Goraksha

National Daily

विद्यार्थीहरुले पढाई छोड्दै

युवराज शर्मा
नेपालको विद्यार्थीहरुको पहुँच घट्दै छ । हिमाली र पहाडी भू–भागमा भएका शिक्षण संस्थाहरुमा विद्यार्थीहरु घटिरहेका छन् । तर तराई भू–भागमा भएका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु बढिरहेको अवस्था छ । संस्थागत बोर्डिङ स्कुलहरुमा विद्यार्थीहरुको संख्यात्मकरुपमा बृद्धि देखिन्छ । यस सम्बन्धमा सरकारी अध्ययन भएको पाइन्न ।

जबकि स्थानीय सरकारलाई कक्षा १२ सम्मका स्कुलहरुको निरीक्षण, निर्देशन र व्यवस्थापन गर्ने अधिकार र कर्तव्य दिएको छ । स्थानीय सरकारमा राजनीीतक आस्था र विश्वासमा अडेको छ । यस्तो स्थानीय सरकारको सामुदायिक स्कुलको सुधारमा ध्यान पुगेको पाइन्न । विद्यालय व्यवस्थापन समितिले पनि शिक्षक संख्या कक्षागत भएको स्कुहरुमा पनि व्यवस्थापन गरेको पाइन्न । जहाँका स्कुलहरु शिक्षक कक्षागतरुपमा छैनन्, त्यहाँ शिक्षकहरुको अभाव मात्र देखाउँछन् । यो एउटा रोगका रुपमा हेरिन्छ । तैपनि स्थानीय सरकारबाट सुधार हुन सकेको छैन । विद्यार्थीहरुले पढाई छोड्दै बिदेशिँदै छन् । के विद्यार्थीहरु विदेशिने शिक्षामा वातावरण बन्दै छ ? यो प्रश्न हाम्रा जनप्रतिनिधिहरुका लागि अनुत्तरित भएको छ ।

सामुदायिक विद्यालय होस् वा संस्थागत बोर्डिङ स्कुलहरुमा पढ्ने विद्यार्थीहरुले कक्षा १२ को परीक्षा समाप्तिपछि धेरै विद्यार्थीहरुले पढाई छोडेको पाइन्छ । यस्तो वातावरण शैक्षिक क्षेत्रअन्तर्गत देखिन्छ । विद्यार्थीहरुले पढाई छोड्नुको मुख्य कारण घरको आर्थिक कमजोर परिस्थिति हो । पढाईलाई अर्थोपार्जनका रुपमा अभिभावकहरुले हेर्छन् । घरमा पनि बाबुआमाले पढेर छोराछोरीहरु बौद्धिक ज्ञान हासिक गरुन् र उच्च मान–मर्यादा कायम गरुन् भन्ने सोचाई हुन्छ । त्यसैले छोराछोरीको पढाईमा ध्यान दिन्छन् । बाबुआमाको भनाइ हुन्छ– छोराछोरीले डाकोे र कोदाली बोक्न नपरोस् ।

छोरीले पधेराबाट पानी बोक्न र घरका जुठा भाँडाहरु माझ्न नपरोस् भन्ने मनोइच्छा राख्छन् । पढे–लेखेको युवायुवतीहरुले परम्परागत कार्य गर्न नहुने होइन । तर बाबुआमाको मनोइच्छा पूरा गर्न ज्ञान र सीपको विकास गरी बुद्धि विकास गर्नुपर्छ भन्ने भनाइ हो । त्यस्ता व्यक्तिहरु नै राष्ट्रका बलिया खम्बा बन्नुपर्छ । राष्ट्र र राष्ट्रियताका सवालमा अग्रसर बन्नुपर्छ । देशको माग र आवश्यकता पनि हो । तर देशमा रोजगारको सम्भावना नदेखेपछि उनीहरुले पढ्न छोडे । विदेशिनुले विद्यार्थीहरु पलायन हुने क्रम बढ्दै छ । उच्च शिक्षा पढ्नेहरु घट्दै छन् । नेपालमा क्याम्पसस्तरीय शिक्षा पनि कमजोरी बढ्यो । पढ्ने र पढाउनेहरुमा ज्ञान र सीप बढ्न सकेन ।

सामुदायिक शिक्षण संस्थाहरुको सञ्चालन र व्यवस्थापन पक्षमा भौतिक र शैक्षिक पक्षको सुधार हुन सकेन । नागरिकहरुलाई सामुदायिक स्कुलभन्दा संस्थागत शिक्षण संस्थाहरु असल लाग्छ । यस्तो भनाइ राजनीतिक सोचका व्यक्तिहरु नै धेरै छन् । त्यसैले होला सामुदायिक विद्यालयको अवस्थामा सुधार भएको अवस्था छैन । स्थानीय बासिन्दाहरु पनि सामुदायिक विद्यालयप्रति राम्रो धारणा राख्दैनन् । अधिकांश व्यक्तिको भनाइ सुनिन्छ– सामुदायिक विद्यालयहरुलाई गरिबका छोराछोरीले पढ्ने र धनीका छोराछोरी, बुहारी, भाञ्जाभाञ्जी, सालासाली, जेठान–साली, जुवाइँहरुले जागिर खाने, समय बिताउने थलोका रुपमा हेर्छन् ।

