कोइलाबासमा खानेपानीको समस्या

लमही, २१ पुस । गढवा गाउँपालिका–८ कोइलाबासमा जाडोयाममै खानेपानीको समस्या देखिएको छ । पानीको मुहान सुक्न थालेपछि कोइलावासमा खानेपानीको अभाव देखिन थालेको वडाध्यक्ष खालिक सिद्धिकीले बताए । गर्मी सुरु हुन नपाउँदै पुस महिनामा डिप बोरिङको मूल सुकेपछि खानेपानीको समस्या देखिन थालेको गढवा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सिद्धिकीले बताए ।

जसका कारण कोइलाबासका करिब १ सय २० घर परिवारलाई खानेपानीको समस्या भएको अध्यक्ष सिद्धिकीले बताएका छन् । बाह्य तथा आन्तरिक पर्यटकको आवागमनसमेत बढी हुने समयमा खानेपानी अभाव हुँदा होटल व्यवसायमा समेत समस्या भएको होटल ब्यवसायी बताउँछन् । राप्तीको प्रवेशद्वारको रुपमा रहेको कोइलाबासमा नेपालसँगै भारततिरबाट घुमफिरका लागि मानिसहरु आउने गरेको स्थानीय बताउँछन् । तर खानेपानीको समस्या हुँदा कोइलाबासमा पर्यटक, होटल व्यवसायलाई प्रत्यक्ष असर परेको उनी बताउँछन् ।

सरसफाई, कपडा धुने, भाडा धुनेलगायतका कामका लागि खोलाको पानी प्रयोग गर्न सकिने भए पनि खाना पकाउने र खोलाका लागि भने शुद्ध पानी आवश्यक रहे पनि समस्या भइरहेको स्थानीयको भनाइ रहेको छ । खानेपानीको अभावको कारणले गर्दा कोइलाबासमा रहेका बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई समेत समस्या भएको शान्ति पुनस्थापना गृह कोइलाबासकी सीमा जिसीले बताइन् ।

पानी अभाव हुँदा मुख्य गरी अस्पतालमा तथा विभिन्न संघसंस्थामा सरसफाई एवं विशेषगरी शौचालय फोहर र दुर्गन्धित हुनुका साथै संक्रमणको समस्या हुने गरेको जिसीले बताइन् । सरोकारवाला निकायहरुले खानेपानीका लागि राम्रो व्यवस्था गर्न सके स्थानीयवासीसँगै बाहिरबाट कोइलावास घुमफिरका लागि आउनेहरुका लागि समेत सहज हुने उनी बताउँछिन् । वडाध्यक्ष खालिक सिद्धिकीले कोइलावासमा खानेपानी समस्या समाधानका लागि छिट्टै पहल गरिने समेत बताउँछन् ।

‘स्थानीयका लागि खानेपानी सबैभन्दा आवश्यक हो । त्यसका लागि वडा कार्यालयले पहल गरिरहेको छ’, वडा अध्यक्ष सिद्धिकीले भने– ‘अहिलेको स्रोतले काम नगरेकाले बैकल्पिक स्रोतको खोजीको कार्य भइरहेको छ ।’ कोइलावास नेपाल–भारत सीमा नाकाअन्तर्गत एकमात्र जिल्लाको प्रमुख नाकाका रुपमा छ ।