तुलसीपुर कांग्रेसको नगर सम्मेलन : सभाहलमा पोखिए खिन्नता, सान्त्वना

  •   
  •  

खेमराज रिजाल
तुलसीपुर, ४ माघ । संघ र प्रदेशको निर्वाचन सम्पन्न भएर सरकार बन्दै गर्दा नेपाली कांग्रेस दाङको आह्वान अनुरूप नेपाली कांग्रेस तुलसीपुरले प्रथम नगर सम्मेलन मंगलवार आफ्नै सभाहलमा सम्पन्न गरेको छ । नगर समिति सभापति सुरेश हमालको अध्यक्षता तथा दुईजना केन्द्रीय सदस्यहरू समेतको उपस्थितिमा सहभागीले मिश्रित मनहरू सभाहलमा पोखेका छन् ।

निर्वाचन लड्दाको गठबन्धन टुटेर बनेको प्रचण्ड नेतृत्वको सरकार गठन हुनु कांग्रेसको कमजोरी एकातिर पोखियो भने बाम गठबन्धनको सरकारलाई कांग्रेस स्वयम्ले विश्वासको मत दिनुलाई पनि जिल्ला तहका नेता कार्यकर्ताले खिन्नता र आक्रोश समेत व्यक्त गरे । उनीहरूले आफ्ना असन्तुष्टिहरूलाई केन्द्रीय समितिसम्म पु¥याइदिन पनि सम्मेलनका प्रमुख अतिथि दीपक गिरी तथा विशिष्ट अतिथि गेहेन्द्र गिरीलाई आग्रह समेत गरेका थिए ।

नगर सम्मेलनमा जिल्ला सभापति, संविधान सभा सदस्य, क्षेत्रीय सभापतिहरू, प्रदेश सभापति, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला सदस्यहरू तथा भ्रातृ संस्थाका प्रतिनिधि समेत अग्रज नेता कार्यकर्ताहरूको बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २(ख) का सभापति अभियान बस्नेतले निर्वाचन जित्दाको गठबन्धनलाई चोइटाएर बनाइएको बाम गठबन्धनको सरकारलाई पार्टीले विश्वासको मत दिएर पदीय बार्गेनिङ गरेकोमा आम कांग्रेस मनहरू फाटेको अभिव्यक्ति दिए ।

मुलुक आर्थिक संकटका कारण जरजर भएको अवस्थामा व्यवसायीहरूले आत्महत्या गर्न थालेको तथा लाखौँ युवाहरू रोजगारीका क्रममा विदेशिएको अवस्थामा मुलुकको समृद्धिका लागि एउटा बलियो प्रतिपक्षी बनेर कांग्रेस बस्नुपर्ने आम कार्यकर्ताको चाहना रहेको पनि बस्नेतले बताए । ‘पार्टीमा चेन अफ कमाण्ड छैन, जनप्रतिनिधिहरूमा पार्टीप्रतिको जिम्मेवारी छैन, यी दुवै कुराको तारतम्य मिलाउन मैले पार्टी केन्द्रीय सदस्यहरूलाई यही फ्लोरबाट आग्रह गर्दछु, हाम्रा कुरा केन्द्रीय समितिको बैठकमा प्रदेश गराइदिनुहोला’, बस्नेतले भने ।

कार्यक्रममा अर्का वक्ता देवेन्द्र रिजाल र खिमबहादुर वलीको भनाई पनि उस्तै–उस्तै भावको थियो । जनताले गठबन्धनलाई जिताउन पसिना बगाएको तर अहिले सरकार बन्दा र त्यसलाई कांग्रेसले विश्वासको मत दिँदा आम कांग्रेसजनमा उत्साह हराएको पनि उनीहरूको भनाइ थियो । यो अवस्थामा कांग्रेसमा पुनर्जागरण ल्याउन पार्टीले टोल संस्थाहरूसम्म कार्यक्रम ल्याउन पनि आग्रह गरेका थिए ।

कांग्रेस बलियो हुन भ्रातृ संस्थाहरू बलिया र चलायमान हुनुपर्ने हो तर पार्टीका भ्रातृ संस्थाहरू नै सुषुप्त अवस्थामा रहेको पनि नगरसम्मेलनमा आवाज उठाइयो । सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा वर्तमान कांग्रेस महाधिवेशन प्रतिनिधि युवराज खड्काले वि.सं २०६५ देखिनै स्ववियु निर्वाचन नभएको उल्लेख गर्दै पार्टीलाई पुर्नताजगी बनाउन नेविसंघको महाधिवेशन र स्ववियु निर्वाचन चाँडो गर्न पनि केन्द्रीय समितिमा दबाब दिनुपर्ने सुझाव राखे ।

