कृत्रिम जलाशयदेखि स्टोेन गार्डेनका योजना : अध्यक्ष भण्डारी
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यान (पार्क) पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको पार्क पछिल्लो समय यस क्षेत्रको अत्यन्त पर्यटकहरुले रुचाइएको पर्यटकीय स्थल बन्न सफल भएको छ । पछिल्लो समयमा पार्क व्यवस्थापन समितिले त्यहाँ कृत्रिम जलाशयदेखि ढुङ्गाको बगैँचा निर्माणसम्मका योजना ल्याएको छ । जहाँ किशोरकिशोरी, युवायुवती, बालबालिकादेखि ज्येष्ठ नागरिकहरु अवलोकनका लागि पुग्ने गर्दछन् ।
दाङको महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा रहेको राप्ती शान्ति उद्यान (गणेशपुर पार्क)मा दिन प्रतिदिन विभिन्न भौतिक निर्माणहरु थपिँदै गएका छन् । जसले गर्दा पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । पार्कमा विभिन्न मनोरञ्जनदेखि पार्कलाई शौन्दर्य दिने कुराहरु थपिँदै गएको उद्यान निर्माण समितिले जनाएको छ । मिनी–जू, बालउद्यान, विभिन्न मनोरञ्जन र प्राकृतिक शौन्दर्यसँगै अब पार्कमा कृतिम जलाशय निर्माणको काम पनि सुरु भएको छ । पार्कको विकास भावि योजनाको विषयमा हालै दोस्रो कार्याकाल अध्यक्षमा निर्वाचित राप्ती शान्ति उद्यान (पार्क) व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ यहाँलाई सातावार्तामा ?
मेरा कुराहरू राख्ने अवुर जुराइदिनुभएकोमा यहाँ र यहाँको पत्रिकालाई हार्दिक धन्यवाद ।
दोस्रो कार्यकाल पनि अध्यक्षमा निर्वाचित हुनुभयो, यो जितलाई कसरी लिनुभएको छ ?
हो, यो भन्दा पहिले पनि म यस शान्ति उद्यान व्यवस्थापन समितिको अध्यक्ष थिएँ । फेरि पनि मलाई यहाँका उपभोक्ताले निर्वाचित गर्नुभएको छ । यस जितलाई मैले अवसर र चुनौती दुवै रूपले लिएको छु । यहाँ जनताले सोचेभन्दा राम्रो काम गरेकाले मलाई फेरि जिताउनुभएको हो ।
कुनै पनि जनताले इमानदारी, आर्थिक प्रलोभनमा नपरस् संस्थाको हितमा काम गरे, सचेत नागरिकले उचित मूल्याङ्कन गर्ने रहेछन् भन्ने पनि हो, यो निर्वाचन । निर्वाचन हो, निर्वाचनमा जित र हार भन्ने हुन्छ । एउटा हारेर अर्कोले जित्ने हो, त्यो पनि अङ्गगणितमा । यसलाई जित÷हार भन्ने पक्षमा म छैन । हामी सबैले जितेका छौँ हारेका छौँ । यहाँ हामी काम गर्न आएका हौँ ।
यहाँ जितेँ भनेर धेरै घमण्ड गर्ने र हारे भनेर निराश हुने अवस्था छैन । मैले जुन कुराहरू सुरुवात गरेको थिएँ । जुन–जुन योजनाहरू सुरु गरेको थिएँ, त्यो पूरा गर, यसलाई अझै राम्रो र व्यवस्थित गर भनेर जनताले मलाई जिम्मेवारी दिनुभएको छ । सोही अनुरूप म पनि लाग्ने प्रतिबद्धता जनाउँछु ।
दोस्रो कार्यकालमा पनि मैले आफूले लिएका योजनाहरू पूरा गर्ने र पार्कलाई व्यवस्थित बनाउन लाग्नेछु । मैले सबैलाई सँगै लिएर अगाडि बढ्नेछु । निर्वाचनमा यो, त्यो भन्ने भयो होला, कोही कुन पार्टी, कुन टिमबाट चुनाव लडेहोला तर त्यो त्यसै दिन सकियो । अब सबै एक भएर यहाँको विकासका लागि सबैलाई सँगै लगेर अगाडि बढ्नेछु ।
राप्ती शान्ति उद्यानको स्थापना कहिले भएको थियो र किन ?
