Goraksha

National Daily

थारु गाउँमा माघीको रौनक

बालाराम खड्का
तुलसीपुर, २८ पुस । माघी नजिकिएसँगै थारु बाहुल्यता भएका क्षेत्रहरूमा माघीको रौनक सुरु भएको छ । थारु बाहुल्यता भएका क्षेत्रहरूमा दिनहुँ मेला महोत्सव लगाउने गरिएको छ । जिल्लामा माघी पर्व आउन केही दिन अघिदेखि विभिन्न स्थानमा माघी महोत्सवदेखि आफ्नो पहिचान र संस्कृतिलाई बचाउन विभिन्न कार्यक्रम सुरु भएका छन् । यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता छ ।

थारु बस्तीहरु माघीको तयारीमा जुटेका छन् भने लमही, घोराही, तुलसीपुर र विभिन्न गाउँपालिकाकामा माघी महोत्सव सुरु भएका छन् । अहिले जिल्लाका गाउँदेखि सहर बजारमा माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन् । थारु संस्कृति झल्कने नृत्य तथा उनीहरूले खाने परिकार राखी माघी महोत्सवको आयोजना भइरहेका छन् । अहिले गाँउबस्तीमा मघौटा सामा (सामान) जुटाउने चटारो छ । माघीको विशेष परिकारका लागि ढिंक्री बनाउनका लागि चामलको पिठो, अन्दीको पिठो पिसाउने, दाउरा(पात टिप्न वन जाने, घर लिप्ने, दुना टपरी गाँस्ने, माछाको जोहो गर्ने लगायतका घरकै कामकाज गर्न भ्याइँ–नभ्याइँ छ ।

प्रायः गाउँघरमा अहिले बेलुका थारु गीत गाउने, आगो ताप्ने, माघीका लागि मासुको जोहो गर्ने, बर्घर, महटाँवा चुन्नेलगायतका सरसल्लाह गर्ने गरेका छन् । सधैँ खेतीपाती र ज्याला मजदुरीकै कारण चाडपर्वबाहेक अन्य समयमा थारु समुदाय दिनभर सुनसान जसो नै देखिन्छ । गाउँघरमा बालबालिका र वृद्धवृद्धाबाहेक अरु भेटिँदैनन् । माघीको लागि थारू समुुदायले हप्तादिन अघिदेखि नै तयारी शुरु गर्छन् । माघ १ गतेका दिन नजिकको जलाशय नदी, पोखरी, तलाऊलगायतका स्थानमा गएर नुहाउने र महटाँवाको हातबाट चामलको सेतो टिका ग्रहण गरेर दिदीबहिनीहरूका लागि निसराउ (चामल, नुन, मास) छुट्याउछन् । यसरी छुट्याएको निसराउ दिदीबहिनीहरूलाई आफ्नो दक्षताअनुुसार दानदक्षिणा दिने चलन छ ।

थारू समुदायले माघीलाई पर्वको रूपमा मात्रै होइन, माघ १ गते नयाँ वर्षका रूपमा पनि मनाउने गर्दछन् । वर्षदिन मरी मरी काम गर्ने र माघीमा गाउँले आफन्त सबैले मिलेर बसेर खानपिन खानुका साथै मघौटा नाँच नाचेर रमाइलो गर्ने गरेका टोपराज चौधरी बनाउछन् । छोराछोरीको बिहे, दाजुुभाई छुुट्टिने, नयाँ घर बनाउने, जिम्दारको खेतवारी अधिया लाउने कामदेखि गाउँको अगुुवा महटाँवा, बरघर चुन्ने काम पनि थारू समुदायले माघीकै अवसरमा गर्छन् । तर २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा भएपछि थारूहरूले माघीलाई मुक्तिको रूपमा पनि मनाउने चलन छ ।

थारू समुदायको आफ्नै मौलिक भेषभूषा, भाषा, कला संस्कृति छ । तर पछिल्लो समय यो मौलिकपनमा ह्रास हुँदै गएको छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती छ । पुुस्तान्तरण अभावका कारण थारू पहिचानसमेत हराउँदै गइरहेको थारू अगुवाहरू बताउँछन् । पछिल्लो समय युवाहरूले मौलिक पहिचान जोगाउन सकेका छैनन् । पछिल्लो समय थारु समुदायले माघीको अवसरमा माघी महोत्सव, माघी मिलन कार्यक्रमको आयोजना पनि गर्ने गरेका छन् ।

दंगीशरणमा ‘मघौटा म्याला’ सकियो

दंगीशरणमा सञ्चालन भएको ‘मघौटा म्याला’ सकिएको छ । ‘मघौटा संस्कृति हमार पहिचान समृद्धि दंगीशरण हमार अभियान’ भन्ने मूल नाराका साथ २ दिनसम्म चलेको थियो । कार्यक्रमा लुम्बिनी प्रदेशका निबर्तमा सांसद शंकर गिरीले थारु जाति संस्कृतिमा धनी रहेकाले संस्कृति जर्गेना गर्न लाग्नुपर्ने बताए । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले थारुहरुको परम्परा र संस्कृति जोगाउन सदैब आफू तत्पर रहेको बताए । माघी पर्वलाई मर्यादित र मौलिक बनाउन आजका युवाहरु लाग्नुपर्नेमा उनको जोड थियो ।

कांग्रेसका नेता केशब आचार्यले थारु जातिको भेषभूषा रहन–सहनको जगेर्ना गर्न मघौटा म्यालाको आयोजना गरिएकोप्रति गाउँपालिकालाई धन्यबाद दिए । महोत्सब निर्देशन समितिका संयोजक रोशनजंग शाहले माघी पर्वलाई सद्भाव र सहिष्णुताको पर्व बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा थारु संस्कृति झल्कने विभिन्न थारु प्रतियोगी नृत्यहरु प्रस्तुत गरिएको थियो । पालिकाका ७ वटै वडाबाट अएका करीब ४५ वटा प्रतियोगी नृत्यहरु राखेका थिए । थारु संस्कृतिमा नाचिने झुम्रा नाच, मघौटा नाच, छोक्रा नाच, महोट्या नाच, हुर्डुङ्गा नाच, संख्या नाचलगायतका नाचहरुमा प्रतियोगी नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतियोगी नृत्यअन्तर्गत सख्या नाचतर्फ सुकदेवा प्रथम हेकुली द्वितीय र मौली तृतीय भएका छ्न । यस्तै हुर्डुङा नाचतर्फ रावतगाउँ प्रथम, बैबाङ द्वितीय र थपगाउँ तृतीय भएका छन् । छोक्रा नाचतर्फ मौली प्रथम रावतगाउँ द्वितीय र श्रीगाउँ तृतीय भएका छन् । मघौटा नाचतर्फ सुकदेवा प्रथम, हेकुली द्वितीय र मदरिया तृतीय भएका छन् । मेलामा कलाकार शालिकराम चौधरी, रोशन रत्गैयालगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । वडा नं. ३ का वडाध्यक्ष सुकलाल चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिका कर्मचारी मस्तबीर चौधरी, गायक रोशन रत्गैया र सञ्चारकर्मी सुरक्षा चौधरीले गरेका थिए ।