प्रदेश महाधिवेशन प्रतिनिधि तथा थारु नेता चुर्णबहादुर चौधरीले पनि पार्टीलाई बलियो बनाउन थारु समुदायलाई आत्मसम्मान दिएर राजनीतिमा स्पेश दिन आग्रह गरेका थिए भने महाधिवेशन प्रतिनिधि तथा दलित नेतृ देवकी नेपालीले पनि पार्टीले दालीय समुदायलाई अझै बढी साथ लिएर अघि बढ्न सुझाव दिइन् । जिल्ला सदस्यका तर्फबाट शुभकामना व्यक्त गर्दै यज्ञबहादुर बस्नेतले पार्टीमा देखिएको निराशालाई सम्बोधन गर्न केन्द्रीय समितिले जागरण अभियान ल्याउन सुझाव दिए ।

प्रथम तुलसीपुर नगर सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगी, क्षेत्रीय सभापति जगत खड्का, भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि नहकुल केसी, बिमल रिजाल, नेता महादेव शाह, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, पूर्व प्रदेशसभा सदस्य शंकरप्रसाद गिरी, कांग्रेस नेता केशव आचार्य, महिला नेतृ शुष्मा गिरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस नगर प्रवक्ता पूर्णबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर–१८ का सभापति वीरेन्द्र खड्का, प्रदेश प्रवक्ता बेनु अधिकारी, शान्तिनगर गाउँपालिका पार्टी सभापति झलक केसी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस तुलसीपुर नगर सचिव बिमल पौडेलले हालसम्म भए÷गरेका समग्र गतिविधिका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रितम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण अर्का सचिव सुशील वलीले गरेका थिए ।

‘फिश्लिङ’ खाएको मात्रै हो : केन्द्रीय सदस्य गिरी

यसैविच तुलसीपुर कांग्रेसको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य, पूर्व सिंचाइमन्त्री तथा नेपाली कांग्रेसका वर्तमान केन्द्रीय सदस्य दीपक गिरीले अहिले नेपाली कांग्रेसले कुनै कुराले फिश्लिङ मात्रै खाएको बताएका छन् । ‘क्षणभरको राजनीतिक मूल्यांकनले पार्टीको गन्तव्य निर्धारण गर्दैन, गेम त भर्खर सुरु भएको छ, पार्टी अहिल्यै बल्ड्याङ खाइसकेको होइन, फिश्लिङ खाएको मात्रै हो’, प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका गिरीले भने ।

अहिले कांग्रेसले बाम गठबन्धनलाई समर्थन दिनु सत्ताका कुनै पदलाई मात्रै नभएको र त्यो विषयमा चाँडै सबै थाहा हुने पनि उनले बताए । ‘अहिल्यै यो र त्यो अर्थ लगाउनु हुँदैन, किन विश्वासको मत दिइयो, त्यसको अर्थ केही समयमै थाहा पाउनुहुनेछ’, नेता गिरीले भने । सांसद गिरीले आफू सत्तामा भए पनि नभए पनि निर्वाचनमा सार्वजनिक गरेका प्रतिबद्धतालाई पूरा गरेरै छाड्ने पनि दोहो¥याए ।

यहाँको विमानस्थलको स्तरोन्नति, चारलेनलाई चाँडै चलायमान बनाउने, दाङ—पुरन्धारा—सुर्खेत सडकलाई चाँडै कालोपत्रे सम्पन्न गर्नेलगायतका काम आफू सत्ता बाहिरै रहेर पनि फत्ते गर्ने पनि गिरीको अभिव्यक्ति थियो । साथै उनले तुलसीपुर नगर समितिको सक्रियताको सम्मान गर्दै आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई सबैभन्दा बलियो पार्टीका रूपमा स्थापित गर्न पनि शुभकामना व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि तथा अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरीले बाम गठबन्धनको नेतृत्वको सरकारलाई दिएको समर्थनका सन्दर्भमा धेरै वादविवाद नगर्न पनि आम सहभागीलाई आग्रह गरे । पार्टी नेतृत्वले बाम गठबन्धनको नेतृत्वको सरकारलाई त्यत्तिकै हावादारी भएर समर्थन नदिएको भन्दै यसले निकट भविष्यमै कुनै दिशा निर्देश गर्ने पनि उनको अभिव्यक्ति थियो । सरकार गठन र विघटनका विगतमा धेरै नजीरहरू स्थापित भइरहेको स्मरण गराउँदै राष्ट्रपतिकै बार्गेनिङका लागि विश्वासका मत नदिएको पनि उनको भनाइ थियो ।