द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निर्माण गर्ने निणर्य गरिएको थियो । वि.सं २०५९ माघ ८ गतेदेखि त्यहाँ उद्यान निमार्णको काम सुरु गरिएको थियो । करिब १५ विगाह क्षेत्रफलमा यसलाई नेपालकै नमुनायोग्य बनाउने भनेर अग्रजहरू लाग्नुभयो । त्यो समयमा उक्त सामुदायिक वन अतिक्रमणमा परी विभिन्न घर–टहराहरू बनिसकेको थियो ।
त्यसलाई स्थानीय वन समूहका उपभोक्ता, बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा ती घर–टहराहरू हटाएर वृक्षारोपण गरिएको थियो । केही समयपछि सबैको सल्लाहमा उक्त क्षेत्रलाई एउटा पार्कको रूपमा परिणत गर्ने निर्णय भएपछि पार्कको रूपमा परिचित गराउन सफल भएका हौँ । त्यस्तै प्रकृति र संस्कृतिको संरक्षण र जोगाउन पनि यो पार्क स्थापना गरिएको हो ।
पार्कमा आउने पर्यटकहरूले सबैभन्दा रुचाइएको पक्ष के हो नि ? यसलाई थप आकर्षण गर्न आगामी योजना के छ ?
पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले पछिल्लो समय सबैभन्दा रुचाइएको भनेको भगवान गौतम बुद्धको शालिक नै हो । राप्ती शान्ति उद्यान पार्क भनेर नामाकरणअनुसारको काम हुनसकेको थिएन । दाङ जिल्लाको तुलसीपुर नगरिकको काखमा रहेको राप्ती शान्ति उद्यान प्राकृतिक रूपले शान्त वातावण, वरिपरि वनजंगल भएको एकदमै रमणीय स्थल भएकोले पनि त्यहाँ पर्यटक आउन बढी रुचाउनुभएको हो कि भन्ने लाग्छ । आगामी दिनमा यसलाई थप आकर्षण गर्न आर्थिककै खाँचो पर्छ ।
पार्क भनेको यस्तो चीज हो, सौन्दर्यकरण गरेर नसकिँदो रहेछ । यसको सौन्दर्यकरण बढाउने सन्दर्भमा तत्कालका लागि भन्ने हो भने पार्कमा कृत्रिम जलाशय अहिले पार्कमा पानीको फोहराहरू, झरना सहितको ढुङ्गे पहाड, मानव चिम्पान्जी, पिङ, चिडिया खाना, गार्डेन, रेललगायत विभिन्न थरिका आकर्षक चीजहरू छन् । त्यति मात्र होइन, हामीले १ सय ३०÷३५ प्रजातिका बहुमूल्य वनस्पति, जडिबुटीहरूलाई जगेर्ना गरेका छौँ । जस्तै श्रीखण्ड, रुद्राक्ष । ता कि वनसम्बन्धी पढ्ने विद्यार्थीहरूले प्रत्यक्ष विरूवाहरू अवलोकन गर्न पाउनुहुनेछ । उद्देश्यका साथ त्यसलाई अगाडि बढाइरहेका छौँ ।
बोटानिकल गार्डेनलाई जोड दिइराखेका छौँ । पार्कको थप आकर्षण भनेको शान्त वातावरण नै हो । लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय पर्यटकन डिभिजन कार्यालय कोहलपुरको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७९÷८० का लागि करिब कूल लागत २४ लाख ८२ हजारमा कार्तिकदेखि कृत्रिम जलाशय निर्माणको काम सुरु गरेका छौँ । अब बालबालिकाले बोर्टिङ गर्न पाउने छन् । यो योजना नयाँ वर्ष २०८० मा सकिने छ । त्यस्तै पार्कमा नेपालकै नमुना ढुङ्गाको गार्डेन निर्माणको काम पनि अन्तिम चरणमा पुगेछ ।
प्रवेश शुल्क कति छ ? अपाङ्ग, ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई छुटको व्यवस्था छ÷छैन ?