उनीहरुको झुकाव नै गरिबले पढेर के गर्छन् र ? भनाइ रहेको मासिक सोचाई पाइन्छ । यसले गर्दा शिक्षक र प्रधानाध्यापकको अधिकांश समय सुधारात्मक कार्यमा पाइन्न । यस्तो वातावरण स्कुलमा भएपछि विद्यार्थीहरुको पढाई प्रभावित हुन्छ । उनीहरुमा धेरै निराशा जाग्छ र पढाई छोड्छन् । घरको आर्थिक अवस्थामा सुधार गर्ने सोचाई गर्छन् । अन्तमा धन–पैसा कमाउन विदेशको यात्रा गर्छन् । नेपालको जनशक्ति घट्दै छ ।

सामुदायिक विद्यालयहरुमा पढ्ने विद्यार्थीहरु घट्नुको कारण शिक्षकबाट समयमा पाठ्यक्रमअनुसार सेमेष्टर सिस्टमको पाठ्यवस्तु पढाई पूरा नगर्नु नै हो । कतै शिक्षकहरुमा लापरबाही छ भने कतै प्रधानाध्यापकमा सक्रियता छैन । वास्तवमा सामुदायिक विद्यालयहरु राजनीतिक अखडा बनेका छन् । त्यहाँ शिक्षक र शिक्षकबीचमा विचारधाराको फरक शैली छ भने कतै शिक्षक–प्रधानाध्यापक बीचमा अन्तरसम्बन्धको अभाव छ । यस्ता विषयहरुमा अध्ययन गरेर स्थानीय सरकारले सुधारका कार्यक्रम अगाडि बढाउनुपर्छ । त्यस्ता कार्यक्रमहरु शिक्षामा राम्रो अनुभव भएका व्यक्तिहरुलाई सुधारात्मक योजना बनाएर स्थानीय सरकारले आफ्नो क्षेत्रमा लागू गर्नुपर्छ ।

वडामा लागू गर्नुपर्छ । त्यस्तो कार्ययोजना बनाउँदा विद्यालयको अवस्था, पढ्ने विद्यार्थीहरुको अवस्था, शिक्षकहरुको समस्या, भएका शिक्षकहरु शिक्षण सीपको विकास, स्कुलको आर्थिक र सामाजिक अवस्था, शिक्षण विधि र प्रविधिहरुमा गर्नुपर्ने सुधारजस्ता विषयहरुको अध्ययन भएपछि मात्र सुधारका समस्या देखिन्छ । त्यसैमा सुधार गर्ने योजना बनेको हुनुपर्छ । तबमात्र स्कुलमा विद्यार्थीहरुले पढाई छोड्ने समस्यालाई कसरी सुधार गर्ने ? स्पष्ट सल्लाह र सुझाव स्थानीय सरकारले प्राप्त गर्नेछ । स्थानीय सरकारले सामुदायिक स्कुलको व्यवस्थापन र शिक्षण सुधारका लागि प्रणाली, व्यवस्थापन र नीति नियमको पालना गराउनुपर्छ ।

विद्यार्थीहरुले सामुदायिक स्कुलहरुमा पढाई छोड्ने प्रवृत्तिको विकास धेरै भएको छ । घरको आर्थिक अवस्था कमजोर हुनु, पढ्ने स्कुल टाढा हुनु, स्कुलमा भौतिक सुविधाको अभाव देखिनु, शिक्षकहरुको शिक्षण कार्य प्रभावकारी नहुनु र शिक्षकको नियमितता नहुनु, पाठ्यक्रमअनुसार पढाउनुपर्ने विषयवस्तुलाई पूरा नगरेर पाठ्यपुस्तकका विषयवस्तुमा मात्र ध्यान केन्द्रित गर्नु, प्रश्नोत्तर प्रविधिमा समय बिताउनु र सिर्जनात्मक क्रियाहरुमा ध्यान नदिनुजस्ता कार्यहरु स्कुलहरुले गर्छन् ।

जब विद्यार्थीहरुले पढेर जीवनोपयोगी ज्ञान गर्न सक्दैन, उसलाई पढ्नु हीनताबोध हुन्छ, तब विद्यार्थी पढाईमा पछि पर्छ र पढाई छोड्छ । आफूलाई हीनताबोध गर्छ । आफ्नो र घरको अवस्थालाई मनन्–चिन्तन गर्छ । उसमा पढ्नुको सार्थकता थाहा पाउन्न । मनमा शान्ति देख्दैन । दुःखको भुमरीमा आफूलाई देख्छ । स्कुल जानुको अर्थ बुझ्दैनन् र बीचमा पढ्दा पढ्दै पढाई छोड्छन् । यस्ता विद्यार्थीहरुले किन पढाई छोडे ? पढ्ने स्कुलका शिक्षक र प्रधानाध्यापकले पनि सोधपुछ गर्दैनन् । अन्तमा त्यस्ता विद्यार्थीहरु पढाईबाट बिमुख हुन्छन् । बरालिँदो जीवनशैली बनाउँछन् । सामाजिक वातावरण समाजमा पाउँदैनन् । परिवारमा कष्टकर जीवन बिताउँछन् । पढाई छोड्नाको परिणाम भोग्छन् ।