माघीको शुभकामना

थारु समुदायमा विशेष महत्व राख्ने तर आम नेपालीको पर्व माघी सुरु भएको छ । हिन्दु सभ्यताअनुसार मकरसंक्रान्तिका रुपमा लिइने यो पर्व थारु समुदायमा भने विशेष महत्वका रुपमा लिइन्छ ।

माघी पर्वलाई संघ, प्रदेश र स्थानीय तहले आवश्यकताअनुसार सार्वजनिक बिदा दिएर सम्बोधन गर्दै आएका छन् । यो पर्व कति दिन मनाउने भन्ने एकीन नभए पनि कम्तिमा तीन दिन दाङ जिल्लामा माघी पर्व मनाइनेछ । बाह्रकुने दहदेखि रिहारसम्म माघीको रौनक छाएको छ । माघी मनाउन विशेष गरी थारु समुदायमा सकेजतिको तयारी पनि भइरहेको छ । माघीलाई विशेष गरी थारु समुदायले दासता मुक्तिको आन्दोलनका रुपमा पनि मनाउने गरेका छन् । कमैया र कम्लहरी मुक्तिको अभियानलाई पनि माघीले सम्बोधन गर्ने गरेको छ ।

माघी सुरु भइरहँदा जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरु कम्तिमा ४ दिनका लागि बन्दको तयारीमा छन् । स्थानीय तहहरुको मातहतका कार्यालयहरु तीन दिन बन्द हुनेछन् भने जिल्लाका विभिन्न थारु बस्तीहरुमा माघी महोत्सवका कार्यक्रमहरु भइरहेका छन् । तुलसीपुरमा होटल व्यवसायी संघको आयोजनामा रैथाने खाना महोत्सव पनि माघीकै अवसर पारेर सुरु भएको छ । पर्यटन प्रबद्र्धनको उद्देश्य राखेर आयोजना गरिएको रैथाने खाना महोत्सव पनि माघी पर्वसँगै जोडिएको छ । खासमा पोशाक खाद्यान्नसँग जोडिएको माघी पर्व स्वास्थ्यका हिसाबले पनि एउटा सचेतनाको पर्व हो । मनोरञ्जनसँगै मानव शरीरलाई आवश्यक पर्ने सबै पोशाक तत्व लिन कन्दमुल र फलफूलको पनि आवश्यकता हुन्छ भन्ने सन्देश माघी पर्वले दिएको छ ।

माघी सबै जातजातिको पर्व हो । माघी नमनाउने सायद कुनै जातजाति छैनन् । कुनै समुदायमा खिचडी, कुनै समुदायमा ढिक्री र अनदीको रोटी त कुनै समुदायमा धनुष वाणले चामलको रोटीलाई प्वाल पारेर खाने पनि प्रचलन छ । यसैगरी माघीको अर्को विशेषता मादक पदार्थ पनि हो । विशेष गरी थारु समुदायमा आफैले बनाएको स्थानीय मदिरा र सुँगुरको मासुका परिकारले पनि माघीलाई सम्बोधन गर्ने गरेको छ । खासमा यसलाई पौष्टिकताकै सन्दर्भमा जोडिएको छ । यस्तो हुँदाहुँदै पनि पर्वका नाममा अनेक विकृतिहरु पनि हुने गरेका छन् ।

खानपानमा सन्तुलन नहुँदा धेरैलाई माघी एउटा स्वास्थ्य समस्याको संयोग पनि बन्नसक्छ । यही कारण माघीमा खानपानमा पनि विशेष ध्यान दिन आवश्यक छ । अर्को कुरा माघी थारु समुदायमा विशेष गरी दाशता मुक्तिको आन्दोलनका रुपमा पनि लिइन्छ । कमैया र कम्लहरी प्रथा मुक्त भइसकेको अवस्थामा माघि एउटा दाशता विरुद्धको आन्दोलनको सफलताको कडीका रुपमा पनि लिइन्छ । सबै जातजातिको महान पर्व माघी सुखद रहोस् । माघीको सबै समुदायलाई हार्दिक मंगलमय शुभकामना ।