पहिले म अध्यक्ष भएर आउँदा १५ रूपैयाँ थियो । पछि नयाँ संरचनाहरू बनाउँदै, आकर्षणका केन्द्रहरू थपिँदै जाँदा अहिले पार्कमा आउने पर्यटकहरूका लागि प्रतिव्यक्ति ३० रूपैयाँ लिने गरेका छौँ । हामीले विद्यार्थीहरूका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ भने अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेका छौँ ।
दैनिक कति पर्यटकहरू आउँछन् ? पार्कबाट वार्षिक कति आम्दानी हुन्छ र त्यो कहाँ खर्च हुन्छ ?
दैनिक सरदरमा भन्नुपर्दा ५ सय बढी पर्यटकहरू अवलोकन, घुमघाम गर्न र वनभोजका लागि आउनुहुन्छ । वार्षिक रूपमा चराचुरुङ्गी, जनावर, कर्मचारी खर्च कटाएर कम्तिमा ६÷७ लाख आम्दानी हुन्छ । उक्त रकम पार्कको भौतिक संरचना, मर्मतलगायतका कार्यमा प्रयोग गर्दै आएका छौँ । आन्तरिक आम्दानीले विभिन्न योजनाहरू हामीले बनाएका छौँ ।
पार्कमा रहेको चिडियाखानाको अवस्था कस्तो छ ?
सम्रगमा भन्नुपर्दा राम्रै छ । हामीले जिल्ला वन कार्यालयसँगको समन्वयमा मानवको अतिक्रमणमा परेका, घाइते अवस्थामा भेटिएका, अलपत्र परेका वन्यजन्तुहरू लिन्छौँ र राष्ट्रिय विभागबाट डाक्टरहरू बोलाएर औषधोपचार गराउछौँ । ती वन्यजन्तुले पनि पर्यटकहरूलाई थप आकर्षण गर्न टेवा पु¥याएका छन् । अहिले मिनीघरमा १ चितल, १ दुम्सी, ३ वटा बाँदर, खरायो, चितुवा, ३ वटा राजा हाँसलगायतका वन्यजन्तु छन् । हामीले सोचेजस्तो जनावर ल्याउनसकेका छैनौँ ।
पार्कमा संरचना निर्माणका लागि कहाँ–कहाँबाट सहयोग प्राप्त भयो ?
राप्ती शान्ति उद्यानको सौन्दर्यकरण वृद्धिका लागि भनेर म अध्यक्ष भएर आएपछि सबैभन्दा बढी स्थानीय सरकार र लुम्बिनी प्रदेश सरकारको परिपुरक बजेटबाट १ करोड, पर्यटक वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश सरकारबाट २ करोड बजेट विनियोजन भएको थियो । स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाबाट ३० लाख, पर्यटन बोर्डबाट ७ लाख बजेट, त्यस्तै पर्यटन ग्रामीन तथा सहरी विकास मन्त्रालयबाट २३ लाख गरी करिब ४ करोड बढी रकम प्राप्त भएको थियो । त्यस्तै विभिन्न व्यक्तिहरूले संघसंस्थाहरूले सहयोग गरेका छन् ।
अन्तमा केही भनु छ ?
राप्ती शान्ति उद्यान दाङ जिल्लाको पर्यटकीय स्थलको गहनाकै रूपमा चिनिन्छ । यो तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पर्यटकीय स्थल पनि हो । आगामी दिनमा यसलाई थप आकर्षणको केन्द्र बनाउन स्थानीय, प्रदेश र संघीय सरकारले मध्यनजर राखेर बजेट विनियोजन गर्नेछ भन्ने विश्वास लिएको छु । अन्तमा मलाई फेरि पनि जिम्मेवारी दिने उपभोक्ता आम दाङबासीलाई धन्यवाद दिन चाहन्छु ।