेत्रमा समेत काम गरेका थिए ।

‘प्रावि केरुनियाबाट औपाचारिक पढाइ सुरु गरे पनि मैले पढ्न सुरु गरेकै वर्ष त्यो स्कूल वनकट्टा सारियो । वनकट्टा स्कूल सारिएपछि नदीका कारण मेरो एक वर्ष पढाई छुट्यो’, रेग्मीले भने, ‘त्यसपछि अर्काे वर्ष २०२८ सालमा प्रावि सोनपुरमा कक्षा एकमा भर्ना भएर सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबरडियाबाट २०४० मा सेकेण्ड डिभिजनमा पास गरेको थिएँ । त्यो बेला मलाई विद्यालयका पालेले सेकेन डिभिजनमा पास भएको खबर सुनाएपछि मैले खुसीले पालेलाई हातको ‘रिको’ कम्पनीको घडी उपहार दिएको थिएँ । त्यो क्षण पनि खुशीको क्षण हो ।’

रेग्मीको अर्काे खुशीको क्षण हो, आफैले पढेको प्रावि सोनपुरको विद्यालय व्यवस्थापन समितिको संस्थापक अध्यक्ष बन्दाको क्षण । रेग्मीले उक्त विद्यालयमा अध्ययन गर्दा त्यहाँ जम्मा १, २ र ३ कक्षासम्म पढाइ हुन्थ्यो । पछि थप भएर निमाविसम्म पढाइ सुरु भयो । रेग्मी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि निमावि पढाइ हुने विद्यालयलाई माध्यमिक तहसम्मको पढाइका लागि स्वीकृति ल्याउँदाको क्षण पनि निकै खुसीको क्षण भएको रेग्मी बताउँछन् ।

‘देउखुरीको प्रावि सोनपुरमा माध्यमिक तहसम्मको पढाइ नहुँदा विद्यार्थीलाई ८ कक्षा पास गरेपछि पढाइका लागि टाढा जानुपर्ने बाध्यता थियो । त्यसको मुख्य कारण सोनपुरले मावि तहको पढाइका लागि स्वीकृति पाएको थिएन’, उनले भने, ‘म विव्यसको जिम्मेवारी पाएपछि माविसम्मको स्वीकृति ल्याएँ । पहिलो वर्ष ८ जना विद्यार्थीबाट कक्षा ९ सुरु भएको विद्यालय अहिले देउखरीमा उत्कृष्ट विद्यालयको रूपमा छ ।’

सुरुमा २०३६ सालमा दाङको देउखुरीको सिंगे बगियामा नेपाली कांग्रेसका संस्थापक सभापति जननायक वीपी कोइराला आउँदा सभा व्यवस्थापनमा भोलेन्टियर काम गरेका रेग्मी पछि बनारस अध्ययनका लागि गएको समयमा नेपाल विद्यार्थी संघ विदेश क्षेत्रको सदस्य भएर नेविसंघमा जोडिएर काम गरेको बताउँछन् । बनारसबाट नेपाल आएपछि पाटन संयुक्त क्याम्पसमा बिएमा भर्ना भएर २०४३ देखि २०४९ सम्म नेपाल विद्यार्थी संघको इकाई कोषाध्यक्ष, सचिव, उपसभापतिदेखि सभापतिसम्म भएर काम गरेका थिए । २०४८ सालमा नेपाल विद्यार्थी संघको महाधिवेशनमा क्याम्पसबाटै प्रतिनिधि बनेका थिए ।

बुबा लेखनाथ शर्मा र आमा हिमादेवी शर्माका सन्तानका रूपमा २०२२ सालमा घोराही उपमहानगरपालिका–३ बर्गद्दी साविकको त्रिभुवननगरपालिका) मा जन्मिएका थिए । २०२६ सालमा दाङबाट बसाइसराई गरेर लमही नगरपालिका वडा नं. २ केरुनिया (साविकको सुनपुर गाविस) बस्दै आएका रेग्मीले राप्ती गाउँपालिका निवासी राधा रेग्मीसँग विवाह गरेका थिए । रेग्मीका एक छोरा सुप्रिम र २ छोरीहरू सुप्रिया र सुदीक्षा रेग्मी छन् । ७वर्षको उमेरमा प्रावि केरुनियामा औपचारिक पढाइ सुरु गरेका रेग्मीले २०४० सालमा सरस्वती माध्यमिक विद्यालय गोबरडिहाबाट एसएलसी सेकेण्ड डिभिजनमा पास गर्दाको क्षण पनि खुशीको क्षण भएको बताए ।

तरुण दल दाङको संस्थापक समेत रहेका रेग्मी तरुण दलको प्रशिक्षण विभाग सदस्य, २०५१ सालमा तत्कालीन नेपाली कांग्रेसका क्षेत्रीय सभापति स्वर्गीय श्रीनारायण चौधरीको कार्यकालमा क्षेत्रीय सदस्य, त्यसपछि क्षेत्रीय सचिव, २०६० सालमा महाधिवेशन प्रतिनिधि, २०६५ र २०७० सालमा दुई कार्यकाल पार्टीको जिल्ला सदस्य भएका थिए । पार्टीसँगै सामाजिक काममा समेत संक्रिय रेग्मी बकेन सामुदायिक वन समूहको संस्थापक अध्यक्ष भएर वन संरक्षणको अभियानमा लागेका थिए ।

त्यसँगै नेपाल परियोजना संघ दाङ शाखाका उसभापति, नेपाल नेत्रज्योति संघको कार्यकासमिति सदस्य, नेपाल रेडक्रश सोइसाटी लमही शाखाको सदस्य र सचिव, २०६५ लमही नगर विकास समितिको सदस्य, नेपाल बाल संगठनको दाङको सदस्यका रूपमा काम गरिसकेका रेग्मी पछिल्लो पटक नेपाल सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोग दाङको जिल्ला सदस्यका रूपमा रहेर काम गरिरहेका छन् । उनी विभिन्न संघसंस्थाको आजीवन सदस्यका रूपमा समेत रहेका छन् । पार्टी र संगठनले दिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने रेग्मी पार्टीका लागि सदैव, निःस्वार्थ रूपमा खट्ने नेताका रूपमा परिचित छन् ।